रत्नपार्ककी रानी


‘घुम्ती निर लेट भयो, सानो मायालाई बाटैमा भेट भयो ।’
गाइनेको एकोहोरो रटानको वरीपरी दुई चार मानिस झुम्मिएका थिए । अरुले भने परैबाट भएपनि सुन्न भ्याउन्जेल गीत सुन्दै थिए । घरै घरको जंगल काठमाडौमा पनि रत्नपार्कको दैनिकीमा अभ्यस्त नभइसकेको म भने एउटा सानो परिधिभित्रको संसार देखेर अचम्मित थिएँ ।
तीन दिनको बसाईँपछि इटहरी फर्कने तयारीमा थिएँ म । हातमा निकै थोरै तर पट्यारलाग्दो समय थियो । त्यती थोरै समयमा न त कुनै साथीलाई भेट्न सकिन्थ्यो, न त आफन्तहरुलाई नै भेट्न सकिन्थ्यो । त्यसैले छोटो समयका लागि आफूलाई भुलाउने बहाना खोज्दै एक्लै लतारिएको थिएँ रत्नपार्कमा । स्वेटर र त्यसको माथि ज्याकेटले समेत नथाम्ने हो कि भन्दै मैले जाडोलाई आफ्ना दुई मुठिभित्र कैद गर्न खोजेँ । नसकेपछि घाम भएतिर लागेँ ।
घामलाई पछ्याउने क्रममा नदेखेरै कसैलाइ धक्का दिन पुगेछु । ‘सरी’ माफि मागेँ । कुनै प्रतिक्रिया आएन । यसो अनुहारमा हेरेँ । लामो कपाल, अल्छी लाग्दो गरी पोतिएका गाजल र टिलिक्क टल्कने गरी लगाइएको लिपिस्टिकले त्यो मानिस नभएर कुनै कलाकारको मूर्ती पो हो कि जस्तो लाग्यो । मैले हेरेको देखेपछि उसले पनि म तिर हेरी ।
‘धत् ।’ किन किन यसै भन्न मन लाग्यो । तर सोँचे मात्र । मैले तुरुन्तै आँखा झुकाएँ । तर उसले मलाई हेरीरही । त्यस्तै २५–३० की हुँदी हो । उमेर अनुमान गर्नमा कमजोर छु म । मैले एक मिनेट उसलाई हेरेको थिएँ । उसले पाँच मिनेट नियाली मलाई । ‘बेकार हेरेछु ।’ सोचेँ । विना चिनजान उसको एकोहोरो हेराइबाट म दिक्क भएँ ।

––––
‘ल बीस बीस बीस ... ।’ मोजा बेच्न बसेका मानिसहरु यसैगरी कराउन थालेँ । ‘ल पाँच सय पचास पाँच सय पचास ... ।’ अर्को तिर जुत्ताको भाउ अन एअर थियो ।
मैले भने एअरफोन कानमा घुसारे अनि गीत सुन्न थालेँ । ‘चटपटे चटपटे ।’ कराउँदै एउटा आयो । मैले मुन्टो हल्लाएँ । उसले मुन्टो बटा¥यो ।
‘आज गाडी चढ्छु ।’ कसैले गरेको फोनमा मैले त्यो बेला दिएको उत्तर । काठमाडौं बसाइ रमाइलै भएपनि कामको चाप सम्झेर घर फर्कने ध्याउन्नमा थिएँ म ।
‘तराई तिर त त्यती जाडो छैन होला ।’ मेरो छेवैमा बसेर मेरो फोन वार्तालाई ध्यान दिएर सुनिरहेको एउटा मानिसले मलाई सोध्यो । मैले उसको कुरामा सही थापिदिएँ ।
एक किसिमले पट्यारलाग्दो त्यो क्षण रमिताको हिसाबले ठीक थियो । समग्र नेपाल एउटा काठमाडौंमा छ भने समग्र काठमाडौ रत्नपार्कमा जम्मा हुन्छ । बदाम खान्छ । सुन्तला चबाउँछ र प्रेम, परिवार र परिश्रमका कुरा गर्छ । रमाइलो छ । हरेकमा पृथकता छ । ठाउँ एउटा तर भेला भएका मानिसहरुको व्यवहार र सोचाई कति फरक । कोही बदाम बेच्छन् । अनि कोही बदाम खाँदै जग्गाको कारोबार गर्छन् । फुटपाथदेखि महलसम्मका मानिसको समय बिताउने ठाउँ, रत्नपार्क ।
‘मैले चालिस सालमा पहिलो किताब निकालेँ, उपन्यासको । निकै राम 81;ररी चल्यो ।’ नजिकैको बेन्चमा सेतै फुलेका एक वृद्ध गफ दिँदै थिए आफ्नो विद्वताको । उनको भनाईमा उनले एक दर्जन जति पुस्तक लेखिसकेका छन् । तर उनले नाम लिएका मध्ये कुनै पुस्तकको नाम मैले सुनेको थिइँन । ‘कथा लेख्न गाह्रो छैन । म तपाइँको टेलिफोन वार्ताको आधारमा समेत कथा लेख्न सक्छु ।’ उनले भने, ‘गफ दिएको होइन, वास्तवमा जहाँतहिँ कथाका चरित्र र घटनाहरु छन् ।’
