महतोले पत्रकारलाई पैसा बाँडे, महासंघको आपत्ती


Rajendra_mahatoचाडपर्वका उपलक्ष्यमा दिने शुभकामना खामभित्र के होला? भन्नुहोला कार्ड! स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले दिने शुभकामना खाममा भने शुभकामना कार्डसँगै हजारका केही नोट पनि रहेछन्। शनिबार मलाई सहयोगी मार्फत् बोलाएर महतोले यस्तै खाम थमाए। खामभित्र कार्डबाहेक नगद पनि होला भन्ने मैले सोचेको थिइनँ।
मन्त्री क्वार्टर बाहिर निस्किएर खाम हेर्दा पैसा देखेपछि मैले भेटका लागि बोलाउने मन्त्रीका प्रेस सल्लाहकार निमेष कर्णलाई तत्कालै भेटेर रकम फिर्ता गरिदिएँ। शुभकामना कार्ड भने लिएर फर्किएँ।
स्वास्थ्य रिपोर्टरलाई मन्त्रीले भेट्न खोजेपछि नजाने कुरै भएन! निवासमा ठूलो भीड थियो। मैले धेरै बेर नकुरी भेट्न पाएँ। खामबाहिरै 'हार्दिक मंगलमय शुभकामना २०६८' लेखिएको रहेछ, भित्र भने हजारहजारका पाँचवटा नोट। मैले पैसा फिर्ता गर्दा मन्त्रीका सहयोगीहरू अप्ठेरो पर्ने भएकाले पैसा लिइदिन आग्रह गर्दै थिए। 'गलत नियत होइन, चाडवाडमा धेरै पत्रकार साथीले लिन्छन्,' उनीहरू भन्दै थिए।
मन्त्री भएलगत्तै उनका सहयोगीले भेट्ने कुरा गरेका थिए। मैले विषयबस्तुमै छलफल गर्न बोलाएको होला भन्ठानेँ। मन्त्रीले लामो कुरा गरेनन्। मैले शनिबारै नागरिकमा छापिएको विपद व्यवस्थापनसम्बन्धी समाचारमा उनको प्रतिक्रिया लिन खोजेँ। केही अनुभव सेयर गरेँ। मलाई सुरूमा यस्तो छ भनेर जानकारी गराइएको भए भेट्नै अस्वीकार गर्थेँ र सायद प्रसंग सकिन्थ्यो। छल गरेरै खामभित्र पैसा हालिएछ।
स्रोतका अनुसार केही दिनयता मन्त्रीले निवासमा बोलाएर विभिन्न सञ्चार माध्यममा कार्यरत ५० भन्दा बढी पत्रकारलाई 'शुभकामना' दिएका छन्। मन्त्रीका केही सहयोगीले नाम चलेका सञ्चार गृहका पत्रकारको नाम लिएर 'उनीहरूले लगिसकेको भन्दै स्वीकार्न' भनेका थिए। - दीपक दाहाल / nagarikdaily, असोज १५

'पैसा बाँड्ने मन्त्रीलाई कारबाही गर'- महासंघ  

स्वास्थ्य मन्त्री राजेन्द्र महतोले पत्रकारहरुलाई दशैँको शुभकामना कार्डसँगै नगद वितरण गर्ने कार्यलाई 'सत्ता र शक्तिको आडमा सरकारी रकमको दुरुपयोग गरी पत्रकार र सञ्चारमाध्यमलाई भ्रष्ट र आफ्नो प्रशंसक बनाउन खोज्ने प्रयत्न' भन्दै आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन महासंघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ। सचिव जगत नेपालद्वारा जारी विज्ञप्तिमा  पत्रकार आचारसंहिताविपरीतका यस्ता कार्यबाट टाढा रहन सबै सदस्यको ध्यानाकर्षण पनि गरेका छन्। 

वक्तव्यको पूर्ण विवरण-
 
स्वास्थ्य मन्त्री राजेन्द्र महतोले असोज १४ गते पत्रकारहरुलाई दशैंको शुभकामना कार्डसँगै नगद वितरण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। आफ्ना स्वकीय सचिवमार्फत् मन्त्री महतोले पत्रकारहरुलाई जरुरी काम छ मन्त्रीज्यूलाई भेट्नु पर्‍यो  भन्दै पटक-पटक टेलिफोन गरेर पुल्चोकस्थित सरकारी निवासमा बोलाएर शुभकामना कार्डसहित रु ५००० देखि रु ८००० सम्म नगद वितरण गरेको विवरण महासंघलाई प्राप्त भएको छ । स्वास्थ्य मन्त्री महतोको यो कार्य पदीय मर्यादाविपरीतमात्र होइन नेपालको अन्तरिम संविधान र कानुनको प्रत्यक्षत: उल्लंघन पनि हो । यसैगरी सो कार्य अख्तियारको दुरुपयोग र भ्रष्टाचार नियन्त्रण ऐनविपरीतको काम पनि हो । यो कार्यलाई महासंघले सत्ता र शक्तिको आडमा सरकारी रकमको दुरुपयोग गरी पत्रकार र साचारमाध्यमलाई भ्रष्ट र आफ्नो प्रशंसक बनाउन खोज्ने प्रयत्नको रुपमा लिएको छ । यसतर्फ आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन महासंघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँछ । साथै महासंघ पत्रकार आचारसंहिताविपरीतका यस्ता कार्यबाट टाढा रहन आफ्ना सबै सदस्यको ध्यानाकर्षण गराउँदछ।

जगत नेपाल
सचिव
नेपाल पत्रकार महासंघ 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :