लाजै मर्दा तीजका गीत : कसले सुन्छ ?


‘बिहानै उठेर टीभी हेर्न थालेको
टीभी हेर्दा परें म त दंग बरिलै
तीजका गीतमा केटाहरु नाचेका
स्वाई न प्वाईंको पुरुषको रंग बरिलै
चट्ट रिबन बाट दाई कालो कपालमा
जे गरे नि हुने रैछ हाम्रो नेपालमा ।।’
तीज आउनु ३ महिनाअघिदेखि नै तडकभडक र भड्किलो शैलीमा गीत बजेको सुनेर गायक दुर्गा रायमाझीलाई झोंक चल्यो । अनि विकृतिले झाँगिएको तीजका गीतलाई व्यंग्य गर्दै उहाँले पनि गीत लेख्नुभयो । ‘तीजका गीतले सिमा नाघ्न थाल्यो’ रायमाझीले भन्नुभयो – ‘रत्यौलीमा जस्तो जथाभावी शब्द प्रयोग, केटाहरुको समेत नाचले तीजको गीतलाई भड्किलो बनाएको छ ।’
२०४० सालदेखि तीजको गीत गाउँदै आएकी चर्चित गायिक हरिदेवी कोईराला पनि अहिलेको विकृति देखेर दिक्क हुनुहुन्छ । ‘तीजले सामाजिक सँगै साँस्कृतिक पक्ष पनि बिगारेको छ’ कोईरालाले भन्नुभयो -’अहिलेका गीतमा तीजका लय नै भेटिंदैन । पुरुषप्रधान र भद्दा नृत्यले तीजको साँस्कृतिक पक्षलाई ओझेलमा पारेको छ ।’
नयाँ पुस्ताले तीजको भाका, लय र शब्दलाई बिगारे भनेर पुराना कलाकारलाई चिन्ता बढाएको छ । ‘तीजको गीतमा झाँगिएको विकृतिलाई हटाउन जरुरी छ’ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम न्यौपान पुरुषोत्तम न्यौपानेले भन्नुभयो -’यसको लागि राज्य नै चनाखो हुनुपर्छ ।’
न सुनिसक्नु, न हेरिसक्नु
पहिले पहिले तीजमा महिलाले मात्र गीत गाउँथे, महिला मात्रै नाच्थे । गीतमा गाउँठाउँका घटना, चेलीबेटीका दुःखपीर र व्यथा, मुलुकका घटना क्रम समेटिन्थे । तर हिजोआज पुरुषले पनि गीत गाउँछन्, अरु दोहोरी गीतमा जस्तै केटाकेटी नारिएर नाच्छन् । रत्यौलीमा गाए जसरी गीतको भाका गुञ्जन्छ । ‘तीजको गीतमा माया प्रीतिका अभिव्यक्ति होईन, मनमा लागेका कुरा चेलीले एकोहोरो भन्नुपर्छ’ गायिका हरिदेवी कोईरालाले भन्नुभयो- ‘घटनाप्रधान र सृजनात्मक अभिव्यक्ति हुनुपर्नेमा तीजका गीतलाई बिगारिएको छ ।’
पहिले पहिलेका तीजका गीत यस्ता हुन्थेः
‘तीजको बेलामा सवै जान्छन् माइत
आफ्नो माईत डाँडापारी छैन साइत
तीज आयो भन्छन् सबै माईत जान्छन
मै चेली अभागी कसको माईत जाम…………..’
तर हिजोआज यस्ता गीत कमै सुन्न पाईन्छ । रत्यौलीकै शैलीमा गाईने गीतको बिगबिगी बढेको छ, हिजोआज ।
‘हाई मेरो फरिया
झन माथी सार्यो झन तल र्झछ हाई मेरो फरिया…………..’
‘ओई माया झ्याई पारम् ……..’
‘ओई मेरो बादुरे…………….’
‘ए कालु भरे बेलुका आउनु भेट्नलाई………………’

‘दिदीले भेना पाए
दाईले नि भाउजु पाए
अब त चाइने जो मेरै पालो हो………….’


‘कुर्ता सुरुवाल बहिनीलाई दिईन्छ
अर्को साल त मिनिस्कर्ट किनिन्छ……………..’


‘मैले बाईकमा घुम्ने मन पराउने
बाबाले रोज्नुभो भैंसी चराउने………………..’

पहिलेका गीतमा केटाको स्वर भएपनि चेलिबेटी लिन जाने कुरासँग संवादको रुपमा प्रयोग हुन्थ्यो । ‘मैले १०/११ वर्षदेखि तीजको गीत गाउँदै आएको छु, तर मायाप्रेमको भड्किलो कुरा समेट्ने गरेको छैन’ गायक पुरुषोत्तम न्यौपानेले बताउनुभयो ।
‘हुन्छ आमा दिदी लिन जान्छु जान त
कोसेली पो के लाने हो पर्छ लान त……………’


‘दुब्ल्याएर बनाई भैछे छैन बरा जिऊ
अनादी चामल र लैदे बाबु घिऊ…………….’.

तर, अहिले तीजमा दाजुभाइ कहिले लिन आउलान् भन्दा पनि इमेल, एसएमएसको निम्तोको कुरा हुन्छ । अविवाहित युवती दिदीले भेना पाएको, दाजुले भाउजु पाएको अब मेरो बिहे कहिले हुन्छ भनेर दिनगन्ती गर्ने गर्छन् । ‘व्यवसायिक लोकपि्रयताले परम्परा र भोगाइका ठेट गीतलाई ओझेलमा पारेको छ’ गायिका लक्ष्मी न्यौपानेले भन्नुभयो- ‘यसबाट केही क्षणलाई लोकपि्रय बनाएपनि गीत दिगो हुँदैन ।’
केही वर्ष पहिले कोमल वलीको पोईल जान पाम्………भन्ने गीतमा प्रतिबन्ध नै लगाउनु पर्यो । तीजमा भड्किलो गीत गाउने कोमल वलीले अहिले पनि त्यसलाई निरन्तरता दिएकी छिन् । अरु नयाँ पुस्ताका कलाकारहरु पनि यसमै भिजेका छन् । तीजको मर्म र भावना बुझेकाहरुलाई पनि भड्किलो गीत न सुनिसक्नु बनाएको छ न टीभीमा हेरिसक्नु ।
व्यापार चाहिं शून्य
तीज आउन तीन महिना बाँकी छँदादेखि नै बजारमा सीडी र क्यासेट निस्कन थालिसकेका छन् । झण्डै एकसयको हाराहारीमा गीत निस्किसकेका छन् । तर व्यापार चाहिं शून्य छ । चारवर्ष अघिसम्म कलाकारले तीजको गीतबाट मनग्गे फाईदा गर्थे । एउटै गीतबाट दशौं हजार कमाई हुन्थ्यो । तर अहिले मेमोरी कार्ड, पेन ड्राईभ मार्फत कम्प्युटरमा चोरीका गीत पुग्छन् । त्यसैले गीतको बजारका खस्केको कलाकारहरु बताउँछन् । त्यसो भए किन त कलाकाहरु गीतको लागि मरिमेट्छन् त ? एक गायकले भने -’चुप लागेर बस्यो भनेर हरायो भनिहाल्छन्, दाम नभए नि नामको लागि गर्नुपर्ने बाध्यता छ ।’ Onlinekhabar

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :