मुलुकको आर्थिक स्थिति सकारात्मक– राष्ट्र बैंक
Posted by
purwanews
Published on
Saturday, July 2, 2011
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०६७/०६८ को प्रथम दश महिनामा विप्रेषण आप्रवाह रू दुई खर्ब ६ अर्ब ६६ करोड भएको जनाएको छ । विप्रेषण आप्रवाहमा अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले वृद्धि भएको हो ।देशको वर्तमान आर्थिकस्थिति आज सार्वजनिक गर्दै राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले वृद्धि भएको, बैंकिङ क्षेत्रको खुद वैदेशिक सम्पत्तिमा ह्रास आएको र आन्तरिक सम्पत्तिमा न्यून वृद्धि भएको तथा सङ्कुचित मुद्रा प्रदाय १.३ प्रतिशत घटेको उल्लेख गरेको छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति रू ११ अर्ब ६७ करोडले घटेको तथा भुक्तानी असन्तुलनमा सुधार भए पनि अपेक्षित स्तरको हुन नसकेको बैंकले जनाएको छ ।
बैंकले दश महिनासम्ममा कुल आन्तरिक कर्जा ७.७ प्रतिशतले बढेको, निजी क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशतले बढेको तथा अनुत्पादक क्षेत्रमा प्रवाहित कर्जालाई नियन्त्रण गर्न गरिएको नीतिगत प्रयास र आयात व्यापारमा न्यून विस्तारका कारण समीक्षा अवधिमा निजी क्षेत्रको कर्जा विस्तारमा कमी आएको उल्लेख गरेको छ ।
यस्तै खुला बजार कारोबारअन्तर्गत रू ५४ अर्ब २१ करोडको खुद तरलता प्रवाह भएको छ । समीक्षा अवधिमा बिक्री बोलकबोल मार्फत रू २ अर्ब र रिभर्स रिपो बोलकबोल मार्फत रू १९ अर्ब गरी रू २१ अर्बको तरलता प्रशोचन भएको छ । त्यस्तै रिपो बोलकबोल मार्फत रू ७५ अर्ब २१ करोडको तरलता प्रवाह भएको छ ।
बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ९३ करोड खरिद गरी रू १ खर्ब ३९ अर्ब ६४ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब १४ करोड खरिद गरी रू ८४ अर्ब ४५ करोड खुद तरलता प्रवाह गरेको थियो ।
त्यस्तै अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी रू १ खर्ब ५७ अर्ब ९५ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको बैंकले जनाएको छ । अघिल्लो आवको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ७७ करोड बिक्री गरी रू १ खर्ब ३२ अर्ब बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
उपभोक्ता मुद्रास्फीति बढ्यो
चालु आवको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ९.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.८ प्रतिशत थियो ।
तरकारीको वार्षिक विन्दुगत मूल्य सूचकाङ्कको वृद्धि सबैभन्दा बढी ४८.३ प्रतिशत रहेको बैंकले जनाएको छ । फलफूल र मसलाको मूल्य सूचकाङ्क समीक्षा अवधिमा २८.३ प्रतिशत र १८.७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सूर्तिजन्य पदार्थ, रेष्टुरेण्ट तथा होटल र खाद्यान्न उपसमूहको मूल्य सूचकाङ्कमा क्रमशः १५.३ प्रतिशत, १३.५ प्रतिशत र १३.५ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहका वस्तुहरूमध्ये लत्ताकपडा तथा जुत्ता चप्पलको मूल्य सूचकाङ्कमा १५.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकाङ्कमा ७.१ प्रतिशतले मात्र वृद्धि भएको थियो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ११.६ प्रतिशतले मूल्य सूचकाङ्कमा वृद्धि भएको छ भने पहाडमा १०.८ प्रतिशतले र तराईमा ७.१ प्रतिशतले वृद्धि भएको छ ।
सरकारी खर्चमा वृद्धि
समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्चमा १३.४ प्रतिशतले वृद्धि भई रू १ खर्ब ८१ अर्ब ४ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २५.१ प्रतिशतले बढेको थियो । चालु तथा पुँजीगत दुवै खर्चको वृद्धिदरमा कमी आएका कारण समीक्षा अवधिमा कुल सरकारी खर्चको वृद्धिदरमा कमी आएको हो ।
