आफैं पढे, आगो लगाए आफैंले उद्घाटन गरे
सभासद सञ्चपाल मादेनले कखरा सिकेको हाङदेवाको डाँडा निम्नमाध्यमिक विद्यालय सशस्त्र द्वन्द्वमा आगलागी भयो । ०५९ जेठ ९ गते राति ११ बजे भएको आगजनीको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।
तत्कालीन भूमिगत माओवादीको भौतिक संरचना ध्वस्त गर्ने कार्यक्रम रहेकाले उसैले लगाएको हुन सक्ने अनुमान गाउँलेको छ । एउटामात्रै भवनमा आगलागी भएपछि टहराको भरमा सञ्चालन हुँदै आएको विद्यालय नौ वर्षपछि नयाँ भवन निर्माण गरेको छ । जसको शिलान्यास तथा उद्घाटन माओवादी पार्टीबाट सभासद बनेका सञ्चपालले गरेका छन् ।
आइतबार उद्घाटन कार्यक्रममा उनले भने, 'सानामा म यो देशको मन्त्री भएँ भने धारा बनाउँछु, स्कुल बनाउँछु जस्तो लाग्थ्यो, मन्त्री भइन सभासदमात्रै बनें तर ढिलै गरेर भए पनि आफ्नो पहलमा विद्यालय बनाउन सफल भएँ ।'
आफ्नो गाउँमा मात्रै काम गरेर नहुने र जिल्लाभर गर्नुपर्ने भएकाले अन्य विद्यालय भ्याएर आफूले पढेको उद्घाटन गर्न पाएको उनले बताए । दुई महिनाअघि उनले खेवाङ उच्च मावि भवन उद्घाटन गरेका थिए ।
बृहत् शान्ति सम्झौतापछि शान्ति मन्त्रालयको लगानीमा सशस्त्र द्वन्द्वमा ध्वस्त भएका विद्यालय पुनर्निर्माण गर्ने क्रममा यो पनि बनेको हो । प्रधानाध्यापक केशवप्रसाद बरालका अनुसार शान्ति मन्त्रालयबाट प्राप्त १२ लाख रुपैयाँमध्ये ६० हजार जिल्ला प्राविधिक कार्यालयका कर्मचारीले कन्सल्टेन्ट खर्च भन्दै काटेपछि मन्त्रालयको ११ लाख ४० हजार र अन्य विद्यालयले थप गरी १२ लाख ५५ हजार ६ सय रुपैयाँ लागतमा दुईतले भवन बनाएको छ ।
शौचालयका लागि जिल्ला शिक्षाले २ लाख रुपैयाँ दिएको बरालले बताए । गत वैशाख ३ गते मादेनले नै शिलान्यास गरेको भवन द्रुत गतिमा निर्माण गरिएको थियो । आगलागीबाट बचेको थुम्काको गाह्रो जोडेर दुःखले विद्यालय सञ्चालन गरिएको थियो । अझै पनि डेस्क, बेन्च, सिलिङलगायत भौतिक पूर्वाधार अभाव छ ।
ताप्लेजुङ, फाल्गुन २२, ekantipur
प्रतिक्रिया दिनुहोस् >>