‘फुर्सद हो ?’ कथाकारको भनाईमा लठ्ठ परिरहेको समयमा अनायासै त्यही अनुहारले मलाई सोध्यो ।
‘किन ?’ आँखी भौ खुम्च्यिाउँदै मैले सोधेँ ।
‘कतै जाउँ न ।’ उसले प्रस्ताव राखी । म झस्केँ । साथीले भन्थ्यो, ‘रत्नपार्कका रानीहरु ।’ मैले चिनेँ । आँखा तर्दै कुनै उत्तर नदिइकन म त्यहाँबाट निस्केँ ।
––––
‘के को साँचो डल्ली रेसम फलामको साँचो ... ।’
रत्नपार्कबाट बाहिर निस्किएर एउटा होटल तिर छिरेँ । किनकी एक्लै एक्लै रत्नपार्कमा लामो समय बिताउन सहज छैन । त्यसमा पनि बेच्ने र बेचिनेहरुको एक पछिको अर्को प्रस्तावले दिमाग नै थिलथिलो होला भन्ने त्राहिमाम् । अनि होटलको टेबल नं. २० मा बजेको यो गीत नचाहेरै पनि सुन्न पुगेँ, ‘... तिमीहरु जस्तो नक्कली मैयाँ हाम्लाई के को खाँचो ।’
दुई प्लेट मःमः त्यो टेबलमा आइपुग्यो । मेरो लागि भने चिया ।
‘कति कारोबार भयो आज ?’ त्यो टेबलमा बसेको एउटाले अर्कोलाई सोध्यो ।
‘थाहा छैन । फोन नै लागिरहेको छैन ।’ उसले भन्यो, ‘अनि तेरो ?’
‘थाहा छैन ... फोन नै उठाउँदिन त्यसले ... भेटे भने काट्छु ... आफूलाई भने पैसाको कस्तो खाँचो भइराँछ ... त्यो भने पैसा बोकेर कुन चाहिँ ... सँग भागेकी छे ।’
‘यो मान्छेको व्यापार पनि ... साला ... बेकार थालिएछ । यौटा भर छैन यी .... हरुको ।’ एउटाले भन्यो ।
‘भर भएको भए यस्तो काममा लाग्थे तिनिहरु पनि ?’ अर्कोले प्रतिवाद ग¥यो ।
फोन नउठेको दिक्दारीमा उसले तथानाम गाली ग¥यो । ‘...’ मैले सोँचे, अघिको कथाकारले थाहा पायो भने, यो मान्छेले बोलेका कुराहरुको पनि कथा लेख्थ्यो होला । अझ यिनीहरुको व्यवशायको सुईँको पायो भने त झन् ... रत्नपार्कका रानीहरुको ठेकेदार थिए ती ।
–––
बसपार्कमा बस कुरिरहेको थिएँ । घडी हेरेँ, अझै आधा घण्टा लाग्छ बस आइपुग्न । अनि चिया पसलतिर हान्निएँ । ठेलामा बनाइएको तातो चियालाई जाडोले झण्डै कठ्याङ्ग्रिएका दुई हातले च्याप्प समातेँ । ‘पैसा छैन भने खान पाउँदिनस् ।’ पसल्नीले सिधै हकारी । मैले गाली खाने मानिस तिर हेरेँ । त्यही अघिको अनुहार । त्यही आँखा अनि त्यही ओठ, त्यही मानिस । मतिर हेरी अनि मुस्कुराई । तर उसको मुस्कुराहटमा कुनै आकर्षण थिएन । पात झरेको रुख झैं ।
त्यस्तै तीन चार मिनेट जति समय बितेको थियो होला । त्यस ठाउँमा दुई जना केटाहरु आइपुगे । जंगली युगका मानिस झै । उसलाई तानेर छेउमा लगेँ अनि कुरा गरे । तुरुन्तै त्यहाँबाट तीनै जना बेपत्ता भए । चिया सकिएपछि म पनि गाडी चढेर हिँडे ।
–––
 इटहरी झरिसकेपछि बिहानको खबर जान्नका लागि म पत्रिका पसलतर्फ गएँ । एउटा राष्ट्रिय दैनिक पल्टाउँदै जाँदा एउटा पानामा देखेको फोटोले मेरो ध्यान तान्यो । रत्नपार्कमा देखेको त्यही अनुहार थियो त्यहाँ । तस्वीरमा उसका आँखा बन्द थिए । लेखिएको थियो, ‘पुलमुनि युवतीको लास’ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :