सुनपसलमा सुन छ, कान मेरो बुच्चै
Posted by
purwanews
Published on
Friday, November 18, 2011
सुनको भाउ बढेर तोलाको आधा लाखभन्दा बढी हुँदा धेरैलाई किन पहिले किनिएन जस्तो भएको हुनुपर्छ। मंसिरमा बिहे गर्न खोज्नेलाई पक्कै पनि सुनको तातेको भाउले चिन्तामा पारेको छ। दुई वर्षअघि सुन किन्नेहरु पहिलेभन्दा धनी भएका छन्। त्यसवेलाको भन्दा अहिले सुन मूल्य निकै बढेको छ।
सुन महँगो हुँदा घरमा राख्दा वा गहना लगाएर हिँड्दा कतै चोरी होला कि भन्ने त्रास पनि बढाएको छ। सुन लुटपाट र चोरीका घटना बढेका छन्। काठमाडौंको प्रमुख व्यापारीक स्थान न्युरोडमा सुनका महँगा गहना लगाएर भिडभाडमा हिँड्दा सचेत हुन आह्वान गर्दै प्रहरीले विज्ञापनसमेत गरेको छ।
चोरी गर्नेलाई पनि सुनको मूल्यवृद्धिले थप उत्साह मिलेको छ। काठमाडांै र ललितपुरमा केही महिनाअघि एकै रात ६ ठाउँमा २१ लाख रुपैयाँ बराबरका सुनका गहना चोरी भएको प्रहरीले सार्वजनिक गरेको थियो।
ठूलो अर्थतन्त्र भएका अमेरिका र युरोपेली मुलुकमा आर्थिक समस्या समस्या, सेयर बजारमा उतार चढावजस्ता कारणले पैसा हुनेहरु सुन किन्न थालेका छन्। यसले सुन राख्ने चाहना वढाएकाले मूल्य अकासिएको हो।
तेल र सुन बजार एक आपसमा सौताजस्ता हुन्। तेलको मूल्य माथि जाँदा सुनको मूल्य तल हुन्छ। केही महिनाअघि तेल मूल्यमा ३० प्रतिशतसम्मसले गिरावट आयो। यसको बदलामा सुन अकासियो। यसपछि कहिले बढ्ने कहिले घट्ने भइरहेको छ।
काठमाडौं बजारमा बिहीबार सुन मूल्य प्रतितोला ५५ हजार २ सय ५२ मा किनबेच भयो। अमेरिकी डलर महँगो भएकाले पनि सुन महँगो भएको छ।
सुन र अमेरिकी डलर पनि यस्तै एक आपसमा मिल्दैनन्। संसारभर पत्याएको अमेरिकी डलर खस्किँदा सुन मूल्य बढ्छ। डलर मूल्य बढ्दा सुन घट्छ। अमेरिकी डलर जस्तो विश्वसनीय पैसा अहिलेसम्म अर्को आईसकेको छैन। त्यसैले पैसा हुनेहरु डलर किन्न चाहन्छन्। यसले पनि त्यसबेला सुन मूल्य बढेको थियो। तर, युरोपका देशमा आर्थिक संकटले डलर माग बढे पनि सुनको मूल्य भने यो मान्यता अनुसार घटेको छैन।
अमेरिकाको अर्थतन्त्रमा सन् २००८ यता नकरात्मक समाचारमात्र छन्। अमेरिकाको ऋण तिर्न सक्ने क्षमता स्तर निर्धारण सबैभन्दा राम्रो तीन ए बाट खस्किएको छ। अमेरिका सरकार ऋणपत्र किन्दा निकै थोरै नाममात्राको ब्याज आउँछ। यसले पनि डलर जम्मा गर्दा खासै फाइदा छैन। सानो अर्थतन्त्र भए पनि नेपालले समेत अमेरिकी सरकारलाई ऋण दिन्छ। विदेशी समान किनेर बाँकी डलर राष्ट्र बैंकले अमेरिकाको सरकारी ऋणपत्र किन्न खर्च गर्छ। यो एक प्रकारले अमेरिकालाई दिएको ऋण हो। यसवाट आउने ब्याज राष्ट्र बैंकको मुख्य आय स्रोत हो। यसमा ब्याज घट्दा यस्तो आम्दानी पनि घटेको छ।
अब पनि सुन किनेर राखे फाइदा हुन्छ त? ठ्याक्कै यसै हुन्छ भन्न सकिन्न। सन् १९८० मा पनि सुन बढेर प्रति औं (यो अन्तर्राष्ट्रिय किनबेचमा प्रयोग हुने शब्द हो एक औंस बराबर २८ दशमलव ३४ ग्राम र ११ दशमलव ६ ग्राम बराबर एक तोला हुन्छ )। हालको मूल्यमा २ हजार ३ सय अमेरिकी डलरसम्म पुगेको थियो। पछि यो झरेर ८ सयमा झर्यो। अहिलेसम्म सुनले यो उच्च बिन्दु छोएको छैन तर, पहेंलो धातु सुनमा पैसा लगाउने भोक बढिरहेकेा छ। यो सुन भोक कायम रहे यो रेकर्ड पनि तोडिने छ।
सुनमा खिया लाग्दैन त्यसैले बाथरुममा प्रयोग गर्नुपर्छ। यो चीनका कम्युनिस्ट नेता माओको भनाइ हो। तर, माओको भनाइ अब नमिल्ने भइसकेको छ। चीनले आर्थिक समृद्धिसँगै सुनको भण्डार बढाइरहेको छ। अर्को उच्च आर्थिक वृद्धि गरिरहेको भारतले पनि भण्डारमा प्रतिस्पर्धा गरिरहेको छ। चीन र भारत सुन किन्न प्रतिस्पर्धा गरेकाले पनि बजार तातेको छ।
तेललाई इन्धनका रुपमा विभिन्न रुपमा प्रयोग गर्न सकिन्छ। यो बिना कार चल्दैन जहाज उड्दैन। तेल यो जहिले पनि उपयोगमा आउन सक्छ। तर, यसको मूल्य बढेर घट्ने तर, सम्पत्तीको रुपमा भण्डार गर्ने वा अरुलाई देखाउन गहना बनाएर लगाउनेबाहेक अरु उपयोग नभएको सुन मूल्य बढिरहनुपर्ने कारण देखिँदैन।
भारत नेपालजस्ता देशका महिलामा सुनका गहना बनाएर लगाउने चलन बढी छ। यी देशमा सुन सम्पन्नता र प्रतिष्ठासँग जोडिन्छ। माओवादी नेता बाबुराम भट्टराई नेतृत्वका सरकारका मन्त्रीमा समेत सुन प्रियता बढेको हालै सार्वजनिक सम्पत्ती विवरणले देखाउँछ।
बिहेमा होस् वा प्रेमिकालाई महँगो उपहार दिन सुनै चाहिन्छ भन्ने छैन। सुनको सट्टा चाँदीको औंठी वा गहना उपहार पनि दिन सकिन्छ। अझ महँगै दिन मन लागे हीरा छ। चाँदी यस्तो धातु हो जसमा आँखाले नदेखिने किटाणु ब्याक्टेरिया टाँसिँदैन। बिहाबारीमा पहंेलो सुनजस्तै देखिने नक्कली गहनाले पनि काम चलाउन सकिन्छ।
सुन महँगो हँुदै जाँदा ग्राहकको किन्न सक्ने क्षमता पनि घटेको छ। काठमाडौं सुन बजारमा यस्तै भएको छ। गहनाका लागि सुन किन्ने घटेका छन्। आवश्यक पर्नेले पनि चाहिने मात्र थोरै गहना हालेका छन्।
नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य लामो समय देखि सुनचाँदी व्यवसायमा संलग्न छन्। उनले २ वर्षअघि सुन किनेर राखेकेा भए दोब्ब मूल्य पाउन सक्थे। यसरी बढिरहने थाहा पाएको भए पैसा हुने अरुले पनि यस्तै गर्थे। तर, घट्यो भने नोक्सान हुन्छ यही डरले नकिनेका हुन्।
नेपालको अर्थतन्त्रलाई भने सुन भोकले समस्यामा पारेको छ। मूल्यवृद्धिले नेपालीमा सुन किनेर बचत गर्ने प्रवृत्ति पहिलेभन्दा बढाएको छ। बजारमा अन्य क्षेत्रमा लगानी गर्न पैसाको अभाव हुनुमा सुन बढी किनिनुलाई पनि एउटा कारण मानिएको छ। सुन किन्न ठूलो रकम विदेशिएको छ। राष्ट्र बैंकले सुन किन्न हतोत्साही गर्न दुई वर्षयता विभिन्न नीति ल्याइरहेको छ। तर, बढ्दो मूल्यले यहाँ लगानीकर्ता नाफा हुनेदेखि पैसा हुनेहरु किन्न आकर्षित भइरहेका छन्। नेपाल सानो उदाहरण हो। अन्तर्राष्ट्रिय सुन बजार र मूल्य विश्व अर्थतन्त्रसँग जोडिएको छ।
अमेरिकाले सरकारी ऋणपत्रको ब्याज बढाइदियो भने सुनका लगानीकर्ता फेरि डलर तिर फर्कन्छन्। यसले गर्दा डलर मजबुत हुन्छ। तर, यसरी मजबुत गराउँदा अमेरिकाले बढी ब्याज तिर्नुपर्छ। ऋणपत्रको ब्याजदर बढाउँदाका फाइदा र बेफाइदा दुवै हुन्छन्। विभिन्न देशले आफूलाई आवश्यक पर्ने पैसा बजारमा चल्तीमा पठाउनुअघि धितोका रुपमा सुन राख्छन्। नेपाली रुपैयाँमा पनि राष्ट्र बैंकले रुपैयाँ एक हजारको भुक्तानी माग्न आएमा रु एक हजार तुरुन्त दिइने छ भन्ने उल्लेख छ। यसको आशय एक हजारको यस बराबरको वस्तु वा सुन दिने हो। यसले गर्दा पनि सुनप्रतिको विश्वास भएको हो।
अन्तर्राष्ट्रिय बजारमा टनका टन सुन अनलाइनमार्फत कम्पनीको सेयरजस्तै कारोबार हुन्छ। नेपालमा वसेर न्युयोर्क बजारबाट सुन किन्न पाइन्छ। एक लाख रुपैयाँ छ भने काठमाडौंबाट झन्डै एक किलो सुन किन्न सकिन्छ। हालै चर्चामा रहेको कमोडिटिज बजारको काम यही हो
कमोडिटीज कारोबार गर्नेले बढी फाइदा लिन सुनलगायत वस्तु बजारलाई तताई राख्न खोज्छन्। अब औंसको २ हजार डलर पुग्छ भन्ने अभिव्यक्ति दिन्छन्। किन्नेहरु घट्छ भन्छन्। तर, खुला बजारको नियम माग र आपूर्तिले बजार मूल्य निर्धारण हुन्छ। मंसिर २, nagariknews
प्रतिक्रिया दिनुहोस् >>