सभासद्लाई बिच सडकमा गाली गरे मजदुरले
Posted by
purwanews
Published on
Friday, September 2, 2011
नेताहरुले जनता र माइक्रोफोन वा कार्यक्रमको मञ्च पाए भने के गर्छन् ? भाषण दिन्छन् । छोटो भाषणको लागि कार्यक्रम सञ्चालकले गरेको आग्रहलाई लत्याउँदै घण्टौ बोल्छन् । तर यदी त्यही नेताको अगाडी जनताले बोल्न पायो भने के होला ? नेताहरुले गरेको कामको काण पाएको दुःखको विषयमा बोल्न थाले भने नेताले नै सुन्न सक्दैनन् भन्ने उदाहरण शुक्रबार इटहरीमा देखिएको छ ।
वैद्य पक्षको देशव्यापी कार्यक्रम अनुसार इटहरीमा सडकमा बन्द गराउन उत्रिएका सुनसरीका सभासद् किरण राईलाई यातायात मजदुरहरुले शुक्रबार इटहरी चौकमा गाली गरे । उनलाई घेरेर यातायात मजदुरहरुले भएभरको गाली गरे । अक्क न बक्क परेका सभासद् राई चुपचाप लागेर केही समयपछि त्यहाँबाट पन्छिएका थिए ।
पार्टीको आन्तरिक विवादका कारण आम सर्वसाधारणले दुःख पाएको आरोप लगाउँदै बीच सडकमा प्रहरीका अगाडी नै यातायात मजदुरले बन्द गराउन उत्रिएका माओवादी कार्यकर्ता र नेताको आलोचना गरेका थिए । सभासद् राईको नेतृत्वमा इटहरी चौकमा बन्द गराइँदै थियो । त्यही समयमा यातायात मजदुरहरुले उनलाई घेरेर पार्टीभित्रको झगडाको रिस जनतासँग किन पोखेको भन्दै सोधेका थिए ।
‘एउटाले हतियार बुझाएर सच्चिने भनेर राम्रो काम गर्ने, अनि त्यही पार्टी भित्रको नेता चाहिँ हतियार किन दिएको भन्दै रोएर सडक बन्द गर्ने अनि हामीचाहिँ के गरी खाने ?’ यस्तै प्रश्नहरुले प्रहार गर्न थालेपछि सभासद् राई केही समयमै उकुसमुकुसमा परेका थिए । बन्द गरेर रोजीरोटी गुम्ने अवस्था आएको गुनासो गर्दै बन्द गराउनेलाई मजदुरहरुले गाली गरेका थिए । जीविकाको सवालमा मजदुरहरुले बीच सडकमा अलपत्र यात्रु, मजदुर तथा पत्रकारका बिच ¥याख¥याखती पारेपछि उनी अलमलमा परेका थिए । पार्टीकै एक नेताले तानेर भीडबाट पर लगेपछि मात्र स्थिती साम्य भएको थियो । त्यसपछि उनी सडकमा देखिएनन् ।
रमाइलो त के छ भने यसरी गाली गरीरहँदा राई सभासद् हो भनेर ती मजदुरहरुले चिनेका थिएनन् । बन्दकर्ताको रुपमा मात्र चिनेका यातायात मजदुर आफूले गाली गरेका व्यक्ति सभासद् भएको चालपाएपछि छक्क परेका थिए । ‘वहाँ सभासद् हो र ?’ गुनासोका सुनेपछि सभासद्ले के उत्तर दिनुभयो भनी पत्रकारले सोधेको प्रश्नमा एक यातायात मजदुरले आश्चर्य जनाएका थिए ।
देशव्यापी बन्दका कारण पुर्वाञ्चलका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिएका पार्टीका वैद्य पक्षका कार्यकर्ताको बन्दका बिच इटहरीमा केही कार्यकर्तालाई लिएर क्षेत्र नं. १ का सभासद राई नै यातायात बन्दमा उत्रिएपछि सुरक्षा निकायले बन्द खुलाउन गरेको प्रयास समेत विफल भएको थियो ।
सभासद् राईले भने सेना समायोजनको खाका बनिसकेपछि हतियार बुझाउने पार्टीको निर्णय विपरीत काम भएकाले विरोध गरिएको दावी गरेका थिए । उनले यो आफूहरुको घरभित्रको झगडा भएपनि सबैलाई थाहा दिनको लागि बन्द गरेको प्रतिक्रिया दिएका थिए । भदौ १६
भिडियो हेर्नुहोस्, सभासद्लाई यातायात मजदुरहरुले यसरी झापारेका थिए :
प्रतिक्रिया दिनुहोस् >>