एउटा तानशाहको अन्त्य
लिबियाली पूर्व शासक कर्णेल मुअम्मर गद्दाफी मारिएपछि उनको भनिएको शवको भिडियो फुटेज विश्वभर प्रसारण भइरहेको छ । अल जजिरा टेलिभिजनले उक्त शव बाटोमा घिसारिरहेको दृश्य प्रसारण गरेको छ ।
अन्तरिम सरकारका सूचनामन्त्री महोम्मद सम्मामले गद्दाफी आफ्ना लडाकुको आक्रमणबाट मारिएको जानकारी दिए । 'आज नयाँ लिबिया जन्मिएको छ,' उनले भने, 'यो वास्तविक मुक्तिको दिन हो । उनलाई निष्पक्ष सुनुवाइ दिनेबार हामी गम्भीर थियौं । तर ईश्वरको इच्छा अर्कै रहेछ ।'
राष्ट्रिय संक्रमणकालीन परिषद् (एनटीसी) का एक अधिकारीका अनुसार नेटोको युद्धक विमानले गद्दाफीको गाडीमा आक्रमण गरेपछि भाग्न खोज्दै गर्दा उनको गोडामा चोट लागेको थियो । 'त्यसपछि लडाकुले उनको टाउकोमा पनि प्रहार गरे,' उनले भने, 'उनको समूहमाथि धेरैपटक फाइरिङ भयो र उनी मारिए ।'
गद्दाफी मारिएको प्रकरणबारे भने अहिलेसम्म फरक-फरक खबर छन् । गद्दाफी पक्राउ परेपछि, घाइते भएपछि वा हिरासतमै मारिएको भन्ने प्रस्ट नभएको न्युयोर्क टाइम्सले जनाएको छ । केही अरबी टेलिभिजनहरूले भने उनको नियन्त्रणपछि हत्या गरिएको बताएका छन् । अरबी अन्तरिम परिषद् सम्बद्ध एक लडाकुले सिर्तेस्थित एउटा दुलोमा लुकिरहेका गद्दाफीलाई आफूले देखेको दाबी गरेका छन् । उनले आफूलाई गोली नहान्न आग्रह गरिरहेको ती लडाकुले बताए । त्यसपछि आफूहरूको आक्रमणबाट उनी मारिएको उनले उल्लेख गरे । उनी मारिएको समाचार आउनुअघि परिषद्का एक अधिकारी अब्देल मदिदले गद्दाफीलाई पक्राउ गरिएको जानकारी दिएका थिए । 'उनको दुवै गोडामा चोट लागेको छ,' उनले भने, 'उनलाई एम्बुलेन्समा लगिएको छ ।'गद्दाफीको शव देखिने भिडियो फुटेज एनटीसीका लडाकुमाझ वितरण भइरहेको छ । भिडियोमा खाकी लगाएका गद्दाफीको शव वरपर एनटीसी लडाकु चिच्याइरहेको, उनको अनुहार र घाँटीबाट रगत बगिरहेको देखिएको एएफपी समाचार संस्थाले जनाएको छ । 'यो ऐतिहासिक क्षण हो, यो स्वेच्छाचारी र तानाशाहको अन्त्य हो,' एनटीसीका अर्का अधिकारीले भने, 'गद्दाफीले आपmनो नियति भोगेका छन् ।'
सिर्तेमा उत्साही लडाकुले स्वचालित हतियारबाट हवाई फायर गरिरहेका बेला अल जजिरा टेलिभिजनले गद्दाफीको शव देखाएको थियो । एक लडाकु गद्दाफीबाट लिइएको सुनको बन्दुक देखाउँदै थिए । यो खबरपछि राजधानी त्रिपोलीका स्थानीय बासिन्दा सडकमा निस्किए । उनीहरूले कारको हर्न बजाए ।
गद्दाफीको शवलाई मिसराटा ल्याएर एक मस्जिदमा राखिएको अलजजिराले जनाएको छ । दुई महिनाअघि हिंसात्मक आन्दोलन सबैभन्दा चर्किएका बेला मुलुकमा ४२ वर्ष शासन गरेका गद्दाफी त्रिपोलीबाट भागेका थिए ।
गत फेब्रुअरीमा आन्दोलन सुरु भएपछि सशस्त्र विद्रोही समूहले मुलुकका विभिन्न भाग नियन्त्रण गर्दै राजधानी त्रिपोलीस्थित गद्दाफी निवास कब्जा गरेको थियो । त्यसअघि नै उनले आफ्नो निवास छाडेका थिए । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि उनलाई पक्राउ आदेश जारी गरेको थियो ।
विश्व उत्साहित
शासक मुअम्मर गद्दाफीको मृत्युलाई लिबियामा तानाशाह, स्वेच्छाचारी र अन्त्यमा युद्धको अन्त्य भएको प्रतिक्रिया विश्व नेताहरूले दिएका छन् । गद्दाफीको मृत्यु 'ऐतिहासिक परिवर्तन' को रूपमा उल्लेख गर्दै राष्ट्रसंघ महासचिव वान कि मुनले लिबिया र त्यहाँका जनताका लागि अबको बाटो कठिन र चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।
लिबियालीलाई एक हुने राष्ट्रिय एकता र मेलमिलापबाट भावी प्रतिबद्धता आत्मसात मात्र गर्न सकिने उनको भनाइ छ । 'शान्तिपूर्ण रूपमा सबै पक्षका लडाकुले आफ्ना हतियार बिसाउनुपर्छ, यो उपचार र पुनर्निर्माण, बदला नभई आत्माको शान्तिको बेला हो, उनले भने ।
लिबियाको संक्रमणकालीन परिषद्ले चुनावको तयारी र नयाँ राष्ट्र निर्माण, समावेशी र बहुलवादलगायत अन्य कदम मुख्य लक्ष्य हुनुपर्ने समेत उनले बताए । लामो आन्दोलन र द्वन्द्वपछिको उच्च आशा सबैका लागि अवसर र न्यायमा परिणत हुनुपर्ने र लिबियाले सरकार र नेतृत्वको पहिचान गर्न पनि उनले जोड दिएका छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरोनले गद्दाफीबाट पीडित सबैले सम्भिmने दिन भएको बताए । 'निर्दयी शासकबाट मारिएका धेरै लिबियालीलाई हामीले सम्भिmनुपर्छ,' उनले भने, 'आज लिबियालीका लागि अझै ठूलो मौका छ, आफैंलाई बलियो बनाउन र प्रजातान्त्रिक भविष्यका लागि ।'
इटालीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले युद्ध अन्त्य भएको प्रतिक्रिया दिएका छन् भने लिबियामा नयाँ शान्तिपूर्ण सुरुवातका लागि बाटो स्पष्ट खुलेको जर्मन चान्सलर एन्जिला मर्केलले बताइन् ।
प|mान्सका राष्ट्रपति निकोलस सार्कोजीले भने लिबियालीका लागि नयाँ अध्याय र प्रजातन्त्र स्थापनाको प्रक्रिया सुरु भएको प्रतिक्रिया दिए ।
रुसी राष्ट्रपति दिमित्री मेदभेदेभवले भने लिबियामा शान्ति छाउने, राज्य सञ्चालन गर्ने र विभिन्न जातिका प्रतिनिधिबीच शक्ति बाँडफाँडका लागि अन्तिम सहमतिमा पुग्ने एवं लिबिया आधुनिक प्रजातान्त्रिक राज्य हुने अपेक्षा गरिएको उनले बताए । युरोपेली परिषद्का अध्यक्ष हर्मन भ्यान रोम्पेले तानाशाकको अन्त्य र लामो समयदेखि पीडित बनाइएको दमनको अन्त्य भएको प्रतिक्रिया दिएका छन् । 'आज लिबियाले यसको इतिहासको पाना पल्टाउन सक्ने र नयाँ प्रजातान्त्रिक भविष्य अंगालेको छ,' उनले भने ।
गद्दाफीको मृत्युपछि सबै शंकास्पद मानव अधिकार दुरुपयोगका शंकास्पदलाई कानुनी दायरामा ल्याउनुपर्ने अधिकारवादी समूह एमनेष्टि इन्टरनेसनलले जनाएको छ ।
'विगतको र लिबियाको नयाँ संस्थापनमा निहित मानव अधिकारको पूर्ण हिसाब किताब नभएसम्म किताब गद्दाफी शासनबाट दमन र दुरुपयोगको वैधता सकिँदैन, एमनेष्टिको उत्तर अपि|mका तथा मध्यपूर्वका सहयोक निर्देशक हसिबा हाज सह्राओइले भने, 'गद्दाफीको मृत्युबाट पीडितलाई न्याय रोकिनु हुँदैन ।'अमेरिकी राष्ट्रपति बाराक ओबामाले गद्दाफी युगको अन्त्य भएको बताउँदै लिबियाली जनताका दुःखका दिन सकिएको प्रतिक्रिया दिए ।
यस्ता थिए उनी
