पुरानो डुंगा पानीको छाल ... आँशुमा डुब्यो गाउँ


‘आमा, नचढ्नू डुंगामा। धेरै मान्छे छन्, हामी नदी पार हुन सक्दैनौं,' चार वर्षीया छोरी रियालाई सिराहा, चिकनाकी चन्द्रकुमारी कुसियत फकाउँदै थिइन्, ‘नडराऊ छोरी। पारि पुगेर चाउचाउ किन्दिन्छु।'  
त्यसको केही मिनेटमै आमाछोरीलाई नदीले बगाइहाल्यो। घटनाको डेढ साता बितिसक्दा पनि उनीहरुको अवस्था अज्ञात छ। 
धनुषा-सिराहा जिल्लाबीचको सिमाना नदी कमलामा अघिल्लो मंगलबार डुंगा दुर्घटना हुँदा एकै टोलका ११ सहित कम्तीमा २६ जनाको मृत्यु भएको थियो। मृतकमध्ये सिराहा, चिकना निर्दनाका सोनफी गोइत (६०), ककुल यादव (१५), प्रमिला यादव (१३), गीता यादव (१४) र जीवन यादव (१०) को शव मात्र फेला परेको छ।
निर्दनाकै कुसुमदेवी गोइत (३८), गंगीयादेवी मुखिया (४७), अनेखाकुमारी यादव (१४), रुना यादव (१२), सरिता यादव (३५), शनिश्चरीदेवी मुखिया (२५), बबितादेवी साह (३०), सीता यादव ‘शीला' (३७) को अवस्था थाहा हुन सकेको छैन।
डुंगा चालकका अनुसार डुंगा चढेका अन्य गाउँका कम्तीमा ११ जना पनि नदीमा बगेका छन्। ती ११ मध्ये सिराहाको भेरिया, डरौल र धनुषाको सरावे, भठिहन निवासी भनिए पनि तिनीहरुको नाउँ अझै खुल्न सकेको छैन।
कसरी भयो डुंगा दुर्घटना?

बिहान १०:३० बजे।
डुंगा धनी समेत रहेका मुख्य चालक धनिकलाल मुखियाको अनुपस्थितिमा पारिका यात्रु ल्याउन सहचालक श्रीलाल मुखिया डुंगा लिएर त्यसतर्फ जाँदै थिए। नदीको मध्य भागमा पुगेपछि आफैं डुंगाबाट झरे। धन्न, नदीमा पानी कम थियो र डुंगामा चढ्न भ्याए। 
रक्सीले मातेका चालकको चाला देखेर यात्रु डराउँदै डुंगामा चढेका थिए। कमलाको पूजा गरेर डुंगा चढेपछि जसोतसो नदी भएका यात्री श्रीलाललाई रक्सी खाएर कमलामा डुंगा नचलाउन अनुनय गर्दै गन्तव्यतिर लागे। 
दिउँसो १:३० बजे।
कमला पारिका खेतबारी हेर्न र घाँस, दाउराका लागि गाउँबाट निस्केको समूहलाई नदी पार गराउन सहचालक श्रीलालले नै डुंगा लिएर गए। बिहानको रक्सीको मात नछुट्दै जोखिमपूर्ण यात्रामा निस्केका उनले असहज अवस्थामै डुंगालाई पारि पुर्‍याए। 
फर्कने बेलामा फेरि उनकै लापरबाहीले डुंगा चढेर वारि आउँदै गरेका एक व्यापारीको माछाको हन्डी (सिल्भरको टोकरी) नदीमा खस्यो। उनले भाडावापत व्यापारीबाट पाएको माछा लिएर फेरि रक्सी भट्टीमा गए। 

अपराह्न ४:३० बजे। 
खेतमा काम गर्न र घाँस काट्न पारी गएका गाउँलेलाई ल्याउनुपर्ने हतार थियो। मुख्य चालक धनिकलाल भित्री गाउँबाट आइपुगेका थिएनन्। अर्को सहचालक गोनुवा बाँतर पनि थपिए। गाउँकै प्रदीप यादव पनि त्यहाँ पुगे। तीनैजनाले रक्सी खाएका थिए। डुंगा खेलाउँदै पारि गए। 
नजिकका गाउँबाट रक्षाबन्धन सकेर फर्कने महिला र दैनिक उपभोग्य वस्तुसहितका व्यापारी डुंगा पर्खेर बसिरहेका थिए। डुंगा पारि पुग्नासाथ पानी पर्न थाल्यो। खेतालाहरु पनि झर्न थाले। एकैछिनमा डुंगा चढ्नेको भिड बढ्यो। ४५-५० जना एकैपटक डुंगामा चढेको स्थानीयको अनुमान छ।
