शोकमा आफन्तहरुको गाउँ : एक्काइसे टोल
एकै गाउँका पाँच जनाको एउटै सडक दुर्घटनामा मृत्यु भएपछि सुनसरीको मधेसा ५ स्थित एक्काइसे टोलमा अहिले सन्नाटा छ । विराटनगरमा रहेका आफन्तको पुजामा सहभागि हुन जाने क्रममा सोमबार सुनसरीको मधेसास्थित महेन्द्र राजमार्गमा भएको सडक दुर्घटनामा छिमेकीको मृत्यु भएको खबर धेरैलाई सपना झै लागेको छ ।
दुर्घटनामा एकै गाउँका पाँच जनाको मृत्यु भयो भने अन्य तीन जना गम्भीर घाइते भएर अस्पतालमा उपचार गराइरहेका छन् । गाउँमा अधिकांश परिवार आफन्त रहेकाले पनि मृत्यु हुने र घाइते हुनेहरुको अर्को घर र परिवारसँग कुनै न कुनै नाता पर्छ । गाउँका आधा भन्दा बढी घरपरिवारको एक अर्कासँग कुनै न कुनै नाता जोडिएको दुर्घटनामा एउटै गाउँका आफ्ना चार जना आफन्तहरु गुमाएका स्थानिय केशव बहादुर कार्कीले भने, ‘यो बज्रपातलाई हामी कालो दिन मान्छौं ।’
कार्कीका अनुसार दुर्घटनामा पर्नेमा उनकी श्रीमती कमला कार्कीका साथै भाइ बुहारी गीता कार्की समेत छन् । श्रीमती कमला बाँच्न सफल भएपनि भाइबुहारीको मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुने डम्बरकुमारी कार्की पनि उनकी साली हुन् भने वीरबहादुर कट्वाल भाइको मामाका छोरा हुन् । सोमबार नै मृत्यु हुने तीन जनालाई एकै साथ दाहसंस्कार गरियो ।दुर्घटनामा आमा गीतालाई गुमाएकी छोरी सरोजा कार्कीले अन्तीम समयमा आमाले पानी समेत खान नपाएको गुनासो गर्दै भक्कानिइन् । छट्पटाइरहेको अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालबाट धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्दै गर्दा बाटैमा मृत्यु भएकी आमालाई सम्झिरहँदा उनका आँखा समेत ओभाएनन् ।
सोमबार विहान विराटनगर जानको लागि माइक्रोबसमा चढेको दुई मिनेट नबित्दै बसको ठक्करबाट दुर्घटनामा परी आठ जनाको मृत्यु भएको थियो । चार जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई जनाको इनरुवास्थित जिल्ला अस्पताल र धरानको विपी प्रतिष्ठानमा एक जना र विराटनगरको न्युरोमा एक जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा पर्ने सो गाउँका वासिन्दाहरु विराटनगरस्थित केशव थापाको घरमा जाँदै थिए । संयोग त के छ भने, जो आफै पनि १० वर्ष अघि काठमाडौ जाने क्रममा बस दुर्घटनामा परी बाँच्न सफल भएका थिए ।purwanews, kartik 23
प्रतिक्रिया दिनुहोस् >>