छठ अर्थात् प्रकृतीलाई सम्मान (फोटो फिचर सहित)
एउटा पर्व, जुन उदाउँदो र अस्ताउँदो सुर्यसँग प्रत्यक्ष सरोकार राख्छ । एउटा पर्व, जो नदीमा मनाइन्छ । एउटा पर्व, जुन मनाउने मानिसले विहानीको स्वच्छ हावालाई अंगालो मार्छ । एउटा त्यस्तो पर्व, जहाँ पूर्ण प्राकृतिक अनि स्वच्छतालाई ध्यान दिइन्छ । एउटा त्यस्तो पर्व, जहाँ जल, जमिन, वायु अनि सुर्यलाई पुजा गरिन्छ । अर्थात् प्रकृतीलाई सम्मान गरिन्छ । हामी थारु तथा चौधरी समुदायले मनाउने छठ पर्वको कुरा गर्दैछौं । पछिल्लो समयमा यो पर्वले सबैको मन जितेको छ र नेपालीहरुको पर्व बन्दै गएको छ ।
मिथिलाञ्चलको महान पर्व छठअन्तर्गत भोलि चतुर्थीका दिनदेखि मुख्य विधि सुरु हुँदैछ। सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोवस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।
यो पर्व चार दिनसम्म मनाइन्छ। पहिलो दिन चतुर्थीका दिनलाई 'अरवा-अरबाइन' वा नहान खान भन्ने गरिएको छ। व्रतालुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् ।
पञ्चमी तिथि (दोस्रो दिन)लाई खरना (पापको क्षय) भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) गरी सोही प्रदान ग्रहण गर्छन्। यस दिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्दछ ।षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान-पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुरुवा, खजुरी, पेरुकिया तथा मुला, जागर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्दछन् ।
परिकारहरु जलाशयका किनारमा राख्नुअघि त्यसठाउँ र पूजा सामग्रीलाई व्रतालीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरुप 'अरिपन चित्र' कोरेका हुन्छन् ।
त्यसपछि व्रतालीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन्। यसक्रममा व्रतालुले दुवै हत्केलामा 'पिठार' र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन्।
पर्वको चौथो दिन (अन्तिम दिन)लाई पारन (पार्वण) भनिन्छ। यस दिन बिहान उषाकालमा व्रत गर्नेहरु पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन्।
अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतालुले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। त्यस कथामा एउटी सासू र बुहारीको सम्बन्धबारे चर्चा गरिएको छ।सासू दुष्ट र कन्जुस प्रवृत्तिकी थिइन। कन्जुस्याईले गर्दा सासूले उखुको एक टुक्रा पनि बुहारीलाई खानका लागि दिइनन् फलस्वरुप कुष्ठरोग भयो तर बुहारीले सबैलाई उखु खान दिइन त्यसैले उसको घरभरि सुनैसुन भयो।
प्रातःकालीन अर्घमा दीप मालाले सजिएको जलाशयमा अपूर्वको अनुभूति हुन्छ। त्यसबेला असङ्ख्य नारीकण्ठले बेरि-बेरि बरजु हे दीनानाथ, तिरिया जनम नही देव, तिरिया जनम जँ देब हे दीनानाथ सौतिनकसँग नही देव (म पटकपटक बिन्ती गर्छु हे सूर्य देउता अर्को जुनिमा मलाई स्वास्नी मानिस नबनाउ, स्वास्नी मानिसको जुनि दिए पनि सौतासँग बस्नुपर्ने दुर्भाग्य नदेउ) ले समाजमा विद्यमान महिला उत्पीडनको पनि झल्को दिन्छ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजका क्षेत्रमा वास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।
सूर्य पुराणअनुसार सवैप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरुप उनले अटल सौभाग्य र प्रतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ।
सातौँ शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मयूर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गर्नुभएकाले नै त्यहीदेखि छठका दिनदेखि सूर्यको आराधना सुरु भएको कथन पनि पाइन्छ।छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरु पनि त्यतिकै छन्। वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरुले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्य किरणको चिकित्साले कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। कैयाँै असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरुप रोगमुक्त हुन गएको भन्ने चर्चा छ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्त माइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा-झुप्पा फलहरु चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतालुलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ।
यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ तर चढाउने सामर्थ्य नभएकाहरु 'गम्हरी' चामलमात्र चढाए पनि देउता प्रसन्न हुनुहुन्छ भन्ने विश्वास पाइन्छ। यसमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्दछ। आर्थिक अभाव रहे पनि भिक्षा मागेर पनि यो पर्व मानिसहरु मनाउने गर्दछन ।
कात्तिक १२
'सूर्यलाई पुज्नेको जात र समुदाय नसोध्नू है !’
नवदुलहीझैं सिंगारिएको रानीपोखरीमा मंगलबार साँझ ६० वषर्ीया अञ्जना शर्मा उपाध्यायले आकाशतिर हेर्दै पूजासामग्री मिलाउँदै थिइन् । रानीपोखरीको दक्षिणगेटको सुरुमै पूजास्थल बनाएर बसेकी वृद्ध आमा अञ्जनालाई पूरा परिवारले सघाइरहेका थिए ।
'सूर्य पूजा गर्नेको जात र समुदाय सोध्नुहुन्छ र ?,' उनले भनिन्, 'सूर्य त सबैको हो ।' जातपातको बेअर्थको झमेलामा पर्नुभन्दा तराई र पहाडले एक-अर्काको राम्रो पक्षको सिको गर्दै जानुपर्ने उनले सुझाव दिइन् ।
वीरगन्ज निवासी अञ्जनाले जागिरे छोरासँग राजधानी आएपछि पनि छठलाई छाडेकी छैनन् । उनले तीन वर्षदेखि राजधानीमा छठ व्रत बसिरहेकी छन् । 'एकअर्काबाट आस्था र धर्मका राम्रा पक्ष सिक्नुपर्छ,' वृद्धा आमालाई सघाइरहेका ४० वषर्ीय पुष्पराजले भने ।
एक निजी औषधि कम्पनीमा कार्यरत पुष्पराज आठ वर्षअघि सपरिवार राजधानी प्रवेश गरेका हुन् । पूरा मुलुकको भविष्यबारे निर्णय गर्ने राजधानीको जलाशय किनारमा जातीय भेदभाव र पुस्तान्तरलाई मेट्दै पूजा गर्नेको कमी थिएन ।
ललितपुर-२, कुपन्डोल गुसिंगालस्थित राममन्दिर छेउमा अस्थायी पोखरी खनेर पूजा गरिरहेकी ४४ वषर्ीया लीलादेवी दासलाई दुई युवा छोरा र श्रीमान्ले सहयोग गरिरहेका थिए । 'पूजा सामग्रीको ढकिया र भारी बोक्दा लाज होइन, बरु गर्व र खुसी महसुस हुन्छ,' सिभिल इन्जिनियरिङ पढ्दै गरेका लीलादेवीका जेठा छोरा २३ वषर्ीय सन्तोषले भने । आमालाई सघाउन छठ अवधिभरि एकछिन पनि घरबाट टाढा नजाने गरेको एमबीबीएसमा अध्ययनरत उनका कान्छा छोरा २२ वषर्ीय सुनीलकुमारले भने । छोराद्वयले परिआएमा उपवास बस्नसमेत पछि नपर्ने बताए ।
'अरू बेला एकछिन घरमा बस्न नमान्ने छोरा र व्यस्त रहने श्रीमान् छठ सुरु भएदेखि मेरो मात्र चिन्ता गर्छन्,' झन्डै अढाई दशकदेखि राजधानी बस्दै आएकी राजविराजकी लीलादेवीले भनिन् । उनी भन्छिन्, 'छठप्रति आस्था र इच्छाले गर्दा भएको हो ।' राजधानी आएदेखि एक/दुईपटक मात्र छठ मनाउन गाउँ गएको उनले बताइन् ।
उनका श्रीमान् ४८ वषर्ीय पशुपतिलाल दास नेपाल टेलिकमका इन्जिनियर हुन् । दासका अनुसार बढ्दो जलीय प्रदूषण र ठाउँ अभावले छठ पूजा गर्ने शैलीमा धेरै परिवर्तन आएको छ । नदी, खोला, पोखरी वा नहरको स्वच्छ पानीमा उभिएर सूर्यलाई अर्घ दिने परम्परा फोहोर बागमती र विष्णुमती किनारमा टिकाउन गाह्रो भएको छ ।
दास र वरिपरिका ४५ घरपरिवारले छठ पूजाकै लागि एकआपसमा रकम संलकन गरेर पाँच वर्षदेखि कुपन्डोलस्थित बागमती किनारको खाली जग्गामा दुई फिट गहिरो र तीन सय फिट चौडा पोखरी खन्ने गरेका छन् । 'पूरा पोखरीलाई प्लास्टिकले ढाक्छौं, ट्यांकरको पानी ल्याएर हाल्छौं,' दासले भने ।
उक्त पोखरी छेउमा पूजा गरिरहेका बैंक अफ काठमाडैंका लिगल म्यानेजर ४८ वषर्ीय मिश्रीलाल यादवले नारी र पुरुष एक रथका दुई पांग्रा हुन् भन्ने सन्देश दिइरहेका थिए । प्यान्टसुटमा सजिएका यादवले टाउकामा पूजा सामग्रीको ढकनी बोकेर अघिअघि र उनकी श्रीमती ४२ वषर्ीया सुमन पछिपछि हिँडिरहेका थिए ।
पुस्तौंपुस्तादेखि छठ पूजा गर्दै आएको बताउने यादवले अर्घका बेला श्रीमतीको हातमा कुइना र पूजा सामग्री दिएर सघाइरहेका थिए । 'छोराछोरी साना भएकाले मैले सहयोग गर्नु परिहाल्छ,' तीन दशकदेखि राजधानी बस्दै आएका रौतहट पिपरा भगवानपुर-२ का यादवले भने ।
यादव दम्पतीका दुई नाबालक छोराछोरी रुचि लिएर आमालाई पूजा गरिरहेको नियालिरहेका थिए । पूजाको मुख्य दिन साँझपख उपत्यकाका जलाशय किनारमा आपसी सद्भाव, समानता र एकताका यस्ता थुप्रै सुन्दर दृश्य देखिए । बिहान उदाइरहेको सूर्यलाई अर्घ दिएपछि यस वर्ष छठ पूजाको समापन हुन्छ । ekantipur
प्रतिक्रिया दिनुहोस् >>