सन् १९६९ देखि लिबियाको शासन हाँकिरहेका मुअम्मर अबु मिन्यार अल गद्दाफी १९४२ जुन ७ मा जन्मिएका थिए । उनी समकालीन विश्वमा सबैभन्दा बढी शासन गर्ने गैरशाही व्यक्ति समेत हुन् । उनले सन् १९७२ मा प्रधानमन्त्रीको पद त्यागे र आफूलाई 'अफिसियल' रूपमा 'भातृ नेता तथा क्रान्ति अगुवा' घोषणा गरे ।
देशमा शासन चलाउनका लागि 'रेभोलुसनरी कमान्ड काउन्सिल' गठन गरियो, गद्दाफी त्यसको अध्यक्ष बने । उनले आफूलाई १९७० मा प्रधानमन्त्री समेत घोषणा गरे, जुन १९७२ मा त्यागे ।
उल्लेखनीय कुरा के छ भने अन्य सैन्य तानाशाहजस्तो गद्दाफीले शासन आफ्नो हातमा लिएपछि आफूलाई जनरल बनाएनन् । 'सेरेमोनियल प्रोमोसन' का रूपमा आफूलाई क्याप्टेनबाट कर्णेल बनाए । जीवनभर उनी कर्णेल गद्दाफी नामले चर्चित रहे । अन्य देशको चलनचल्ती विपरीत कर्णेल टाइटल लिएका गद्दाफी नै लिबियामा सेनाका 'कमान्डर इन चिफ' पनि थिए ।
आन्दोलनका ८ महिना
फेब्रुअरी १४ - लिबियाली शासक कर्णेल गद्दाफी विरुद्ध विद्युतीय सामाजिक सन्जाल फेसबुकमार्फत् शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान
फेब्रुअरी १७ - शान्तिपूर्ण प्रदर्शन हिंसामा परिणत
फेब्रुअरी २१ - गद्दाफीका छोरा सैफ अल इस्लामद्वारा लिबियाली सरकारी टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन, आफ्नो बुबा ट्युनिसिया र इजिप्टका अपदस्त राष्ट्रपति जस्ता नभएको भन्दै आन्दोलन जारी रहे मुलुक गृहयुद्धमा फस्ने चिन्ता व्यक्त
फेब्रुअरी २२ - शक्ति हस्तान्तरण गर्नुभन्दा सहिद भएर मर्ने गद्दाफीको उद्घोष
फेब्रुअरी २४ - स्विट्जरल्यान्ड- द्वारा स्विस बैंकमा रहेका गद्दाफीको सम्पत्ति रोक्का
फेब्रुअरी २५ - अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा गद्दाफीको सम्पत्ति रोक्क गर्ने कार्यकारी निर्देशनमा हस्ताक्षर
फेब्रुअरी २६ - राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा लिबियामाथि उडान र हातहतियार निषेध, सम्पत्ति रोक्का । मानवता विरुद्धका अपराध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा लैजाने निर्णय
फेब्रुअरी २८ - गद्दाफीद्वारा देशबासीले आफूलाई प्रेम गर्ने र आफ्नो सुरक्षाका लागि मारिन तयार रहेको भनाइ
अपि्रल ३०- नेटोद्वारा त्रिपोलीको एक घरमा आक्रमण, गद्दाफीको कान्छा छोरा सैफ अल अरब र तीन नातिनातिनाको मृत्यु
मे १६- अन्तर्राष्ट्रिय फौजदारी अदालतमा गद्दाफी, उनका छोरा सैफ अल इस्लाम र आफन्त अब्दुल्लाह सेनुस्सी विरुद्ध पक्राउ आदेशका लागि मुद्दा दर्ता
जुन २७- अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा ती तीन विरुद्ध पक्राउ आदेश
जुन २७ - गद्दाफीद्वारा अडियो सन्देश्ामार्फत युरोप विरुद्ध लड्ने धम्की
अगस्ट २९ - गद्दाफीकी श्रीमती साफिया, छोरी अैसा र छोरा हान्नीबल र मोहम्मद तथा केही नातिहरूद्वारा अल्जेरियामा शरण
अक्टोबर २० - लिबियाली अन्तरिम प्रधानमन्त्रीद्वारा गद्दाफी मारिएको जानकारी ।
२०६८ कार्तिक ४, ekantipur
प्रतिक्रिया दिनुहोस् >>