तीजको लहर आयो बरी लै
Posted by
purwanews
Published on
Wednesday, August 24, 2011
बैंकले मनायो अनाथ र वृद्धसँग तीज :
प्राय: सोच्छन्, वित्तीय कारोबार अनि नाफा घाटाको हिसाबकिताब मात्र बैंकहरुको काम हो । तर बुधबार सुनसरीको इटहरीस्थित बैंक अफ एसियाले अनाथ बालबालिका तथा वृद्धवृद्धासँग तीज मनाएर सामाजिक कार्य मात्र गरेन, बरु व्यवशायीक संस्थाहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न समेत प्रेरित गरेको छ ।
विभिन्न समयमा विभिन्न किसिमबाट सामाजिक कार्य गर्दै आएको बैंकको इटहरी शाखाले इटहरीस्थित अनाथ आश्रमका बालबालिका तथा रामजानकी वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई दर खुवाएर लामो समयदेखि गर्दै आएको समाजसेवालाई निरन्तरता दिएको हो । इटहरीका अनाथ बालबालिकाहरुसँग नाच्दै बैंक कर्मचारीहरुले रमाइलो गर्दा बालबालिकाहरुसमेत खुसी देखिन्थे ।
तीज नै तीज
तीजको रमझमले सुनसरीलाई झपक्कै छोप्यो । सुनसरीको इटहर, इनरुवा, दुहबी, तरहरा, धरानमा विभिन्न समुहले विभिन्न तरिकाले तीज मनाए ।
सुनसरीको इटहरी, धरान, दुहबी लगायतका ठाउँमा जेसिजले तीज मनाए । लेडी जेसिजले विभिन्न ठाउँमा भेला भएर नाचगानका साथ तीज मनायो भने एमाले, काँग्रेस निकट महिलासमुहरुले समेत सार्वजनिक ठाउँमा भेला भएर नाचगानका साथ सुनसरीका विभिन्न स्थानमा तीज मनाएका थिए ।
तीजको रौनक गतवर्षभन्दा बढेतापनि गहनाको मुल्यवृद्धिका कारण अघिल्लो वर्षको जस्तो गहना लगाएर कमै मात्र हिडेका देखिन्थे ।
यस्तो पनि देखियो : तीजको साँस्कृतिक कार्यक्रमका बिच लुकेर प्यास मेटाउँदै राजविराजकी एक ब्रतालु महिला । कार्यक्रम विहीबार राजविराज जेसीजले गरेको थियो । तस्विर : मनोहर पोखरेल / सप्तरी |
अधिराज्यभर तीज पर्व मनाएर सम्पूर्ण नेपाली महिलाहरुले हर्षोल्लास मनाई रहेको बेला यता सुनसरीको हाँसपोसा २ तरहराको अधिकारी परिवार भने शोकमा डुबेको छ ।
काठमाण्डौवाट घरमा तीज पर्व मनाउनका लागि उत्साह र उमङ्ग बोकेर मोटरसाईकलमा आउँदै गरेका अधिकारी परिवारका तीन जना बसको ठक्करबाट चन्द्रनिगाहपुरमा मंगलबार राती मृत्यु भएपछि अधिकारी परिवारले तीज मनाउन नसकेको हो । अधिकारी परिवारसँगै उनका छरछिमेकीले समेत तीज मनाउन सकेनन् ।
बा १ ख ९०१४ नम्बरको मकालु ट्राभल्सको बसले २८ वर्षीय सरोज अधिकारी, उनकी श्रीमती २४ वर्षीया नानु अधिकारी र अढाई वर्षीय छोरा आयुष चढेको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु सबैको मृत्यु भएको थियो । छोराबुहारी र नातिको दुर्घट्नामा मृत्यु भएको खबरले वुवा लोकनाथ अधिकारी र आमा दुर्गा अधिकारी अर्धचेत छन् । छोरा बुहारीको शवलाई बाग्मतीमा दाहसंस्कार गर्ने परिवारले जनाएको छ ।
