एउटा अर्को लापरवाही- जिउँदो शरीर प्रयोगशाला बन्दै


अस्पताल मानिसको ज्यान बचाउने ठाउँ हो । डाक्टरलाई बिरामीको देवता नै मानिन्छ । तर बेलाबेलामा हुने लापरवाहीका कारण स्वास्थ्य संस्था मानिसको ज्यान लिने कारखाना बन्दै गएको छ । चितवनमा घाँटीको अपरेशन गर्नुपर्ने बिरामीको डाक्टरले बिरामीको पाठेघर झिकेर फालेको घटना सेलाउन नपाउँदै मोरंगको विराटनगरमा अर्को एउटा लापरवाहीपूर्ण घटना घटेको छ ।
अपरेशन हुन सक्दैन भने अन्तै लगेर भएपनि अपरेशन गर्छौं भनेर बिरामी परिवारले आग्रह गरीरहे, तर हुन्छ हुन्छ भन्दै चिकित्सकले एउटा मानव शरीरलाई प्रयोगशाला बनाइरहे । फलस्वरुप बिरामी बालकको मृत्यु भयो ।
नोबेल मेडिकल अस्पताल विराटनगरले अप्रेसनमा लापरबाही गर्दा मृत्यु भएका १३ वर्षे मुकुन्द तिम्सिनाको परिवारले उपचारमा संलग्न डा. प्रकाश सिटौलामाथि कडा कारबाही माग गरेका छन्।
मध्यमवर्गीय तिम्सिना परिवारले अप्रेसनअगावै सकिँदैन भने अन्यत्र लाने आग्रह गरिरहँदा डा. सिटौलाले 'सामान्य अप्रेसन' भन्दै केही नहुने वचन दिएका थिए।
'घुँडामा पिप जमेको छ आधा घन्टामा सकिहाल्छ भने,' मुकुन्दका काका सोमनाथले नागरिकसँग भने, 'ज्यानै गुम्यो, तर मृत्युको चित्तबुझ्दो जवाफ पाइएन।'
उनको घुँडाको आइतबार अप्रेसन गरिएको थियो। 'यहाँ हुँदैन भने काठमाडौं लान्छौं भन्दाभन्दै,' आमा गंगाले आँखाभरि आँशु पारिन्, 'सामान्य अप्रेसन हो भन्दै लगेर अन्तिममा लास दिए।'
मुकुन्द सिजुवा-९ मोरङका कृष्णप्रसाद र गंगाका एक्ला छोरा हुन्। सिजुवाकै सरस्वती उच्च माविमा कक्षा ९ मा पढ्दै गरेका उनी सधैं पढाइमा प्रथम हुन्थे।
'विज्ञान विषयमा धेरै चासो राख्थ्यो,' सोमनाथले भने, 'साधारण बिग्रिएका मोबाइल, रेडियो र कम्प्युटर आफैं खोलेर बनाउँथ्यो।'
दाहिने घुँडा दुखेपछि उनलाई अस्पताल भर्ना गरिएकामा नोबेलका चिकित्सकले 'फोक्सोमा इन्फेक्सन' भई मृत्यु भएको भनेर टारेका छन्। अप्रेसन गर्दागर्दै उनलाई भेन्टिलेटरमा राखिएको थियो।
नोबेल अस्पतालले अप्रेसनमा लापरबाही स्वीकारे पनि दोषी डाक्टरमाथि कारबाही भएको छैन। 'क्षतिपूर्ति चाहिँदैन, डाक्टरलाई कारबाही हुनुपर्‍यो,' बाबु कष्णले भने, 'अरु बाबुआमाले हाम्रोजस्तो पीडा भोग्नु नपरोस्।'
'अस्पताल सद्दे मान्छे मार्ने ठाउँ होइन', मुकुन्दका ठूलाबा डा. नेत्रप्रसाद तिम्सिनाले भने। मुलुकी ऐनमा ज्यान मार्ने उद्देश्य नभए पनि लापरबाही भएको पुष्टिको आधारमा डाक्टर कारबाहीको भागिदार बन्ने व्यवस्था छ।
पीडित पक्षले डाक्टर सिटौलामाथि ज्यान मुद्दा हाल्ने तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले प्रमाणसहित पीडितले जाहेरी दिए डाक्टरमाथि कारबाही चलाइने बताए। 'लापरबाही नै हो भन्ने प्रमाणित लिएर अदालतमा जान सके डाकटरलाई सजाय हुन्छ,' उनले भने।
पछिल्ला समयमा स्वास्थ्य प्रविधि विकसित हुँदै गइरहेको छ । नयाँ नयाँ सुविधासम्पन्न स्वास्थ्य संस्था खुलेका छन् भने भएकै स्वास्थ्य संस्थामा समेत सुविधा थपिएका छन् । तर यसरी बिरामीको जिउँदो शरीरलाई प्रयोगशाला बनाउने क्रम भने बढेको छ ।भदौ १६

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :