८ वर्षमा पहिलो पटक बोल्न पाउँदा...


जिब्रोको शल्यक्रियापछि आठ वर्षीया विनिता दनुवारले शनिबार पहिलो पटक बोल्न सफल भएको देख्दा बाबु श्रीकुमारले खुसीको आँशु झारे ।
मोरङको शनिश्चरेबाट उपचारमा ल्याइएकी विनिताले शल्यक्रियापछि बुवालाई बोलाएकी थिइन् । जन्मजात जिब्रोको तल्लो भाग मुखभित्र टाँसिएर बोल्न नसकेकी उनी सदरमुकाममा अमेरीकास्थित अल्वा हवाई मिसनको सहयोगमा सञ्चालित निःशुल्क शल्यक्रिया शिविरमा आएकी थिइन् ।
'पहिलो वाक्य नै बाबा भनेर बोलाई,' गदगद हुँदै श्रीकुमारले भने, 'मुखको घाउको पर्वाह नगरी बोलेको सुन्दा म यति दंग भए कि, थाहै पाइन, खुसीले आँसु खसालेछु ।'
शल्यक्रिया गरी उनको छालामा टाँसिएको जिब्रो छुट्याइएको चिकित्सकले बताए । बोलेको नबुझिने हुँदा यसअघि उनलाई सुस्त श्रवण विद्यालयमा समेत भर्ना गरिएको थियो । कान राम्ररी सुन्न सक्ने बालिकाको जिब्राको अघिल्लो भाग छालामा टाँसिएको गत वर्ष मात्र उनका अभिभावकले थाहा पाएको थिए । आर्थिक विपन्नताका कारण उपचार गराउन नसकेका दनुवार दम्पतीले छोरीको यस्तो जीवन आउला भन्ने कल्पनै गरेका थिएनन् । 
एक कक्षामा पढ्ने विनिता विद्यालयमा समेत मौन मात्र पढ्थिन् । धनकुटा अस्पतालमा आराम गरिरहेकी उनले त्यहाँ पुगेका सञ्चारकर्मीसंग 'पापा खाने' भनिन् । यसअघि उनी खानेकुरा राम्ररी चपाउनसमेत सक्दिनन् थिइन् । जाउलो र तलर पदार्थ मात्र खान्थिन् । 
शिविरमा उनी जस्तै कयौं बालबालिकाले जटिल रोगबाट मुक्ती पाएका छन् । तेलिया-८ का अढाई वर्षका रुपेश अधिकारी,  सान्ने ३ का ३३ महिनाका पवन गौतम,  छिन्ताङ ५ का चार वर्षीय नितेश राई, कुरुले तेनुपा २ का ११ वर्षीय मिलन लिम्बूलगायत बालबालिकाको पनि विभिन्न शल्यक्रिया गरिएको चिकित्सक सुमन अर्यालले जानकारी दिए । दस दिने शिविरको मध्यसम्ममा १ सय ७० को साना ठूला शल्यक्रिया गरिएको छ ।

२०६८ कार्तिक २०, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :