‘स्कुल थिएटर’का बाल निर्देशक
Posted by
purwanews
Published on
Thursday, June 16, 2011
सुनसरीको इटहरीस्थित एसओएस विद्यालयमा भर्खर तीन कक्षामा पढ्दै गरेकी खुलालले आफैले लेखेको ‘ह्याप्पी पिकनिक’ नामक नाटकलाई स्टेजमा प्रदर्शन गरीन् । नाटकमा अभिनय गर्नुका साथै निर्देशन समेत गरिन् । भन्छिन्, ‘नाटक खेल्दा, लेख्दा र निर्देशन गर्दा रमाइलो लाग्छ ।’
दुई वर्षअघि कपाल सेतै फुलेका अग्रज कलाकारलाई मञ्चमा उतारेर नाटकको नयाँ इतिहास बनाएको कलालय नामक संस्थाले आयोजनामा इटहरीमा वैशाखको अन्तीम साता गरिएको ‘स्कुल थिएटर’ नाटक प्रदर्शनीमा खुलालसँगै एक दर्जन बालबालिकाहरुले प्रख्यात नाटककारका नाटकदेखि आफैले लेखेका नाटकहरु निर्देशन गरे । ती मध्ये सबैभन्दा कान्छी निर्देशिका थिइन् मानुषी ।
विशेषतः हाँस्यप्रधान नाटक रुचाउने खुलाललाई नाटकमा व्यापारीको अभिनय गर्न मन लाग्छ । ह्याप्पी पिकनिकमा पनि उनले व्यापारीको अभिनय नै गरेकी थिइन् । उनले लजाउँदै भनिन्, ‘व्यापारीको अभिनय गर्दा धेरै जनासँग कुरा गर्न पाइन्छ ।’
निरन्तर अध्ययन र रचनात्मक प्रतिभाको भरमा आफूमा विकास गरेको आत्म विश्वासलाई इटहरीकोे मञ्चमा राम्रै पोखिन् उनले । अन्ततः नाटक सकिने बित्तीकै धेरैको स्वाबासी पाइन् । विद्यालय, परिवार र कलाकारहरुको राम्रो सहयोग र हौसला पाएकी उनले भनिन्, ‘भविष्यमा पनि कलाकार बन्ने इच्छा छ ।’
नाटककार तथा कलाकार भनी चिनाउन चाहने पाका कलाकारहरुलाई इटहरीका एक दर्जन बाल कलाकार तथा नाटककारहरुले स्कुल थिएटर नाम दिइएको स्टेजमा उभिएर भने, ‘अब नाटकको नयाँ जन्म भएको छ ।’ कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षिया वर्षा केसीले अग्रज कलाकारहरुप्रति सम्मान दर्शाउँदै भनिन्, ‘हामीलाई उचित वातावरण र नाटक सिकाउने शिक्षक दिनुहोस् । हामी गर्छौं ।’
उनले आधा दर्जन नाटक लेखिसकेकी छिन् । इटहरीस्थित कोशी सेन्ट जेम्स कलेजमा पढ्दै गरेकी उनको विद्यालयमा शुक्रबार प्रतिभा प्रदर्शनका कार्यक्रम हुन्छन् । ‘यस पटकको लागि पनि एउटा नाटक लेखेको छु ।’ उनले भनिन् ।
इन्टरनेट, टेलिभिजनको डिजिटल संसारमा आफूलाई भुलाउन चाहने आजका बालबालिकाहरु प्रविधिप्रति एकोहोरिएका छन् । उनीहरुलाई न त समाजप्रतिको चिन्ता छ, न त सामाजिक विषयवस्तुका बारेमा नै जान्न चाहन्छन् । त्यसैले शारीरिक, मानसिक र सामाजिक विकासका लागि पनि नाटक राम्रो अवसर हो भन्ने अनुभव १३ वर्षिया अनुजा पौडेलको छ । नाटक, नृत्य र गायनमा रुची भएकी अनुजा पहिला त्यती बोल्दिनथिइन् । भनिन्, ‘अभिनय गर्न थालेपछि डर र लाज हटेको छ ।’
‘नाटकमा अभिनय गर्नको लागि के चाहिन्छ त ?’ प्रश्नमा अनुुजा भन्छिन्, ‘नाटक गर्न पहिला त आत्मविश्वास चाहिन्छ ।’ थपिन्, ‘त्यसपछि लजाउनु हुँदैन, खुलेर बोल्नुपर्छ ।’ नाटकमा अभिनयको लागि अभ्यास राम्रो चाहिनेमा जोड दिँदै उनले भनिन्, ‘तर अभ्यासमा पनि अभ्यास गरेको हो जस्तो नगरी बोल्नुपर्छ ।’ अर्का साना निर्देशक तथा कलाकार १३ वर्षिय टंक विकले भने, ‘नाटक गर्दा दर्शक तिर ध्यान पटक्कै दिन हुँदैन, नत्र बिग्रन्छ ।’
स्टेजमा आफूलाई निर्देशकको रुपमा चिनाउन पाउँदा अनुजालाई खुसी लाग्छ । अनि त्यो भन्दा धेरै ‘राम्रो अभिनय भनेर प्रसंशा पाउँदा खुसी लाग्छ ।’ अनुजाको इच्छा भविष्यमा राम्रो कलाकार बन्ने छ । अनि विक पनि अनुरोध गर्छन्, ‘मासिक वा साप्ताहिक रुपमा नाटक प्रदर्शन गर्ने वातावरण बनाइदिनुप¥यो ।’
कलालयले बालबालिकाहरुलाई नाटक सिकाउन खुला सामाजिक परिवेशलाई प्रयोग गरेको थियो । बालबालिकाहरु कहिले सडकमा निस्कन्थे त कहिले भीडमा पस्थे । अनि तोकिएको अभिनय तोकेको समयसम्म गरिरहन्थे । ‘बाल कलाकारहरु सडकमा कहिले पागलको अभिनय गर्थे त कहिले व्यापारीको ।’ कलालयका अध्यक्ष सोनु जयन्तीले अनुभव सुनाए, ‘एक पटक सडकमा रुन पठाइएका बाल कलाकारहरु पाँच मिनेटसम्म रोइरहँदा उनीहरुको वरीपरी ठूलो भीड नै जम्मा भएर फकाउन थाल्यो ।’ कोठामा गरिने अभ्यास भन्दा खुला समाजमा गरिने अभ्यास बढी उपयोगी हुने उनको भनाई छ ।
स्कुल थिएटरको लागि इटहरीका विभिन्न सात वटा विद्यालयका एक सय जना बालबालिकाहरुलाई बीस दिने खुला प्रशिक्षण दिएका जयन्तीले बालबालिकाहरुको अभिनय प्रतिभा विकास गर्न स्कुल र अविभावकले विशेष सहयोग गर्नुपर्ने बताए । उनले थपे, ‘अनि अग्रज कलाकारहरुले पनि बालबालिकालाई मार्गनिर्देश गर्नुपर्छ ।’ उनले बालिबालिकाहरुको कलाकारिता विकास गर्नको लागि नियमित अभ्यासको वातावरण बनाउन विद्यालय र अविभावकहरुसँग छलफल भइरहेको जानकारी दिए । प्रतिभालाई निखार्न तालिम तथा नाटक प्रदर्शनीका कार्यक्रमहरुको आवश्यकता रहेको जनाउँदै उनले भने, ‘नयाँ पुस्तामा सुरुवात भएको छ, सबैले सहयोग गर्नुपर्छ ।’ कार्यक्रममा सहभागि हुनकै लागि इटहरी आइपुगेका साहित्यकार अभि सुवेदीले बलबालिकाको अभिनयको प्रशंसा गर्दैै अबको नाटकलाई बालबालिकाहरुले अघि बढाउनुपर्ने विचार व्यक्त गरे ।
हिमाल दहाल
प्रतिक्रिया दिनुहोस् >>