दर खाएर बिरामी :
उत्तरी मोरंगको लेटाङमा तीजको दर खाँदा १३ जना बिरामी भएका छन् । लेटाङ ४ खेरुवाका बालबालिका, महिलासहित १३ जना बिरामी भएका हुन् । उनीहरुको स्थानिय सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको स्थानिय अन्जु निरौलाले जानकारी दिनुभयो ।
यसरी बिरामी हुनेहरुमा दिक्षित खोकेल, दिक्षा खोकेल, रेनु खोकेल, जुनु पौडेल, अनिल बुढा, विमला बुढा लगायत छन् । राती दर खाएका उनीहरुलाई राती नै वान्ता हुने र टाउको दुःख्ने भएपछि अस्पताल भर्ना गर्नुपरेको थियो ।
तीजको लहर आयो बरी लै
तीज आयो माइत जाने पालै मेरै हो
माइतीको आँगन नटेकेको साह्रै धेरै भो’
तीजको गीतमा कम्मर मर्काइ–मर्काइ नाचिरहँदा छेवैमा बसेकी वृद्ध मनमाया ताली बजाउँदै रमाईरहेकी थिइन् ।भर्खरका नवयौवनादेखि मध्यवैसवाला अनि वृद्धासम्मको बाक्लो उपस्थिति कम्ता रमितलाग्दो होइन ।
यो दृश्य गए शुक्रबार पिण्डेश्वरमा तीजको गीत छायाङ्कन हुँदाको क्षणको हो । मन्दिरमा पतञ्जली योग समिति सुनसरीले यो साइत जुराइदिएको हो । तीज आँगनमा भित्रिन
लाग्दै रमझम सुरु भएको छ । मूलतः तागाधारी महिला विशेष हुने चाडमा सबै जातिका महिलाहरूको सहभागीता उस्तै छ ।
सुन्दर अनि फेशनेबल सहर धरानमा अहिले तीजको छुट्टै रनौक छ । तीजको गीत महिला दिदीबहिनीहरुका लागि कर्णप्रिय बनेका छन् । यसले महिलाहरुको रमाइलो चाड हरितालिका तीजको चहलपहल गाउँदेखि सहर बजारसम्म छाइरहेको छ ।
महिलाहरु राताम्मे पहिरनमा साडी चोलोमा सजिएर तीजमा आनन्दित बन्दछन् । पूर्वाञ्चलको तीजका रमझमलाई स्थानीय एफएम र टेलिभिजनहरुमा निरन्तरगुञ्जिएका छन् । पसलहरुमा
तीजका समान किन्नेहरुको घुइँचो बढेको छ । रातो पहिरन हरियो तिलहरी र गरगहनाले
गला सजिएका छन् ।
हिन्दु नारीहरुको यस चाडमा अरु जातिका महिलाहरु हौसिएर सौहाद्र्रता प्रकटमात्र गरेका छैनन्, बहुजातीय समृद्धिसमेत थपेका छन् । आफ्नो पतिदेवको दीर्घायुको कामना गर्ने चाड तीज हो । साउनभरि सोमबारे व्रत बस्दैआएका छन् । धरान– १० की विजिता अधिकारी तीजको तामझामसहित माइत जाने सुर कसेको बताउँछिन् । तीजको गीत रेडियोमा सुनेपछि माइतघरको सम्झना अघोरै
सताउने सुनाउँछिन् । ‘तीजकै बेला हो माइत जाने अरु बेला पाइदैन’, भन्छिन् ।
धरान– १९ की विमला देवान पनि यस पटक तीजमा व्रत बस्ने विचारमा छिन् । यो चाड त हिन्दु महिलाहरुको चाड हो नि ? भन्ने पंक्तिकारको प्रश्नमा उनले भनिन््– ‘यस्तो चाड पर्व कसैको लागि व्यक्तिगत हुँदैन सबैले मान्न सक्छन् ।’
तीजलाई बढी आकर्षक तुल्याउन स्थानीय बुटिकहरूले फेशनेवल पनि बनाएका छन् । भानुचौक रत्न रोडस्थित वस्त्र बुटिककी सञ्चालक मञ्जु राई पहिलेभन्दा फरक नयाँ फेशनमा प्रस्तुत गरेको सुनाउँछिन् । ‘चाडबाड परम्परागत, लगाउने पुस्ता नयाँ छन्, त्यसैअनुसार पहिरनको माग पूर्ति गर्नै प¥यो नि’, भन्छिन् ।
बुटिकहरुमा सिल्क, सिफोन, नेट, जर्जटजस्ता डिजाइन रङ्गीबिरङ्गी साडी, कुर्ता, सलवार लगाउनेको माहौले बेग्लै छ । धरानमा तीजको नाचगान प्रतियोगीतै पनि हुने गरेको छ । तीजको दिन शिवालयहरु पुगेर दिनभर नाचगान र रमाइलो गर्नु छँदैछ । भदौ ७ nayasandesh
सुरु भयो तीजको तयारी
पुर्वाञ्चलमा तीजको चहलपहल सुरु भइसकेको छ । पुर्वका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सुरु भइसकेका छन् तीजको लागि । त्यती मात्र होइन, विभिन्न महिला समुह, क्लब तथा समुदायमा तीजको तयारीका लागि जोडतोडका साथ नाच अभ्यास र कार्यक्रमको तयारी भइरहेका छन् । यसैक्रममा सुनसरीको पकलीस्थित लविपुरमा रहेको नयाँ प्रगतिशिल आमा आमा समुहले नजिकिँदै गरेको तीजको अवसरमा बुधबार वृद्धवृद्धाहरुलाई भोजन गराएको छ ।
पकलीस्थित रामजानकी मन्दिरमा रहेको वृद्धाश्रमका १२ जना ज्येष्ठ नागरिकलाई दर खुवाएको हो । साथै फलफूल समेत वितरण गरेको छ भने एक घण्टा भजन किर्तन समेत गरेका थिए । समुहले भदौ १४ गते लविपुर चौकमा सामुहिक तीज समेत मनाउने समुहकी सचीव एन्जिला चौलागाईँले जानकारी दिनुभयो । तीजको साँगीतिक कार्यक्रमका लागि नाचगान र कार्यक्रम सञ्चालनको अभ्यास चलिरहेको जानकारी दिइएको छ ।
यसैगरी लेडी जेसीजले समेत पुर्वका विभिन्न स्थानमा कार्यक्रम गर्ने तयारी गरीरहेको छ भने एमाले निकट अखिल नेपाल महिला संघ र काँग्रेस निकट महिला संगठनले समेत तीजमा गर्ने कार्यक्रमको योजना बनाएर अभ्यास थालिसकेका छन् । भदौ ७ purwanews
चिल्ला चेलीका तीजे तिघ्राहरू !
'गाउँले ' बलदेव- उहिलेउहिले चाडपर्वमा मिठोचोखो पकाएर भान्सा गरिन्थ्यो। अचेल नमिठो बिटुलो खाएर बान्ता गरिन्छ। महात्मा 'ईसामसीह'को शुभजन्मोत्सवको स् मृतिस्वरूप इस्वी संवत् आरम्भ भएको जनवरीको पहिलो दिनमा होस् अथवा 'जिसस क्राइस् ट 'जस्ता कर्पूरगौर सन्तको सम्झना गर्ने 'क्रिसमस 'मा होस् नन्दीभृङ्गीजस्ता उभयलिङ्गीहरू मिसमास भएर मदमांसले मातिन्छन्, झल्लिन्छन् र 'ड्रम सेट'को बेतालमा बिसुरसँग हल्लिन्छन्, यस्तै हो पश्चिमी सभ्यता?
यतातिर जन्म दिन अथवा कुनै पनि शुभ दिनमा दीप, कलश र गणेशको पूजा गर्ने गरिन्थ्यो। शुभकर्मभरि नै दीप प्रज्वलित भइरहनुपर्थ्यो। उता बालिएको मैनबत्ती निभाएर मात्रै जन्म दिन मनाइने गरिन्छ, यता पनि त्यसै गर्न थालियो। निभाउनकै लागि बत्ती किन बालियो?प्रश्नको उत्तर पर्खिन नसकेर आँखा चिम्म गर्दै हामीहरूले पनि अँध्याराको रहमा हामफालियो। पश्चिमी संस्कृति म जान्दिनँ र नहिँड्ने गाउँको बाटो सोध्न पनि आवश्यक ठान्दिनँ। मेरो पूर्वीय संस् कार आज विकारयुक्त र बेकार हुँदै गएको चाहिँ मलाई थाहा छ। व्रतबन्धकै दिन ब्राह्मण- वटुकको व्रतभङ्ग गराइन्छ। 'ब्रान्डी, ह्विस्की र रम' मिसिएको मदिरातालमा पौडी खेल्दाखेल्दै अनि रमणीहरूको रसपान गर्दागर्दै उपनयनको जनै झरिसकेको र ब्रह्मचर्य मरिसकेको पत्तो पाउँदैन, त्यो स् कुले ठिटो। बाह्र कक्षाको शिक्षा
लिँदै गरेको त्यस केटाले भिक्षादानको लगनमै छड्के नेत्रपान गरिसकेको थियो। शिशुको सृष्टि गरिसकेपछि विवाह बन्धनीमा बाँधिने अनिमात्रै व्रतबन्धनीमा जनै र कन्धनी पहिरिने चलन चलेको छ, अहिले। त्यसको के दोष?
वर्णाश्रम धर्मको मर्म बुझ्न छोडेर हामी कसको पर्म तिर्दै छौँ? षोडश संस्कार खिइएर सकिनै लाग्यो, दोष लागे युगधर्मलाई लागोस्। सुख पाउन्जेल भगवान्लाई भतुवा कुकुरसरह पनि नमान्ने, शिवतत्त्व अलिकति पनि नजान्ने अनि शिवबुटी भन्दै अविच्छिन्न गाँजा र धतुरो तान्ने तन्नेरीहरूलाई के ठान्ने? फागु पूर्णिमामा चेलीबेटीलाई ताकेर रणभूमिमा गोला बर्साएझैँ लोला बर्साउने केटाहरू तर्साउने भूतभन्दा कम भएनन्। त्यसरी अन्धाधुन्ध शैलीले बटुवा ठिटीहरूका वक्षस्थल वा मर्मस् थलमा प्रहार गर्दा ठहरै भए भने ठिटाहरूको दशा के होला? मोबिल मिश्रित रङ्ग दलिदिएर रूपवती युवतीलाई कुरूपा बनाइदिनेदेखि ढलको पानी खन्याइदिनेसम्मका गतिविधिलाई समेत संस्कृति भनिरहनुपरेको छ, किनभने हामीभित्रको मानवता मरेको छ।
अलच्छिना दच्छिनाले दशैँमा दशा मिसाइदियो। देवीको पूजालाई दिनुपर्ने महइभ्व मांस र मदिरासमेतको 'लन्च ' र 'डिनर'लाई दिन थालियो। तिहारको पञ्चकलाई प्राणीहरूको सहअस्तित्व र सम्मान बुझाउने पर्व भन्ने कुरै भुलेर जूवातासमा डुबीडुबी सर्वस्व गुमाउनुलाई के भन्ने? यसै सन्दर्भमा घोक्रो सुकाईसुकाई सुनाइने स्याल हुइँयाँ देउसीका लागि चुलेसी भइसक्यो। दाताले रमाईरमाई दैलो खोल्नै पर्ने गरी महिलाबाट मात्रै गाइने 'भैलो'लाई पुरुषको मिश्रणले मैलो भाँडभैलो बनाइसक्यो। 'हामी त्यसै आएनौँ, बलि है राजाले पठाए। हे औँसी बार, गाईतिहार भैलो।' उहिलेउहिले भैलिनी दिदीबहिनीले भन्थे। अहिलेका दाजुभाइले त, 'हेलो भैलो! खोलो दैलो! भन न ओ डार्लिङ...! 'यस्तैयस्तै भन्छन्।
भट्ट्याउन होइन केटी पट्ट्याउन हिँडेको अरे! गच्छे-अनुसार स् वेच्छाले बत्ती बालेर नाङ्लामा सदक्षिणा सेल, चामल र धान राखेर कात्तिके दान दिइन्थ्यो। देउसी अथवा भैलीले दिएको आसिक थाप्दा सबैलाई रमाइलो लाग्थ्यो। अचेल करबलै दान दिनुपर्छ। क्लबका नाममा, राजनीतिक भ्रातृसङ्गठनका नाममा रकम तोकिएरै पत्र काढिन्छ। शासक, प्रशासक र राजनीतिक नेतालाई बाध्यात्मक दान गराउने र भ्रष्टाचारका लागि प्रेरित गराउने वाचाल आध्यात्मिक प्रवाचक बाजेहरूले आसर्जेको खेती गरेको गर्यै छन्।
शिक्षालय, औषधालय अथवा देवालय बनाउने भन्दै चन्दाको वैधानिक धन्दा चलाउनेहरूको कुरो पनि यतै बिसाएर म तपाईंलाई एक्कै छिन तीजको तडकभडकतिर आँखा तेर्स्याउन अनुरोध गर्छु। सत्ययुगतिर भगवती पार्वतीले पशुपति शिवलाई पतिका रूपमा पाउनका लागि निराहार व्रत बसेकी थिइन् अरे! उनको देह पो दिव्य थियो र भोक लाग्दैनथ्यो। नेपालका पतिव्रता अर्थात् सती महिलाहरूले समेत सभक्ति सजिलोसित पार्वतीको गति समाते। अविवाहिताहरूले रोजेकै पति पाउनका लागि, विवाहिता साध्वीहरूले आजीवन
सधवास् वरूपमा रमाउनका लागि तथा विधवा भएकाले पतिको मुक्तिका लागि भनेर निर्जल
र निराहार व्रत गर्ने परम्परा बसेको थियो, हिजोआज त्यसको नाकमुखै देख्न छोडियो।
अहिले पतिपरिवर्तनको कामना गर्नेहरूको गीत गुन्जिन्छ- 'पोइल जान पाऊँ, शिव! पोइल जान पाऊँ!' आदि। यस्तै गीतका प्रतापले त होला नि पैसाका लागि परदेसिएका पतिका कतिपय सती श्रीमतीहरू बियरको बोतल चुस्दै ठमेलतिर परपुरुषसँग मेलमिलाप गर्दै छन् भन्ने सुनिन्छ। त्यसो त चरित्रवतीका पात्तिएका पति परमेश्वरहरू पाशविक परम्परा-अनुसार प्रतिदिन पत्नीपरिपर्तन गर्दै छैनन् र! 'एबिसिडी' नचिने पनि अङ्ग्रेजी गीत गाउने तथा अङ्ग्रेजी रीतमा रमाउनेहरू पर्याप्त छन्। 'पत्नीहरूले पतिको दीर्घायु चिताएर व्रत बस्नुपर्ने हो भने पत्नीको दीर्घायुका लागि पतिले पनि व्रत किन नबस् ने?' महिला अधिकारवादीहरूको तर्क तेर्सो पर्छ। यस तर्कलाई बल दिनकै लागि त होला नि केही वर्ष यतादेखि दर खाने दिनको दर बढेर एक दिनबाट एक महिना पुर्याइएको छ। कहिले कुन संस् थाको त कहिले कुन संस्थाको, कहिले अमुक पार्टी र कहिले अमुक पार्टीका महिला विभागको, कहिले कुन गृहिणीको भोजनगृहमा त कहिले कुन गृहिणीको।
बिहान, दिउँसो र बेलुकासमेत दर हाम गर्नमै व्यस्त छन्, काम नभएका मध्यमवर्गीय महिलाहरू। उपस्थिति जनाउन र आयोजना गर्न भ्याई-नभ्याई हुन्छ, तिनलाई। खर्च धान्न नसकेका जोइटिङ्ग्रे पोइहरू रोईरोई बसेका छन्। पहिलेपहिले मिठोमसिनो खानका लागि चाडपर्वकै मुख ताक्नुपर्थ्यो। वर्षको एकपल्ट भए पनि दिदीबहिनीलाई घरमा बोलाएर मुख मिठ्याइदिन पाउँदा दाजुभाइलाई आनन्द आउँथ्यो। त्यसैले माइतालु चेलीहरू तीजमा गाउँथे- 'गोठमा राम्रो झालीमाली गाईले।
माइतमा राम्रो दाजुभाइले।। तीज आयो भन्छन् सबै माइत जान्छन्। मै चेली अभागी कसको माइत जाऊँ?।। बाघलाई देखेँ भने बाबा, बाबा भनुँला। बघिनीलाई देखेँ भने आमा भनुँला।' अगिपछि पराधीन भएर बाँच्न बाध्य भएका महिलाहरू माइत गएर तीजका गीतका माध्यमबाट मुटुको घाउ निचोर्थे। सासूससुरा, नन्दआमाजू, सौतेनी आमा आदिबाट पाउनुपरेको यातना र कष्टलाई शब्दका माध्यमबाट बाहिर निकाल्थे। अहिलेका नगरवासी महिलाहरू तीजको दिन लुकीलुकी अन्न खालान् भन्न नसकिएला तर टन्न फलफूल खाएर 'डिस्को', 'रक' आदि शैलीका माध्यमबाट 'हाइन्डसम 'हरूको हात समातेर बुरुकबुरुक उफ्रिँदै
कामुक प्रतिस्पर्धामा प्रस्तुत हुन्छन्। नाच्नेलाई भन्दा देख्नेलाई लाज! तीजमा चिल्ला र परिपुष्ट तिघ्राको आकर्षण देखाएर वयस्क पुरुषहरूलाई उत्तेजित बनाउनु नारीको नैसर्गिक अधिकार हो भने नारीलाई भन्दा तिनको अनाडीलाई प्रेम गर्नु पुरुषको पवित्र परम्परा हो।
संवेदनशील र प्रेमपरक गीतले महिलाको हित गर्दैन भन्दै बूढाबाजेका पालाको प्रगतिशील पङ्क्ति पियाउने पाखण्ड प्रवृत्ति अनि कम्मर मुनिका अङ्ग देखाउँदै गरिने अत्याधुनिक रसरङ्ग दुवैले तीजको मौलिकतालाई कताकता पुर्याइसके। हाम्रा आमा र बज्यैहरू तीजमा निराहार मात्रै बस्दैनथे। तिर्खाले प्याकप्याक्ती पार्दासमेत पानीको घुट्को मुखमा पार्दैनथे। तीजको भोलिपल्ट चतुर्थी तिथिको खाल्सा रहेको वर्ष त कर्कलो र भात खान्थे। खाल्सा नपर्नेबित्तिकै पञ्चमी तिथिमा कष्टपूर्वक ऋषिहरूको पूजा नगरेसम्म भुजा गर्दैनथे। दुईदुई दिन भोकभोकै बस्नुपर्ने भएकाले पनि द्वितीया तिथिमा गरिष्ठ भोजन गर्नु बाध्यता नै हुन्थ्यो। त्यही गरिष्ठ भोजनलाई दिदीबहिनीले दर भनेका हुन्। व्रतका नाममा फलफूल वा पानीसमेत नखाने बानीलाई समयसन्दर्भले पनि स् वीकार गर्दैन। धर्म त देश, काल र परिस्थितिअनुसार निर्वाह गरिने नैतिक अनुशासन मात्रै हो, निरङ्कुश शासन होइन तर तीजका नाममा पार्टीको पाखण्ड प्रचार गराउने, महिनौँसम्म दर कार्यक्रम राखेर समय र सम्पत्तिको नाश गराउने तथा निम्न आय भएका महिलाहरूलाई निहुराउने जस् ता कार्यलाई महिला अधिकारवादीले कसरी हेरेका होलान् ? shukrabaar
तीजका गीतहरु हेर्नुहोस् :
- Yo Teejma Bhayera jamma By Junu Rijal
तीजसम्बन्धि सामाग्रीहरु :
प्रतिक्रिया दिनुहोस् >>