प्रमुख शहरमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी
Posted by
purwanews
Published on
Thursday, December 2, 2010

इटहरी, १६ मंसिर
ट्राफिक प्रहरीलाई झुक्याएर सवारी नियम मिच्दै सवारी चलाउने चालकहरु अब सचेत हुने बेला भएको छ । प्रहरीलाई झुक्याएँ भन्दै खुसी हुने समय अब चाँडै नै समाप्त हुँदैछ ।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि तथा बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न पुर्वाञ्चलको विभिन्न स्थानहरुमा सीसीटीभी जडान गर्नेबारे पुर्वाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयले तयारी थालेको छ ।
ट्राफिक कार्यालयका पुर्वाञ्चल प्रमुख डिएसपी विमल बस्नेतले पुर्वाञ्चलको विराटनगर र इटहरीमा सुनसरीको इटहरीका विभिन्न स्थानहरुमा सीसीटिभी जडान गर्न लागिएको जानकारी दिए ।
१७ लाख रुपैयाको लागतमा मोरङको विराटनगरमा एक दर्जन सीसीटिभी जडान गर्ने तयारी भइसकेको जानकारी दिँदै बस्नेतले इटहरीमा समेत प्रारम्भिक रुपमा चार स्थानमा सीसीटिभी जडान गर्न लागिएको र सोको लागि नागरिक समाज, प्रहरी, दलहरुसँग छलफल थालिएको समेत जानकारी दिए । प्रारम्भिक रुपमा दुई वटा शहरहरुमा गरीएको यो व्यवस्था सफल भएमा अन्य शहरहरुमा समेत लागु गरिने जानकारी दिए ।
क्यामेराले तीव्र गतीमा कुदेको सवारीको समेत नम्बर स्पष्ट रेकर्ड गर्न सक्ने हुँदा ट्राफिक नियम उल्लंघन गर्ने तथा आपराधिक गतिविधी गर्ने सवारी साधन तथा व्यक्तिकोृ पहिचान गर्न सहयोग हुने जनाइएको छ । ‘इटहरी चौकको कुन कुनामा कस्तो घटना घट्यो भनेर एउटै कोठाबाट अनुगमन गर्न सकिने हुँदा सिसिटिभी आजको आवश्यकता बनेको छ ।’ बस्नेतले भने ।
हल इटहरीको चौक क्षेत्रको अनुगमनकालागि गोरखा डिपार्टमेन्ट स्टोरले स्टोर भवनमा राखेको सिसिटिभीलाई नै इटहरीका सुरक्षा निकायहरुले प्रयोग गरिरहुेका छन् । नयाँ जडान गरिने सीसी टिभीलाई सुरक्षा निकायहरुले आफ्नो इच्छानुसार प्रयोग गर्न सकिने हुँदा बढी प्रभावकारी हुने जनाइएको छ ।
विहीबार इटहरीमा आयोजना गरीएको नगरस्तरीय सर्वपक्षीय बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन गरिएको प्रस्तावलाई सहयोग गर्ने जनाएको छ । इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेश दाहालले सुरक्षा व्यवस्था प्रभावकारी बनाउनको लागि सीसीटिभीले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सबैको सहयोग भएमा सीसीटिभी जडान गरेर नगरविकासका कामलाई समेत व्यवस्थित बनाउन सकिने बताए ।
यता उपभोक्ता मञ्चका नगर अध्यक्ष नारायणबहादुर श्रेष्ठले सीसीटिभी जडान गरेपछि आपराधिक घटना घट्ने बताए । सीसीटिभीको क्षेत्रभित्र गरिएका गतिविधि रेकर्ड हुने भएकाले नराम्रा कार्यहरु निरुत्साहित हुने जनाए ।
नागरिक समाजका नगर अध्यक्ष जगदीश वलीले प्रस्ताव राम्रोृ भएकाले उद्योगी, व्यवशायी तथा नागरिकको सहयोग जुट्ने विश्वास व्यक्त गरे । सीसीटिभी जडान गर्ने ट्राफिक कार्यालयको प्रस्तावलाई विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वागत गरेका छन् । केही दिनभित्रै क्यामेराको लागत विवरण तयार पारी निर्णय गरिने बस्नेतले बताए ।
यातायात कार्यालयको अधिकार अब ट्राफिकलाई
अबदेखि ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले पाँच हजार सम्म जरिवाना गर्नसक्ने अधिकार पाएको छ । डिएसपी बस्नेतले मेची, कोशी र सगरमाथा अञ्चलका यातायात व्यवस्था कार्यालयको संयुक्त बैठकले ट्राफिक प्रहरीलाई सो अधिकार दिएको जानकारी दिए । यस अघिसम्म पचास रुपैया देखि दुई सय रुपैयासम्म मात्र जरिवाना गर्ने अधिकार ट्राफिक कार्यालयलाई थियो । जरिवाना न्युन भएका कारण नियम उल्लंघन गर्ने क्रम नरोकिएकोले अधिकार मागिएपछि यातायात कार्यालयले आफ्नो अधिकार प्रहरीलाई दिएको हो । पक्राउ गरिएका सवारी साधनहरुबाट अधिकतम जरिवाना तिराउन यातायात व्यवस्था कार्यालयलाई बुझाउनुपर्ने नियम थियो । यातायातले अधिकतम पाँच हजार रुपैयासम्म जरिवाना तिराउन सक्ने प्रावधान रहेकोृमा अब ट्राफिक प्रहरीले नै जरिवाना तिराउने अधिकार पाएपछि जरिवाना असुली अझ प्रभावकारी रुपमा अघि बढाइने बस्नेतले बताए ।
विहीबारको बैठकमा नागरिक समाजका वलीले ब्रेथलाइजरको प्रयोग गरी सवारी चालकले मादक पदार्थ खाए नखाएको जाँच गर्न समेत ट्राफिक प्रहरीलाई अनुरोध गरेका थिए । जवाफमा डिएसपी बस्नेतले मादक पदार्थ खाएर सवारी चलाउनेलाई गर्न सकिने कारवाहीको बारेमा नियममा उल्लेख नभएका कारण समस्या उत्पन्न भएको जानकारी दिए ।
यस्तै सवारी ऐनमा नै नरहेको तीन पाङ्ग्रे ‘बसन्ती’ सञ्चालन रोक्नुपर्ने माग समेत बैठकमा गरिएको थियो । सुनसरीमा निर्वाध सञ्चालन भइरहेका वसन्तीको सञ्चालन रोक्नको लागि प्रमुख जिल्ला अधिकारीले नै साहस नदेखाएका कारण केही गर्न नसकेको बस्नेतले जवाफ दिएका थिए । नियमविपरीत सञ्चालन गरिएका वसन्ती सञ्चालन रोक्न प्रमुख जिल्ला अधिकारीले आदेश दिएमा तत्काल सबै सवारी नियन्त्रणमा लिइने समेत बस्नेतले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस् >>