दुई महिनामा तीन हप्ता बन्द : कसले कसरी गर्यो बन्द
Posted by
purwanews
Published on
Tuesday, March 6, 2012
माघ र फागुनको अवधिमा विभिन्न माग राख्दै पुर्वका विभिन्न स्थानमा भएको बन्दका कारण छोटो तथा लामो समयका लागि झण्डै तीन हप्ता यातायात अवरुद्ध बनेको पुर्व क्षेत्रीय ट्राफिक कार्यालय इटहरीले जानकारी दिएको छ ।
पछिल्लो समयमा बन्द गर्ने प्रवृत्ती समेत बढेर गएको कार्यालयको तथ्यांकले देखाउँछ । माघ ५ गतेदेखि सुरु भएको बन्दको श्रृंखला पछिल्लो समयमा चर्कँदो छ । माघ ५ गते मुल्यवृद्धि फिर्ताको माग राख्दै सुनसरीमा विद्यार्थी संगठनहरुले चक्काजाम गरेका थिए । सोको भोलीपल्टै माघ ६ गते झापा, मोरंग, सुनसरी, धनकुटा र झापामासमेत सोही कारणले केही समय चक्काजाम गरिएको थियो । माघ महिनामा झापामा ६ दिन चक्काजाम गरीएको छ भने सुनसरीमा ५ दिन यातायात अवरुद्ध भएको छ ।
माघ महिनामा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताका लागि विद्यार्थी संगठनले गरेको बन्ददेखि झापामा हात्ती पीडितले क्षतीपूर्ती माग गर्दै समेत बन्द गरेका छन् । फागुनमा भने खस क्षेत्री, ब्राह्मण, पुर्वलडाकुका साथै प्रहरी कर्मचारी पुनर्वहालिको माग राखेर समेत बन्द भएको छ ।
फागुन महिनामा विभिन्न माग राख्दै पाँच दिन पुर्वाञ्चल ठप्प बनेको छ । ११ गते खसक्षेत्री एकता समाजले र १९ गते ब्राह्मण समाजले बन्द गरेका छन् भने २० गतेदेखि २३ गतेसम्म पुर्व लडाकुले बन्द गराएका छन् । सोबाहेक पनि झण्डै एक हप्ता विभिन्न समयमा विभिन्न स्थानमा केही समयका लागि बन्द तथा चक्काजाम भएको तथ्यांक छ ।
बन्दका कारण सर्वसाधारण तथा यात्रुहरुले सास्ती भोगेका छन् । पुर्वघोषणा गरेर भन्दा पनि अकस्मातको बन्दबाट सर्वसाधारणले सास्ती भोग्नुपरेको उनीहरुको गुनासो छ । औद्योगिक करिडोर भएको पुर्वाञ्चलमा हुने एक दिने बन्दबाट करिब एक अरबको आर्थिक क्षती हुने व्यवशायी बताउँछन् । कच्चा पदार्थ ल्याउन तथा तयारी सामाग्री निर्यात गर्न नपाउँदा कतिपय अवस्थामा क्षती बढ्ने समेत उद्यमी व्यवशायी संरक्षण मञ्च पुर्वाञ्चलका संयोजक टंक दुलालले बताए ।
यसरी दैनिकजसो हुने बन्द, हडतालका कारण सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगहरूले दैनिक १५ करोडभन्दा बढी क्षति बेहोर्नुपरेको व्यवसायी बताउँछन् । यस क्षेत्रका अधिकांश उद्योग आइतबारदेखि बन्द छन् ।
दैनिक ३० करोडभन्दा बढी उत्पादन गर्ने यहाँका उद्योगीले बन्द बढ्दै गएको चिन्ता व्यक्त गरेका छन् । मोरङ व्यापार संघका महासचिव प्रकाश मुन्दडा पछिल्लो समय बढेको बन्द हडताललाई निरुत्साहित गर्न नसके यो क्रम अझ बढ्ने बताउँछन् । 'लोडसेडिङका कारण ४० प्रतिशतसम्म उत्पादन कटौती गरेका यहाँका उद्योगलाई बन्दले ढाड सक्यो,' उनले भने, 'डिजेल किन्न पाइँदैन । बत्ती आउने/जाने ठेगान छैन । कति दिनसम्म राजस्व मात्र तिरेर टिक्ने ?'
Itahari/falgun 23
प्रतिक्रिया दिनुहोस् >>