सरकारका मन्त्री घटेको घट्यै


नयाँ रेकर्ड तोडेको पाँच महिना नपुग्दै दोस्रो स्थानमा
१४ चैत, काठमाडौं । कात्तिक २७ गते इतिहासकै सबैभन्दा ठूलो ४९ सदस्यीय मन्त्रिपरिषद गठन गरेर जम्बो बनेको भट्टराई सरकारका मन्त्रीहरुले पछिल्ला दिनमा कुर्सी छाड्नु परिरहेको छ ।
पछिल्लोपटक कृषिमन्त्री नन्दनकुमार दत्तको बर्खास्तीसँगै मन्त्रिपरिषदको संख्या ४७ मा झरेको छ । जुन २०५६ सालमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको भन्दा एकले कम हो । त्यो बेला मन्त्रिपरिषद ४८ सदस्यीय थियो ।
सरकारको नेतृत्व गरेको ७ महिना कटेको यसबीचमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चारजना मन्त्रीलाई हटाउनुपर्यो । दुईजनालाई विपक्षीको दबाबमा, एकजनालाई आफैंले र अर्का एकजनालाई सत्तारुढ दलकै दबाबमा । अर्का एकजना भ्रष्टाचारको आरोपमा जेल गएपछि स्वतः हट्नुपर्यो ।
जम्बो मन्त्रिपरिषदको गठन कात्तिकको अन्त्यमा भएको थियो । त्यसअघि कात्तिकको शुरुमै उहाँले दुईजना मन्त्रीलाई हटाउन बाध्य हुनुपर्यो । राष्ट्रियताको विषयमा विवादास्पद अभिव्यक्ति दिएका रक्षामन्त्री शरदसिंह भण्डारी र हत्या अभियोगमा मुछिएका प्रभु साहलाई हटाउन विपक्षी दलहरुले चर्को दबाब दिए । चारपटक त व्यवस्थापिका संसदको बैठक नै अवरोध भयो । अनि भट्टराई दुई मन्त्रीलाई हटाउन बाध्य हुनुभयो ।
दुईजना मन्त्रीलाई हटाएको महिनादिनपछि भट्टराई जम्बो मन्त्रिपरिषद गठन गर्दा भण्डारीको ठाउँमा नयाँ रक्षामन्त्री बनाइएन । गृहमन्त्री विजयकुमार गच्छदारलाई नै त्यसको जिम्मेवारी दिइयो, जुन अहिले पनि कायम छ । विपक्षीको दबाबमा भण्डारी र साहलाई हटाउन बाध्य भएका भट्टराईलाई पछिल्लोपटक सत्तारुढ दलकै किचलोले अर्का एकजना मन्त्रीलाई हटाउन बाध्य हुनुपर्यो । मधेसी जनअधिकार फोरम गणतान्त्रिकभित्रको विवाद र किचलोका कारण कृषि मन्त्री नन्दनकुमार दत्तलाई हटाउन उहाँ बाध्य हुनुभएको हो ।
पार्टीका बहुमत सदस्यले हटाउन सिफारिस गरेपछि सम्बन्धित मन्त्रीलाई सोध्दै नसोधी उहाँले सोमबार राति हटाउने निर्णय गर्नुभएको हो । यसअघि १० गते मात्रै उहाँले श्रममन्त्री सरिता गिरीलाई हटाउनुभएको थियो । बैदेशिक रोजगार विभागमा सुधारका काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाएकोमा रुष्ट बनेका प्रधानमन्त्रीले गिरीलाई बर्खास्त गर्नुभएको हो । भ्रष्टाचारको अभियोग पुष्टी भएपछि तत्कालिन सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता गएको फागुन ९ गते मन्त्री पदबाट स्वतः बर्खास्त भए ।

तत्काल थपिने सम्भावना छैन
श्रममन्त्रीमा सरिता गिरीलाई हटाउने बित्तिकै उतिबेलै मालवरसिंह-एमएस) थापालाई नियुक्त गरेका प्रधानमन्त्रीले संचार र कृषिमा भने तत्काल मन्त्री नियुक्त गर्न सक्नुभएको छैन । सञ्चारमन्त्री रहेका पार्टी अध्यक्ष गुप्ता जेल गए लगत्तै फोरम गणतान्त्रिक रानीबिनाको मौरी जस्तो हालतमा छ । गुप्तापछि पार्टीका सहअध्यक्ष राजकिशोर यादव र संसदीय दलका उपनेता नन्दनकुमार गुप्ताबीच माऊ नेता को भन्ने हानथाप चल्यो । जसको कारण पार्टीभित्र मनमुटाब बढ्यो ।
यसकै कारण सञ्चारमन्त्रालय मन्त्रीविहीन भएको महिना दिन हुँदासम्म फोरम गणतान्त्रिकले नयाँ नाम सिफारिस गर्न सकेन । हुँदै जाँदा आफ्नो भागको कृषि मन्त्रालय भने खाली भयो । प्रधानमन्त्रीले गणतान्त्रिकको भागमा रहेको दुई मन्त्रालयमा बाहिरबाट मान्छे ल्याउन पनि सक्नुहुन्न । फोरम गणतान्त्रिकको किचलोले छिटै नयाँ नाम आउने सम्भावना पनि छैन । onlinekhabar/ chaitra 15


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :