तलामाथि बोर्डिङ, तलामुनि शशस्त्र बेस
Posted by
purwanews
Published on
Saturday, July 23, 2011

सुनसरीको दुहबी ५ मा सिँचाइ आयोजना पुरा गर्नको लागि चिनिया कम्पनिले बनाएको कम्पाउण्डवाल भवनमा हाल शशस्त्रको बेस र महेन्द्र मेमोरियल उच्च मावि सञ्चालनमा छ ।
उक्त चिनिया कम्पनिले स्थानियको नम्बरी जग्गालाई समेत वार्षिक रुपमा भाडा तिर्ने गरी ओगटेर कम्पाउण्ड वाल लगाएको थियो । कम्पनिले आफ्नो काम सकेर गइसकेपछि उक्त क्षेत्रलाई २०६१ सालमा दुहबी रंगशालाको रुपमा निर्माण गर्ने योजना गाविसले अघि सारेको थियो । रंगशाला दुहबी गाविसको स्वामित्वमा छ, जसको क्षेत्रफल तीन विगाहा १४ कठ्ठा छ ।
सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा पर्ने दुहबीमा औद्योगिक सुरक्षाको लागि शशस्त्रको बिट राख्ने भएपछि चार वर्ष अघिदेखि सो स्थानमा शशस्त्र बस्दै आएको छ । शशस्त्रले प्रयोग गरिनसकेका कोठा पछि सो बोर्डिङले समेत प्रयोग गर्ने प्रस्ताव राखेपछि दुई लाख रुपैया धरौटी र वार्षिक एक लाख तीस हजार रुपैया तिरेर एउटा भवनको ९ वटा कोठा प्रयोग गरिरहेको विद्यालयका संस्थापक अध्यक्ष निश्चल शाक्यले बताए ।
रंगशाला बनाउने भनेतापनि निजी जग्गा समेत कम्पाउण्ड वाल भित्रै परेकोले गाविसले जग्गालाई पूर्ण उपयोग गर्न सकिरहेको छैन । निजी र गाविस स्वामित्वको करिब ८ कठ्ठा जग्गा बोर्डिङले तिरेको भाडाबाट किनिएको छ । तर बाँकी १० कठ्ठा जग्गा किन्न झण्डै एक करोड रुपैया लाग्ने भएकाले रंगशाला बनाउने विषय अन्यौलमै रहेको रंगशालाको व्यवस्थापन समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए । ‘नहुनु मामा भन्दा कानो मामा ठिक भनेर विद्यालयलाई भवन प्रयोग गर्न दिएका हौं ।’ थापाले भने । विद्यालयले भने रंगशाला समितिको बैंक खातामा वर्षको दुई पटक रकम जम्मा गरिदिने गर्छ ।
अहिले विद्यालय सञ्चालनमा रहेको भवनको तल्लो चर्पी र एउटा कोठा शशस्त्रले प्रयोग गरिरहेका छन् । भने कम्पाउण्डवाल भित्रै रहेका एक हलसहित अन्य दुई भवनहरु पनि शशस्त्रले प्रयोग गरीरहेको छ । शशस्त्र र विद्यालय भवनबिच सामान्य तारबेरा छ । तर दुवै संस्था एउटै पक्की कम्पाउण्ड भित्र छन् र शशस्त्र र विद्यार्थी एकले अर्काको गतिविधि नियाल्न सक्ने अवस्था छ ।
शशस्त्रको बेससँगै विद्यालय हुँदा पनि कुनै समस्या नभएको बरु शान्ती सुरक्षा कायम गर्न महत्वपूर्ण सहयोग पुगेको स्थानियहरु बताउँछन् । ‘शशस्त्रको हतियार आफ्नै कोठामा हुन्छ भने विद्यार्थीहरु समेत निर्वाध अध्ययन गरिरहेका छन् ।’ उच्च माविका शाक्यले बताए । विद्यार्थीहरुले समेत कुनै असुरक्षा अनुभव नगरेको उनको भनाई छ । यता बेसका शशस्त्र प्रहरी निरिक्षक धिरेन्द्र चन्द पनि विद्यालय र बेसले एकले अर्कोलाई हस्तक्षेप नगर्ने हुँदा कुनै कठिनाइ नभएको जनाउँछन् ।
विद्यालयमा एक हजार दुईसय विद्यार्थी छन् । प्लस टु समेत गरेर एक हजार ३५० जना विद्यार्थी पढ्छन् । विद्यालयले कम्पाउण्ड बाहिर पश्चिमपट्टि आफ्नै निजी भवन समेत बनाइरहेको छ । पहिलो तला बनाइसकेकोले १ महिना अघिदेखि केही विद्यार्थी नयाँ भवनमा छन् भने अधिकांश विद्यार्थी पुरानोमा । विद्यालयले पाँच वर्षको लागि भवन भाडामा लिने सम्झौता अनुसार बाँकी तीन वर्षमा आफ्नो नयाँ भवनको सम्पूर्ण काम सक्ने लक्ष्य लिएको छ ।
स्थानियहरुसँग शशस्त्रको राम्रो सम्बन्ध छ । ‘शशस्त्र नभएको भए यो आपराधिक मानिसहरुको चलखेलका कारण बस्न लायकको हुन्थेन ।’ स्थानिय भन्छन् । बाटो, पुल भत्के वा बिग्रेका बेला तथा विकास निर्माणका काम भएका बेलामा शशस्त्रले जनशक्ति परिचालन गरिदिएर सहयोग गर्ने गरेको छ । ‘सहयोगि स्वभावका कारण शशस्त्रलाई जनताले रुचाएका छन् भने विद्यालयले पनि कुनै असुरक्षा अनुभव गरेको छैन ।’ चन्द भन्छन् । पूर्वन्युज
प्रतिक्रिया दिनुहोस् >>