समीक्षा अवधिमा पुँजीगत खर्च २७.७ प्रतिशतले वृद्धि भई रू ४४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्चमा ३३.५ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष सुरु भएको पाँचौं महिनामा मात्र अध्यादेश मार्फत पूर्ण आकारको बजेट कार्यान्वयनमा आएको तथा कार्यक्रम स्वीकृत र ठेक्कापट्टामा ढिलाई भएका कारण पुँजीगत खर्चको वृद्धिदरमा कमी आएको हो ।
सरकारी राजस्वमा वृद्धि
आर्थिक वर्ष २०६७/६८ को दश महिनासम्ममा नेपाल सरकारको राजस्व परिचालन १४.७ प्रतिशतले वृद्धि भई रू १ खर्ब ५८ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी राजस्व २५.४ प्रतिशतले वृद्धि भई रू. १ खर्ब ३८ अर्ब ५६ करोड पुगेको थियो ।
आर्थिक वर्ष २०६७/६८ को दश महिनासम्ममा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले वृद्धि भई रू. ५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ११.७ प्रतिशतले घटी रू. ४९ अर्ब ९१ करोडमा सीमित भएको थियो । मासिक रुपमा हेर्दा चालु आर्थिक वर्षको वैशाख महिनामा कुल वस्तु निर्यातमा चैत महिनाको तुलनामा ८.७ प्रतिशतले घटेको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात ८.१ प्रतिशतले बढेको छ । यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा ७.३ प्रतिशतले घटेको थियो । त्यस्तै, अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १८.९ प्रतिशतले घटेकामा ०.८ प्रतिशतले बढेको छ ।
भारततर्पm मुख्यतयाः जस्तापाता, जुटका सामान, धागो, जुस र प्लाष्टिकका सामानको निर्यात बढेको छ । त्यस्तै, अन्य मुलुकतर्पm विशेषगरी पश्मिना, ऊनी गलैंचा, दाल, छाला र चियाको निर्यातमा वृद्धि भएको छ ।
यस्तै समीक्षा अवधिमा कुल वस्तु आयात ४.८ प्रतिशतले बढेर रू ३ खर्ब २१ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.० प्रतिशतले वृद्धि भई रू ३ खर्ब ६ अर्ब १६ करोड पुगेको थियो ।
कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको दश महिनासम्म ३४.७ प्रतिशतले वृद्धि भएकामा समीक्षा अवधिमा २३.९ प्रतिशतले बढेको छ । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशत वृद्धिको विपरित समीक्षा अवधिमा २०.५ प्रतिशतले ह्रास आएको छ ।
भारतबाट मुख्यतया पेट्रोलियम पदार्थ, एमएस बिलेट, कोल्डरोल्ड सिट इन क्वाइल, औषधि, र विद्युतीय उपकरणको आयात बढेको छ । अन्य मुलुकबाट विशेषगरी सुन, तयारी कपडा, स्टिलका रड र पाता, अन्य मेसिनरी तथा पार्ट्स र सुपारीको आयातमा कमी आएको छ ।
चालु आर्थिक वर्षको दश महिनासम्ममा कुल वस्तु व्यापार घाटा ४.६ प्रतिशतले वृद्धि भई रू २ खर्ब ६८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु व्यापार घाटा ४९.० प्रतिशतले बढेको थियो । कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा समीक्षा अवधिमा २७.६ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै समग्र शोधनान्तर स्थिति रू ११ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रू १४ अर्ब ३ करोडले शोधनान्तर घाटामा रहेको थियो ।
समीक्षा अवधिमा एफओबी मूल्यमा आधारित वस्तु व्यापार घाटा अघिल्लो वर्ष ५०.२ प्रतिशतले बढेकामा समीक्षा अवधिमा ४.४ प्रतिशतले मात्र वृद्धि भई रू २ खर्ब ५८ अर्ब ९९ करोड पुगेको छ ।
बैंकले २०६८ वैशाख मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०६७ असार मसान्तको रू २ खर्ब ६८ अर्ब ९१ करोडको तुलनामा ३.७ प्रतिशतले घटेर रू २ खर्ब ५९ अर्ब १ करोडमा सिमित भएको जनाएको छ । २०६७ वैशाख मसान्तमा यस्तो सञ्चिति २०६७ असार मसान्तको तुलनामा १४.१ प्रतिशतले घटेर रू २ खर्ब ४६ अर्ब २० करोड भएको थियो ।
प्रतिक्रिया दिनुहोस् >>