तीन पुस्ते परिवारमा ४० जनाको एउटै भान्छा


संयुक्त परिवारमा बस्ने चलन हराउँदै गएका बेला बर्दियामा भने ४० जनाको एउटै परिवार पुस्तौदेखि सगोलमै बस्दै आएको छ ।
गुलरिया नगरपालिका ५ बेचैपुरका ७० वर्षे होलिराम थारूको परिवार चार पुस्तादेखि सँगै बस्दै आएको हो । उनीहरूको एकार्कामा मिल्न सक्ने खुबी देखेर गाउँले पनि छक्क पर्छन् । घरमा झगडा भए पनि सबै परिवार मिलेर तत्कालै समाधान गर्छन् ।
यो परिवारमा होलिरामपट्टीका चार छोरा, तीन बुहारी र पाँच नाति छन् । उनका चार छोरी भने बिहे गरेर श्रीमानको घरमा गइसकेका छन् । होलिरामकी श्रीमती तीन वर्षअघि बितिसकेकी छन् । उनका दुई भाइ कांग्रेस र जांग्रेसपट्टीका परिवार पनि सँगै बस्छन् । भाइ कांग्रेसका श्रीमतीलगायत तीन छोरा, दुई बुहारी, दुई नाति र दुई छोरी, तीन नाति र एक नातिनी छन् भने जांग्रेसका पनि श्रीमती, दुई छोरा, एक बुहारी, तीन छोरी, एक नाति र एक नातिनी छन् ।
थारूका छोरा सीतारामले परिवार ठूलो भए पनि एउटै भान्सामा साँझ र बिहान गरी दिनमा ३० किलो बढी चामल पाक्ने गरेको बताए । तर पाहुुना आउँदा सहायक भान्सा प्रयोग
गरिन्छ । उनले घरपरिवारका थुप्रै इष्टमित्र भएकाले जसका पाहुना आउँछन्, उसकै भान्सा प्रयोग हुने बताए । पाहुनाका लागि सहायक भान्सामा माछामासु पकाउँदा घरमा सरसल्लाह हुने गर्छ ।
खान पकाउन दुई महिनामा पालो पालो बुहारीले सघाउने गर्छन् । भाइ बुहारी सुन्दरीयाका अनुसार ठूलो परिवार भएकाले खाना पकाउन एकै पटक चार घन्टा लाग्छ । सुत्नका लागि उनीहरूका तीन घर छन् ।
घरमुली थारूका अनुसार प्रायःजसो एक/दुई जना पाहुना नआएको दिनै हुँदैन । परिवारमा मासु खान चाड पर्व कुर्नुपर्ने हुन्छ । परिवार ठूलो भएका कारण ५/१० किलो मासुले पुग्दैन । 'करिब २५ किलो मासु एक छाकमा चाहिन्छ,' होलिरामका माइला भाइका छोरा कालीरामले भने । खसीको भन्दा बंगुर त्यसपछि कुखुराको मासु मन पराउने धेरै सदस्य छन् ।
परिवारको मुख्य आम्दानीको स्रोत भनेकै खेतीपाती हो । थारूको जम्मा ६ विघा जग्गा छ । ६ विघा जग्गाले वर्ष दिन पनि खान नपुगेकाले अरूको जग्गा बटैया गरेको उनले बताए । थारूका परिवारमा कोही पनि जागिरे छैनन् । घरमा राखेको पसलबाट केही घर खर्च टर्ने गरेको उनीहरू बताउँछन् । वर्षमा एक पटक सबैका लागि कपडा खरिद गर्छन् । त्यसरी खरिद गर्दा करिब ६० हजार रुपैयाँ खर्च हुने उनीहरूको दाबी छ । पुरानो पुस्ताले लेखपढ नगरे पनि नयाँ पुस्ताका झन्डै दुई दर्जन बालबालिका पढ्न जाने गरेका छन् । 'केटाकेटी बढी भएकाले साँझ सबैलाई एकै ठाउँमा राखेर गन्नुपर्छ', होलिरामकी आफ्नै बुहारी सुष्माले भनिन् । गत फागुनमा जिल्लाको गोला गाविसबाट विवाह गरी आएकी उनी कक्ष १२ मा पढ्छन् ।२०६८ श्रावण १५ ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :