बोर्ड राखेको निहुँमा रातारात कुटिए गाउँले
Posted by
purwanews
Published on
Saturday, July 2, 2011
पूर्वन्युज : खाना खाँदै गरेका तथा खाएर सुत्ने तरखर गरिरहेका सुनसरीको तनमुना गाविसस्थित पासवान टोलका एक दर्जन बढीलाई स्थानिय चौधरी समुदायले शुक्रबार राती कुटपिट गरेको छ । पासवान समुदायले टोलको पहिचानको लागि पासवान टोल लेखिएको बोर्ड राखेपछि स्थानिय चौधरी समुदायका व्यक्तिहरुले उनीहरुमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट एकजना गम्भीर घाइते भए भने अन्य सामान्य घाइते भए ।
पासवान टोलको रुपमा चिनिँदै आएको तनमुनाको उक्त टोलमा चल्तीको नाममै पासवान टोल नामको बोर्ड राख्ने स्थानिय पासवान समुदायले निर्णय गरेको थियो । तर बोर्ड राखेदेखि नै विवाद झिक्दै आएको चौधरी समुदायले शुक्रबार राती भने आफ्नो घर घरमै पुगेर कुटेको भन्दै स्थानियले विरोध जनाएका हुन् । कुटाइबाट महिलाहरु समेत पीडित बनेका छन् । रातविरात आतंकित बनाएर काट्ने, मार्ने र महिलाहरुलाई बलात्कार गर्ने धम्की दिएको पीडितको गुनासो छ ।
बोर्ड हटाउन माग गर्दै गाविसमा उजुरी हालेको चौधरी समुदायको माग बमोजिम बोर्ड हटाउन गाविसले तीन दिनको म्याद दिएको थियो । तर गाविसको पत्र थमाएको चौबिस घण्टा समेत नबित्दै युवा समुहले पासवान समुदायमाथि आक्रमण गरेको हो । प्रहरी समयमै पुगेकाले ठूलो दुर्घटना हुन नपाएको स्थानियको भनाई छ । प्रहरीले घटनास्थलबाट केही लाठी बरामद गरेर ल्याएपनि कोही पक्राउ परेका छैनन् । सुनसरी, असार १९
प्रतिक्रिया दिनुहोस् >>