मञ्जुको अचम्मको बैंक
Posted by
purwanews
Published on
Tuesday, November 30, 2010

‘सानो तिनो रकमका लागि हामीलाई पत्याएनन् ।’ इटहरी ८ की मञ्जु रिमालले भनिन्, ‘हुनेहरुबाट सरसापटी नपाएपछि हामीले सामुहिक बचत गर्न थाल्यौं ।’
रिमाल शारीरिक रुपमा अपाङ्ग छिन् । उनमा असहजता छ । तर उनको आत्मविश्वास र उनले गरेका काम भने पत्याइनसक्नु छ । उनको एउटा बैंक छ– ‘हाटखोला सामुदायिक बैंक ।’
आफ्ना छरछिमेकीहरुलाई समेटेर उनले ५४ सालमा स्थापना गरेको बचत बैंक १३ वर्षको किशोर भइसकेको छ । उनको बैंकमा बचत गरेर धेरैले आफ्नो दैनिक साह्रो गाह्रो र व्यापारलाई सहज बनाएका छन् । तर उनको बैंक भने आज पनि उनका तीन वटा खातामा सिमित छन् । सिसाकलमले खातामा लेखेका अंकहरु देखाउँदै उनले भनिन्, ‘बैंकलाई बढाउन खर्चको पनि छेकबार छ ।’
उनको बैंकले १३ वर्ष पार गरिसक्दा इटहरीमा थुप्रै परिवर्तन आइसकेका छन् । बडेमानका गगनचुम्बी भवनहरु बनिसकेका छन् । चप्पल लगाएर हिड्ने मानिसहरु आलिसान भवनका मालिक भएका छन् । यो १३ वर्षको समयावधिमा नेपालमा दर्जनौं बैंकहरु खुलीसकेका छन् भने ती बैंकले नाफा कमाउँदै आफ्ना शाखा विस्तार गरिसकेका छन् । तर उनको बैंक भने स्थापनाकालदेखि नै उनको कोठामा सिमित छ ।
बैंकमा अहिले ४० जना सदस्यहरु छन् । अधिकांश निम्न वर्गका परिवार छन् । इटहरीको मुख्य चौकमा जुत्तामा पालिस लगाइदिने काम गर्दै आएका तीन जना व्यक्तिहरु पनि उनको बैंकमा पैसा जम्मा गर्छन् । उनी भन्छिन्, ‘निम्न वर्गिय परिवारको प्रतिनिधित्व गर्ने बैंक हो यो ।’
उनको बैंकमा अहिले सात लाख रुपैयाको हाराहारीमा रकम जम्मा भएको छ । साप्ताहिक रुपमा बचत हुन्छ । नियमित लगानी परिचालन पनि हुन्छ । उनका अनुसार सबै सदस्यहरु मिलेर काम गरेका छन् । सबैमा अनुशासन छ । त्यसैले १२ वर्ष बितिसक्दा पनि उनको बैक चलि नै रहेको छ । निरन्तर । तर उनको बैक दर्ता भने छैन । उनी बैंकलाई दर्ता त गर्न चाहन्छिन् । तर त्यसो गर्दा लागत बढ्ने उनी बताउँछिन् । नवीकरण गर्न र नयाँ खाता किन्न कै लागि थुप्रै रकम चाहिन्छ । उनले भनिन्, त्यो जुटाउन नसकिने भएकोले दर्ता गरिसकेको छैन ।
बैंकलाई स्थापित गराउन उनको समुहले के मात्र गरेन । विभिन्न व्यवशायमा लगानी परिचालन ग¥यो । लेटाङबाट तोरी ल्याएर पेलेर तेल बेचेको इतिहास छ । आलुचिप्स बनाएर बेचेर संस्था चलाएका ती दिनहरु उनको आँखा अगाडी अहिले पनि नाचिरहेका छन् ।
तर बजारको समस्या भयो । उनले भनिन्, बजार नपाउँदा हाम्रा उत्पादनहरुले निरन्तरता पाउन सकेनन् । ग्राहकहरु राम्रो प्याकेजिङको सामान खोज्ने उनको अनुभव छ । प्रतिष्पर्धा गर्न नसक्दा आफूहरुले उत्पादनका कार्य बन्द गर्नुपरेको उनी बताउँछिन् ।
बैंकले बचत र लगानी परिचालन मात्र गर्दैन । त्यसबाहेक बेला मौकामा विभिन्न सामाजिक कामहरु पनि गर्ने गरेको छ । एकले अकोृलाई परेको बेलामा मद्दत गर्छन् । समाजमा देखिएका विकृती तथा विसंगतीहरुलाई समाधान गर्न उनको बैंक सक्रिय छ ।
हालै बैंकको सक्रियतामा स्थानिय बालबालिकाहरुको प्रतिभा प्रदर्शन र विकासका लागि मनोक्रान्ति बाल विकास केन्द्रको स्थापना गरिएको छ । बालविकास केन्द्रमा बालबालिकाहरु भेला हुन्छन् र रमाउँछन् । ‘आफ्ना सन्ततीहरुको लागि पनि केही दिने चाहना राख्ने बैंकको प्रयास साँच्चिकै सह्रना गर्न लायकको छ ।’ मनोक्रान्ति बालबालिका तथा अपाङ्ग विकास केन्द्रका अध्यक्ष सरोज कार्कीले भने । बालविकास केन्द्रमार्फत् बालबालिकामा सामुहिक भावनाको विकास हुने उनी बताउँछन् ।
रिमाल अहिले अपाङ्ग, असहाय वृद्ध सेवा केन्द्रकी अध्यक्ष छिन् । सो लगायत विभिन्न संस्थाहरुमा सक्रिय छिन् । फुटपाथमा रहनेले पनि दुई छाक खान पाउनुपर्छ । उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस् >>