व्यापारी एवं बाहिरी गाउँका महिला र गाउँले खेतालाबीच पहिले कुन समूह डुंगा चढ्ने भन्ने विषयमा केही मिनेट भनाभन भयो। सबैले पहिले लैजान चालकलाई दबाब दिए। मुख्य चालक धनिकलाल पनि पौडेरै डुंगा भएको ठाउँमा पुगे। 
उनले दुई पटक ओहोरदोहोर गर्न आफू तयार रहेको भन्दै दुई खेपमा जान यात्रीलाई आग्रह गरे। तर, उनको केही लागेन। बरु सबैजना एकैसाथ डुंगामा चढे। 
४५ भन्दा बढी यात्री, व्यापारीको सातवटा साईकल, तिनीहरुकै २० जार खाने तेल (प्रतिजार १५ लिटर) र केही किराना सामानको असीमित भारले डुंगा सुरुमै तैरिन सकेको थिएन।
सोही डुंगामा चढिरहेका स्थानीय हजारी मुखियाका अनुसार एक मिटर उचाइ रहेको डुंगाको ५।६ इन्च भाग मात्र पानी माथि देखिएको थियो। केही वृद्ध र महिला असहज महसुस गरेर बाहिर पनि निस्के। तर, ओर्लनेको संख्या ४।५ जनाभन्दा बढ्न नसकेपछि उनीहरु पनि चढिहाले। 
सुरुमै पानीमा तैरिन नसकेको डुंगालाई जबर्जस्ती नदीभित्र धकेलियो। त्यहाँबाट २५ मिटर नसर्दै डुंगा हल्लियो। वर्षासँगै बाढीको चाप बढिसकेको थियो। नदीको छाल असाधारण देखिन थालेको थियो। 
झन् थेग्नै नसक्ने भारले डुंगा नराम्ररी हल्लियो। वर्षाको पानी पनि डुंगामा थपिँदै गएको थियो। बाढीको ढोही (असाधारण छाल) ले डुंगामाथि उछिट्टिएर एकैपटक पानीमुनि गयो। यात्रीहरु तैरिन थाले। डुंगा च्यातिएर दसौं टुक्रामा विभाजित भयो। पौडन जान्नेजति बाहिर निस्के, बाँकी बेपत्ता।
रक्सीकै कारण चालकहरुले आफ्नै नातागोतालाई समेत बचाउन नसकेको स्थानीयले बताए। मुख्य चालक धनिकलालकी पत्नीसमेत बेपत्ता छन्। प्रदीपका काकी, बहिनी र काकालाई बाढीले बगायो। तर, तिनीहरुले कसैलाई बचाउन सकेनन्। 
..... 
जम्मा दुई सय परिवारको सानो ‘बस्ती' निर्दनाका ११ जनाको एकसाथ मृत्यु भएपछि गाउँमा सन्नाटा छाएको छ। घटनाको डेढ साता बितिसक्दा पनि मृतकको परिवारमा रुवावासी रोकिन सकेको छैन। 
सोही घटनामा पौडेर ज्यान बचाएकाहरुले आँखै अगाडि सहकर्मीहरु बाढीमा बग्दाको दृश्य अझै बिर्सन सकिरहेका छैनन्। शोक र भयले ग्रस्त तिनीहरु शारीरिक रुपमा सबल भए पनि मानसिक रुपमा गलेका छन्। 
शव पाउने पाँच परिवारले परम्परागत विधि अनुसार दागबत्ती दिएर किरिया बसे। गुमाएका आफन्त भेटाउन नसकेकाले भने बेपत्ताको पुतला बनाएर दाहसंस्कार गरेका छन्। 
निर्दनाका ११ वटै परिवारका किरिया बस्ने सदस्यहरुले बिहीबार सामुहिक रुपमै नौकेश (मैथिली परम्पराअनुसार मृत्यु भएको दसौं दिन गरिने संस्कार) गरेका छन्।
गाउँमा एकजना पुरोहित मात्र रहेकाले सबैलाई छुट्टाछुट्टै किरिया गराउन सम्भव नहुँदा सामूहिक रुपमै गर्नुपरेको स्थानीय दीपेन्द्र यादवले जानकारी दिए।
..... 
घडेरीको लालपुर्जा सिराहा मालपोत कार्यालयमा भए पनि निर्दना गाविसका अधिकांशको खेत भने धनुषा (कमला पारि) पर्छ। ती गाउँलेका लागि दैनिक एक-दुई पटक कमला वारपार गर्नैपर्ने हुन्छ। 
सधैंको आवश्यकता भएकै कारण गाउँका नाउँखेविया (डुंगा व्यवसायी) लाई वार्षिकीकै हिसाबमा गाउँलेले नियुक्त गरेका छन्। उनलाई निर्दनाका प्रत्येक परिवारले वर्षमा एकपटक १६ किलोको दरले धान दिनुपर्ने हुन्छ। 
बाहिरका यात्रुको हकमा भने नदीमा बाढीको चाप अनुसार प्रतिव्यक्ति २० रुपैयाँदेखि सय रुपैयाँसम्म भाडा लिन्छन्। भारतबाट सामान ओसार्ने (विलेकिया) को भाँडा दर भने छुट्टै छ। 
नजिकमा पुल नभएका कारण कमला छेउका गाउँलेका लागि नदी वारपार गर्न डुंगाको विकल्प छैन। 
करिब १५ किलोमिटर उत्तर पूर्व-पश्चिम महेन्द्र राजमार्ग र १३ किलोमिटर दक्षिण भारतको जयनगर पुलबाहेक नदी तर्ने एकमात्र साधन हो - डुंगा। तर, गाउँ र जिल्लामै डुंगा बनाउने मानिस उपलब्ध नहुँदा पुरानै डुंगा वर्षौवर्षसम्म चलाउनु पर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।
राजमार्गदेखि जयनगरसम्म विभिन्न घाटमा सञ्चालित सातवटा डुंगा भारत दरभंगाका मिस्त्रीले सात वर्षअघि बनाएका हुन्। नजिकमा मिस्त्री उपलब्ध नहुनु र दसकौंदेखि चल्दै आएको डुंगामा समयसापेक्ष सुधार हुन नसक्नुले नदी यात्रामा जोखिम बढ्दै गएको निर्दनाका ६२ वर्षीय रामविलास दासले बताए।
सडक र पुलको विकासमा लगानी गरेजस्तै सरकारले नदीनाला भएको ठाउँमा पनि आधुनिक साधन (डुंगा) को व्यवस्था गर्नुपर्ने उनको माग छ।
.......
"कमला माताको कृपाले बाँचेँ" : रिंकु यादव
हामी छ, सात जना साथी सधैँ सँगै घाँस काट्न जान्थ्यौं। घटना भएको दिन पनि समयमै खाना खाएर निस्कियौं। कमलामा पुग्दा अन्य दिनभन्दा केही न्यास्रो अनुभव भइरहेको थियो। तर, साथीहरुको समूहमा हँसीमजाक गर्दै पारि पुग्यौं। 
मभन्दा जेठी साथी विवाहसम्बन्धी कुरा गरेर पनि रमाइलो गरिरहेका थिए। अघिल्लो दिनभन्दा त्यो दिन अलि अलग्गै किसिमको माहोल थियो। अधिकांश साथीले सोमबार व्रत गरेर मंगलबार बिहान नुहाएर खाएको अनुभव पनि साटे।
सोमवारे व्रत गर्नुको कारण र अनुभव साट्दा अलि बढी नै मनोरञ्जन गरिएको थियो। हामी भने समयमै घाँस काटेर फर्कनुपर्ने कुरा गर्दै थियौं। 
घाँस काटेर नदी किनारमा पुग्नै लाग्दा पानी पर्न थाल्यो। बाढी तेज हुने डरले हतार गर्दै थियौं। जब डुंगा नजिक पुग्यौं, अवस्था फरक थियो। डुंगामा एकैपटक थुपै्र यात्री चढे। हामी कसैले पनि त्यो दिन काटेको घाँस डुंगामा लाद्न पाएनौं। भोलिपल्ट बिहानै घाँस ल्याउने सर्तमा डुंगा चढ्यांै। 
एक्कासी डुंगा अनियन्त्रित भयो। म लगायत साथीहरु डराए। डुंगा डुबेपछि एक्लै भएजस्तो महसुस भयो। साथीहरु ठूलो छालमा परेर टाढा फ्याकिए। म वरै थिएँ। 
पौडन त्यति सिपालु नभए पनि त्यो दिन कमला माताको कृपाले होला, राम्ररी नै तैरिन सकेंँ। र, दुई, चार सय मिटर तल गएर बाहिर निस्केँ। त्यतिबेलासम्म साथीहरु पनि निस्के होलान् भन्ने लागेको थियो।
गाउँका मानिस जुट्न थालेपछि सबै साथी गुमाएको जानकारी भयो। म खिन्न भएँ। मलाई घर लगियो। रातभरि सुत्न सकिनँ। साथीहरु तल गएर बाहिर निस्केको आशा गरेको थिएँ। साथीको मृत्यु हुने सोच्नै सकिनँ। बरु उनीहरु रातभर कहाँ र कसरी समय बिताउलान् भन्ने चिन्ता थियो। 
भोलिपल्ट बिहान गाउँका मानिसहरु खोज्न गए र कतै कोही नभेटेपछि मेरो आशा निराशामा परिवर्तन भयो। हुनेजति भइसक्यो। अब फर्केर आउने होइन। तर, सरकारले हामीलाई सजिलै नदी तर्ने व्यवस्था मिलाइदिओस् भन्ने चाहन्छु। 10 Bhadra, Nagariknews

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :