भित्तेपत्रिकामा विद्यार्थीहरुको रुची
इटहरी, पुस ९
बाक्लो कार्डबोर्डमा रंगीचंगी अक्षरले लेखिएका छन् । ठाउँ ठाउँमा कार्टुन र तस्वीरका कटिङले सजाइएको छ । सम्पादकिय र अन्तर्वार्ता संगै गीत, कविता र कथाहरु समेत लेखिएका भित्तेपत्रिकाहरुले सुनसरीको हाँसपोसास्थित सयपत्रि स्कुलका विद्यार्थीहरुको सिर्जनशीलता प्रस्तुत गरेको थियो ।
भित्तेपत्रिका मार्फत सृजनशील कार्य गरिरहेका सुनसरीको हाँसपोसा स्थित सयपत्री स्कुलका विद्यार्थीहरुश्रालई प्रेोत्साहित गर्न स्कुलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी भित्तेपत्रिका प्रकाशनमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।
विद्यालयमा कक्षा ७ देखि कक्षा १० सम्म भित्तेपत्रिका निकाल्ने विद्यार्थीहरुमध्ये विभिन्न विधामा उत्कृष्ठ बीस जना विद्यार्थीहरुलाई पुरस्किृत गरिएको हो ।
विद्यालयमा कक्षा सात देखि १० सम्मका विद्यार्थीहरुले भित्तेपत्रिका प्रकाशन गर्दै आएका छन् । भित्तेपत्रिकाले विद्यार्थीभित्र लुकेको प्रतिभाको विकास गर्नेगरेको कक्षा ९ कि विद्यार्थी लक्ष्मी राईले बताइन् । उनले शिक्षक र विद्यालयले विद्यार्थीको प्रतिभा विकासका कार्यमा सहयोग गर्नुपर्ने र त्यो वातावरण आफूले पाएकोमा खुसी समेत व्यक्त गरिन् । पत्रिका प्रकाशनले साथीहरुमा मिलेर काम गर्ने क्षमताको विकास भएको कक्षा १० सुरेशको धारणा छ । उनले विद्यार्थी र शिक्षक बिचको दुरी कम गर्न समेत पत्रिका ले सहयोग गरेको बताए ।
भित्तेपत्रिकाले आफ्नो सिर्जनशीलता बढाएको विद्यार्थी सर्वधन राईले बताए । उनले भित्तेपत्रिका निकाल्दा पढाइमा खासै असर नगर्ने समेत बताए । ‘सबै मिलेर गर्ने हो ।’ उनले भने, ‘थोरै थोरै काम गर्दा धेरै हुन्छ ।’
यता विगत एक वर्षदेखि विद्यार्थीहरुलाई भित्तेपत्रिका प्रकाशनको लागि प्रेरित गर्दै आएका शिक्षक ज्ञानेन्द्र सुनुवारले विद्यार्थीहरुको शैक्षिक साथै अतिरिक्त क्षमता विकासको लागि समेत विद्यालयले पत्रिका प्रकाशन जस्तै सिर्जनशिल कार्यमा सहयोग गर्नुपर्ने बताए । घोक्ने भन्दा गरेर सिक्ने पद्धतीको विकास हुनुपर्ने जनाउँदै भित्ते पत्रिका प्रकाशनले विद्यार्थीहरुमा साहित्यिक प्रतिभा विकासको लागि सहयोग गर्ने बताए । उनले विद्यार्थीहरुलाई अझ स्तरीय तालिमको लागि प्रेरित गर्ने समेत बताए ।
विद्यार्थीहरुको उत्साहलाई देखेर विद्यालयका प्रिन्सिपल नगेशचन्द्र राई समेत खुसी छन् । उनले विद्यालयले विद्यार्थीको प्रतिभा विकासको लागि आवश्यक वातावरण तयार गर्नुपर्ने बताए । उनले सञ्चार क्षेत्रका अग्रजहरुले समेत सञ्चार र पत्रकारिता सिक्न चाहने विद्यार्थीलाई आवश्यक मार्गदर्शन गर्न आग्रह गरे । उनले भित्ते पत्रिका प्रकाशनले विद्यार्थीको शिक्षा र साहित्यिक प्रतिभाका साथै समाजसँग जोडिएका विषयवस्तुको बारेमा समेत बुझ्न सहयोग गर्ने बताए ।
उनले भित्तेपत्रिका प्रदर्शनको लागि बोर्डको समेत व्यवस्था गर्ने बताउँदै विद्यार्थीको प्रतिभा विकासको लागि विद्यालयले सक्दो सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस् >>