विस्थापितको चुल्होमा माछा र मासु
Posted by
purwanews
Published on
Saturday, July 2, 2011
पूर्वन्युज : सुनसरी खोलामा आएको बाढीका कारण करिब साढे तीन सय मानिस विस्थापित भए । उनीहरु अहिले स्थानिय विद्यालयहरुमा आश्रय लिइरहेका छन् । यसरी आफ्नो घर गुमाएका पीडितहरु विद्यालय भवनमा के खाइरहेका होलान् ? खान नपाएर उनीहरु राहतको पर्खाइमा होलान् भन्ने सबैको अनुमान विपरीत उनीहरु भने मासुभात खाइरहेका छन् ।
बाढीले घर बगाएपछि बाढीबाट जोगाउन सफल भएको सुँगुर काटेर सुनसरीको ज्ञानोदय निमाविमा बसेका धेरैले उधारोमै खाए शनिबार बिहान । सबैको चुल्होमा मासु पाकेको थियो । मासु किन्न नसक्नेहरुले भने स्थानिय खोला तथा कुलोमा माछा मारेर माछा पकाएर खाएका थिए ।
मुख मिठ्याउनलाई मासु पकाएर खाएपनि अस्वस्थ खान्कीकै कारण सुनसरीका बाढीपीडित मध्ये तीन दर्जन झाडापखला र ज्वरो तथा खोकीबाट पीडित भएका छन् । बाढीको भेलले बगाएर ल्याएको माछा खान नहुने भएपनि पीडितहरु भने आफ्नो परम्परागत खान्कीको लागि पनि भुरा माछाको भर परेका हुन् ।
विस्थापित साढे तीन सय स्थानियहरुमध्ये तीन दर्जनमा झाडापखला र रुघा खोकी र ज्वरोको समस्या देखिएको राहत वितरणमा सक्रिय उप्का नेपालले जनाएको छ । उनीहरुको लागि सामान्य खाने व्यवस्था उप्का नेपालले गर्दै आएको छ भने स्वास्थ्य उपचारको काम भने रेडक्रसले गरिरहेको उप्का नेपालका डीडीपी प्रोजेक्टका अफिसर शुभचन्द्र राईले जानकारी दिए ।
बाढीका कारण भोक्राहाको १२३ घर र इनरुवा ६ को मरिक टोलका १३ परिवार विस्थापित भएका थिए । विस्थापितहरुको घर बाढीले बगाएपछि उनीहरुको बसोबासको समस्या देखा परेको छ । हिलो र पानीका कारण कम्तिमा वर्षायामभरी उनीहरु आफ्नो पहिलेकै स्थानमा बस्न नसक्ने अवस्थामा छन् ।
बाढी पीडितहरुले विद्यालयका कोठा भरिएपछि सुनसरीका दुई विद्यालयहरु गोठ र क्वार्टरमा परिणत भएका छन् ।
शुक्रबार सुनसरी खोलामा आएको बाढीका कारण विस्थापित बनेका करिब साढे तीन सय वासिन्दाहरु बबियाको सरस्वती मावि र इनरुवा ६ को ज्ञानोदय निमाविमा आश्रय लिएर बसिरहेका छन् । आफ्नो घरको सामान र गाई वस्तुलाई आफूसँगै निकाल्न भ्याएका स्थानियहरु बसेपछि विद्यालय बन्द गरिएको छ । जसबाट एक हजार बढि बालबालिकाहरुको अध्ययन प्रभावित बनेको छ । सुनसरी, असार १९
प्रतिक्रिया दिनुहोस् >>





