आधा वर्षमा पनि पुस्तक पाइएन !
शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा ताप्लेजुङ जिल्लाका विद्यार्थीहरु मारमा परेका छन् ।
जिल्लास्थित सामुदायिक विद्यालयका कक्षा–८, ९ र १० को अनिवार्य नेपाली, विज्ञान, सामाजिक लगायतका महत्वपूर्ण विषयका पाठ्यपुस्तक अझै नपुग्दा विद्यार्थीहरुलाई समस्या भएको हो ।
जिल्ला सरदमुकाम नजिक फुङ्लिङ–१ देवलिङ्गेको श्री वीरेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा–८ को नेपाली र विज्ञान, कक्षा–९ को नेपाली, सामाजिक र जनसंख्या साथै कक्षा–१० को विज्ञान, शिक्षा र अर्थशास्त्र विषयका पाठ्यपुस्तक सबै विद्यार्थीहरुलाई नपुगेको शिक्षक ओमप्रकाश गौतमले बताए ।पाठ्यपुस्तकहरु विक्री केन्द्र तथा पुस्तक पसलहरुमा नै पर्याप्त नपाइएकाले अभाव भएको शिक्षक गौतमले गुनासो गरे । उनले भने, ‘विद्यार्थीहरुसँग पाठ्यपुस्तक नभएपछि प्रथम त्रैमासिक परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई निक्कै कठिन भइरहेको छ ।’
त्यस्तै कञ्चनजङ्घा माध्यमिक विद्यालय याम्फुदिनमा पनि कक्षा–१० को भूगोल विषय अझैसम्म सबै विद्यार्थीहरुलाई पु¥याउन नसकिएको प्रधानाध्यापक श्रीकुमार माबोले गुनासो गरेका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानप्रसाद मिश्रले ताप्लेजुङले चालुवर्ष साझा प्रकाशन जनकशिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक पर्याप्त उपलब्ध नगराएकोले यो समस्या आएको बताएका छन् ।
महासंघ मार्फत जिल्लाका अधिकांस विद्यालयहरुले पाठ्यपुस्तक लाने गरेका र केही विद्यालयहरुमा अझै सबै पुस्तक नपुगेको मिश्रले बताए । उता जिल्ला शिक्षा कार्यालयमा भने पाठ्यपुस्तकको बारेमा कुनैपनि जानकारी नभएको निमित्त जिल्ला शिक्षा अधिकारी लयप्रसाद निरौलाले जानकारी दिए । - प्रयास लिम्बू /ताप्लेजुङ, २०६८ कात्तिक १५
प्रतिक्रिया दिनुहोस् >>