बाँसको ‘स्मार्टफोन’
मोबाइलको विश्वव्यापी बजारमा एउटा पत्यार नलाग्ने तर अचम्मित पार्ने नयाँ खबर सार्वजनिक भएको छ । बाँसबाट पनि मोबाइल बन्ने खबर सुन्दा कतिलाई विश्वास नलाग्न सक्छ । तर, लन्डनको मिडलसेक्स युनिभर्सिटिका एक छात्रले विश्वमै पहिलो पटक बाँसबाट बनेको स्मार्टफोनको विकास गरेका छन् ।
‘प्रडक्ट डिजाइन’ विषय अध्ययन गरिरहेका लन्डन सेफर्ड बुसका बासिन्दा २४ वर्षीय किरोन स्कट उडहाउसले बाँसबाट बनेको स्मार्टफोनको विकास गरेका हुन् । उनले बाँसको प्रयोगबाट विभिन्न सामग्री बनाउने नयाँ तरिकाको खोजी गरिरहँदा काठबाट फोन बनाउने नयाँ उपाय निकालेका हुन् ।
नवनिर्मित स्मार्टफोनको नाम ‘एड्जेरो’ राखिएको छ । यसमा गुगलको एन्ड्रोइड प्रविधिको प्रयोग गरिएको छ । यो फोनमा अन्य फोन जस्तो क्यामरा पनि जडान गरिएको छ ।
“फोनमा बाँसको प्रयोग गर्नु अस्वाभाविक लाग्न सक्छ तर वास्तमै यो निकै बलियो र धेरै टिकाउ वस्तु पनि हो, साथै यस्तो प्रकारको सामग्रीका लागि बाँस नै योग्य छ,” उडहाउसले आफ्नो उत्पादनको महत्वबारे स्पष्ट पार्दै भने ।
उनले यस्तो नयाँ प्रयोगको विकास आफ्नो लागि पनि अप्रत्याशित र अपत्यारिलो रहेको बताएका छन् ।
मिडिलसेक्स युनिभर्सिटीका ‘प्रडक्ट डिजाइन एन्ड इन्जिनियरिङ’ कार्यक्रमका निर्देशक तथा उडहाउसका प्रशिक्षक डा. एल्डी बर्डिलले उनको कामको प्रशंसा गर्दै अन्यहरूका लागि पनि प्रेरणाको विषय रहेको टिप्पणी गरे ।
उक्त फोनको उत्पादन चीनमा गरिने भएको छ । चीनमा उपलब्ध बाँसलाई स्थानीय कच्चा पदार्थका रूपमा प्रयोग गर्दै स्मार्टफोनको उत्पादन गरिने बताइएको छ । यो फोन टिकाउ र आइफोनको तौलभन्दा झन्डै आधा हुने फोनका निर्माता उडहाउसले जनाएका छन् ।
नयाँ प्रकारको यो स्मार्टफोन वर्षको अन्त्यतिर बेलायत तथा पूरै युरोपबाट सार्वजनिक गरिने बताइएको छ । फोनको विकास गरेका छात्र उडहाउसले वातावरण जोगाउन चाहने र फेसनप्रति चासो राख्ने ग्राहकलाई आफ्नो नयाँ उत्पादनलाई सहयोग गर्न आग्रह गरेका छन् । २२ फागुन, karobar
प्रतिक्रिया दिनुहोस् >>