'जनताका निम्ति जोखिम मोलें’

झन्डै पाँच वर्षदेखि चलेको शान्ति प्रक्रियाको मूलभूत विषय माओवादी लडाकुको समायोजन र पुनःस्थापनालाई लिएर दलहरूबीच अन्ततः मंगलबार ठोस सहमति भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताको निम्ति आफुले जोखिम मोलेर शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउने सहमति गरेको बताएका छन् । उनले भने, 'अव संविधान बन्छ भन्ने प्रमुख सन्देश संसार माझ गएको छ ।' सहमतिमा हस्ताक्षर गरेपछि दाहालसंग गरेको छोटो कुराकानी:
यो सम्झौताको राजनीतिक सन्देश के हो ?
यसले शान्ति र संविधानप्रति नेपाली जनताको चाहनालाई ठोस रूपमा अभिव्यक्त गरेको छ । अब शान्ति प्रक्रिया टुंगियो, संविधान बन्छ भन्ने सन्देश सारा संसारमाझ गएको छ । त्यसलाई पूरा गरेर छाड्ने चुनौती हाम्रासामु छ, त्यसमा सफल हुनेछौं ।
शान्ति प्रक्रियाको एउटा मुख्य पक्षका रूपमा यसबेला तपाईंलाई कस्तो अनुभूति भइरहेको छ ?
अहिले मलाई २०६३ असार २ गते हामी खुला भई बालुवाटार आएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मैले गरेको ऐतिहासिक सम्झौताको स्मरण भइरहेको छ । आज
-मंगलबार) त्यहाँबाट सुरु भएको क्रमको अन्त्य भएको छ र नयाँ युगान्तकारी अध्याय आरम्भ भएको छ । यसबेला गिरिजाबाबु त हामीबीच हुनुहुन्न, उहाँको अनुपस्थितिमा मैले शान्ति प्रक्रियाको एउटा नेतृत्वकर्ताका हैसियतमा आफ्नो जिम्मेवारी निर्वाह गरेको छु । राष्ट्र र आमजनताको चाहनाप्रति संवेदनशील भई इतिहासको कठघरामा उभिएर मैले यो जोखिमपूर्ण कदम उठाएको हुँ ।
कम्युनिस्ट आन्दोलनका सन्दर्भमा पनि यो एउटा नितान्त नयाँ प्रयोग हो । विगतमा मैले जनयुद्धको तयारी गर्दा, जनयुद्ध थाल्दा, त्यसलाई एउटा उचाइमा पुर्‍याउँदा र शान्ति प्रक्रियामा आउँदा जेजस्ता साहसिक निर्णय लिएको थिएँ, आजको कदमलाई पनि त्यसैसँग जोडिएको कडीका रूपमा बुझ्नुपर्ने हुन्छ । खासगरी विश्व कम्युनिस्ट आन्दोलनका क्रान्ति/प्रतिक्रान्तिका अनुभवबाट सिकेर यो नयाँ महान् प्रयोग गरिएको हो ।
तर यसले तपाईंको पार्टीमा ठूलै विवाद निम्त्याएको छ नि ?
मैले हाम्रो पार्टीमा उठेको विवादलाई नकारात्मक रूपमा लिएको छैन । किरणजीहरूको असहमति जनवादी केन्द्रीयताकै विकसित रूपमा आएको छ । उहाँहरू पार्टी एकताकै पक्षमा हुनुहुन्छ ।
पार्टी विभाजन हुने सम्भावना छैन ?
बिल्कुलै छैन । अलिकति विवाद त छ तर आजकै पार्टी कार्यालयको बैठकमा पनि किरणजीहरूले असहमत भए पनि पार्टी निर्णय मानेर जाने भन्नुभएको छ, त्यो सकारात्मक छ । देश र जनताको आवश्यकताअनुसार यो निर्णय गरिएको वास्तविकता उहाँहरूले बुझ्दै जानुहुनेछ ।
यो सम्झौताको कार्यान्वयन कसरी हुन्छ ?
शान्ति र संविधानको काम सम्झौतामा तोकिएको कार्यतालिकाअनुसारै जान्छ । त्यसो हुँदा एक महिनाभित्रै कामको प्रगति देखिनेछ । त्यसको अर्थ यसको कार्यान्वयन चुनौतीपूर्ण छैन भन्ने होइन । तर मैले जस्तो चुनौती र जोखिम मोलेर यो निर्णय लिएको छु, त्यसमा सम्पूर्ण परिवर्तनकामी समुदायबाट सहयोग मिल्यो भने कार्यान्वयनको अन्तिम बिन्दुसम्म पुग्न कठिनाइ छैन । अन्ततः हामी नवीन नेपाल बनाउन सफल हुनेछौं । ekantipur


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :