यहाँ त फोहोरी खेल भइरहेको छ

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्राहम रोबर्टस भन्छन्, 'एन्फाले केवल पैसाका लागि लेगलाई निरन्तरता दिएर खेलाडीलाई थकायो । लेग ठूलो कि राष्ट्रिय टिम ? थाकेका खेलाडीले बरियतामा नेपालभन्दा ६४औँ स्थान माथि रहेको टिमसँग खेल्नु छ, त्यो पनि मरुभूमि मुलुकमा र फ्लोड लाइटमा । जोर्डनले नेपालसँग भिड्न साउदी अरब, यमन र सिरियासँग मैत्रीपूर्ण म्याच खेलिसक्यो । हामी भने बहराइनमा आठ घन्टा ट्रान्जिटमा बसेर जोर्डन पुग्दै छौँ, त्यो पनि कुनै अन्तर्राष्ट्रिय अभ्यासविना ।’

इंग्ल्यान्ड र टोटनहामका ती गौरवशाली दिन
image२३ वर्षको अवस्थामै मैले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएँ । इंग्लिस राष्ट्रिय टोलीबाट धेरैपटक खेल्न अवसर नपाए पनि प्राप्त मौकामा भने मैले भरपूर मनोरञ्जन लिएँ । त्यो टोलीबाट मैले सातपटक खेलेँ होला । अन्तिमपटक रसियाविरुद्ध खेलेको थिएँ । ठ्याक्कै दिन भने सम्झन सकिनँ । हामीले ब्राजिलसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु थियो । ब्राजिलको भ्रमणमा निस्कँदा म बिरामी भएर ओछ्यानै परेँ । बिरामीका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहँे । पछि टिममा र्फकने प्रयास गरेको थिएँ तर सम्भव भएन ।  
imageइंग्लिस टिममा पर्नुअघि २१ वर्षमै टोटनहामसँग अनु्बन्धित भइसकेको थिएँ । टोटनहाममा म सेन्टर ब्याक खेलाडी थिएँ । मैले लिभरपुलविरुद्ध पि्रमियरसिप लिग डेब्यु गरेको थिएँ । टोटनहामको कप्तानीमा मैले क्लबलाई दुईपटक युइएफए कप दिलाएको थिएँ । इंग्ल्यान्ड र टोटनहाममा बिताएको दिन सम्भदा अहिले पनि म उत्साहित तथा रोमाञ्चित हुने गर्छु ।
imageनेपालको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक हुनुअघि मैले पाकिस्तानको फुटबल टिम सम्हालेको थिएँ । पाकिस्तानमा करिब एक वर्ष काम गरेँ होला । निश्चित समय खासै याद भएन । तर, जति दिन पाकिस्तानमा बसेँ, ती दिन निकै भयावह तथा डरलाग्दा थिए । दैनिकजसो कराँची, इस्लामावाद, लाहोरजस्ता मुख्य-मुख्य सहरमा आतंककारीको हमला हुन्थ्यो । आतंककारीको दबदबा भएको मुलुकमा काम गर्दा मलाई निकै डर लागेको थियो । 
मनमा यस्तो पनि कुरा चल्थ्यो, मेरो नाममा कसको गोली लेखेको छ, किनकि कहाँ कुन वेला कसमाथि आक्रमण हुने भन्ने थाहा पाइँदैन थियो । ती दिन सम्भ“mदा म अहिले झसंग हुने गर्छु । म बसेको स्थानबाट पाँच सय यार्डमात्र टाढा थियो, तत्काल तालिवानका प्रमुख ओसामा बिन लादेनको घर । त्यो वेला थाहा थिएन कसैलाई लादेन घर । तर, उनी त मेरा छिमेकी रहेछन् । अक्सर पाकिस्तानी टिमको अभ्यास गर्ने मैदानमा अत्याधुनिक हातहतियार बोकेका सैनिकले सुरक्षा दिन्थे । अ म्यान विह्यान्ड द गण विथ पाकिस्तान फुटबल टिम । धन्य म कसैको गोलीको सिकार भइनँ । यसकारण मलाई पाकिस्तानमा लामो समय बस्न मन लागेन । जति चाँडो म पार्कबाट फुत्कने सोचमा बसेको थिएँ । 
त्यति नै वेला नेपालमा एक विदेशी प्रशिक्षकको खाँचो रहेको सुनेँ । म एक व्यावसायिक प्रशिक्षक हुँ । र, फुटबल पनि व्यावसायिक हिसाबले चल्छ । यदि योअनुसार चल्न सकेन भने फुटबलको विकास हुन सक्दैन । प्रोफेसनलिज्म संसारमा कुनै पनि ठाउँमा हुनुपर्छ । म कसैको अन्डरमा बसेर काम गर्ने मानिस होइन । त्यही दृढविश्वासका साथ अगाडि हिँडिरहको छु । गत डिसेम्बरमा अखिल नेपाल फुटबल संघ -एन्फा) तथा एसियाली फुटबल महासंघका उपाध्यक्ष गणेश थापा र मेरो एजेन्टसँग कुराकानी भयो । सुरुमा एएफसी प्रेसिडेन्ट कपका लागि नेपालको राष्ट्रिय टोली तीन महिना हेर्न प्रस्ताव थियो । 
पाकिस्तानलाई छाडेर दक्षिण एसियाकै अर्को सानो राष्ट्र नेपालको फुटबल टिमलाई प्रशिक्षण दिनु मेरो लागि आश्चर्य थिएन । तर, पाकिस्तानी फुटबललाई कम समय खर्चे पनि उनीहरूलाई एक स्थानमा पुर्‍याएँ । देशको राजनीतिलाई एक छेउमा राखेर पार्कको फुटबलबारे विश्लेषण गर्दा त्यो टिम पनि त्यही नराम्रो होइन । टिमका खेलाडी तथा अन्य व्यक्ति दयालु तथा सहयोगी थिए । 

सुरुमा अल्छी, अनुशासनहीन र झगडालु थिए नेपाली खेलाडी 
नेपाली टिमको प्रशिक्षक बनेपछि मात्र म नेपाल आएको हुँ । यसअघि नेपालको नाममात्र सुनेको थिएँ । यहाँको वातावरणले मलाई लोभ्यायो । सुरुसुरुमा कहीँ पनि ध्यान गएन । मेरो लक्ष्य थियो- नेपाललाई च्यालेन्ज कपको दोस्रो चरणमा छनोट गराउनु । तर, खेलाडीको एटिच्युट कल्पनाभन्दा पनि बाहिर रह्यो । नेपाली खेलाडीसँग अनुशासन, मितव्ययिता, एक-अर्काप्रति सम्मान गर्ने केही गुण देख्न सकिनँ । खेलाडी-खेलाडीबीच झै-झगडा गर्ने, गाली-गलोज गर्नेजस्ता क्रियाकलापमात्र देखेँ । राष्ट्रिय टिमका जिम्मेवार खेलाडीको त्यस्तो व्यवहार देख्दा अचम्म नै भएँ । कस्तो टिमलाई हेर्नुपर्ने भनी सोच्न थालेँ । तर, फोहोरी एटिच्युट खेलाडी भए पनि एक प्रशिक्षकको नाताले उनीहरूलाई सही लाइनमा ल्याउनु मेरो कतव्र्य तथा दायित्व थियो, यही भावनाका साथ म अघि बढेँ । 
तिनै खेलाडीको भरमा तीन महिनाभित्र नेपाली टिमलाई एक उचाइ दिलाउने प्रण गरेँ पनि । सुरुमा खेलाडीलाई अनुशासन तथा एक-अर्काप्रति सम्मान गर्न सिकाएँ । मेरो के मान्यता छ भने हरेक क्षेत्रमा अनुशासन तथा सबैप्रति सम्मान हुनुपर्छ । यदि यो भएन भने केही पनि हुँदैन । अझ खेलाडीमा यो कुरा झनै आवश्यकता पर्छ । यही भावना खेलाडीमा जगाएँ । यसबीच खेलाडी निकै अल्छी भएको पाएँ । उनीहरू बल खोस्न अल्छी गर्थे । मैदानमा द्रुतगतिमा विपक्षीसँग खोस्न कमजोर देखिन्थ्यो । खेलाडी अल्छी गर्दै बल खोस्न जान्थे । टिम स्पिरिटको भावना थिएन । तर, मसँग तीन महिना समय थियो, यी सबै नराम्रा व्यवहार हटाउने । नेपाली खेलाडीमा टिम स्पिरिट भावना जागृत गराएँ । च्यालेन्ज कपका लागि उनीहरूले मेरो योजनाअनुरूप कडा मिहिनेत गरेँ । टिम सेट गरेपछि भुटानसँग दुई मैत्रीपूर्ण खेल्न अवसर पाइयो । 
प्रारम्भिक चरणमा खासै राम्रो हुन नसके पनि भुटानलाई हराउन सफल भयो । तर, मलाई यति विश्वास भइसकेको थियो कि यो नेपाली टिमले च्यालेन्ज कपको दोस्रो चरणमा प्रवेश गर्नेछ । नभन्दै च्यालेन्ज कप पनि आयो । र, मैले छोटो समयमा नेपाली टिमलाई तयारी पारँे । सो प्रतियोगितामा नेपालले विश्वकप तथा एसियन कप फुटबलमा भाग लिइसकेको उत्तरकोरियाविरुद्ध बहादुरी प्रदर्शन गर्‍यो । उत्तरकोरियाविरुद्धको खेलमा कतिपय नेपाली खेलाडीले वल्र्ड क्लाकस्तरका प्रदर्शन गरेका थिए । विशेषतः किरण चेम्जोडले अदर्शनीय सेभहरू गरेका थिए । कडा मिहिनेत तथा टिमवर्कका कारण नेपाल च्यालेन्ज कपको दोस्रो चरणमा छनोट भयो । 
च्यालेन्ज कपपछि म पुनः बेलायत फर्किएँ । यसबीच एन्फा र मेरो एजेन्टबीच कुरो चल्यो । यसपटक एक वर्षका लागि सम्झौता भयो । दोस्रोपटक पुनः म नेपाल फर्कें । फेरि नेपाली टिम सम्हाल्दा सन् २०१४ को विश्वकप छनोट मुखैमा थियो । हाम्रो प्रतिद्वन्द्वी थियो इस्टटिमोर । हुन त टिमोर कस्तोखाले टिम हो भनेर मलाई स्पष्ट थाहा थिएन । त्यतिवेला दुवै टोली एक-आपसमा अनभिज्ञ । फिफा बरियतामा नेपालभन्दा ४७ स्थान तल टिमोरलाई कहिले पनि कमजोर टिमका रूपमा लिइनँ । 
विश्वकप अन्तर्गत एसियन छनोटको तयारीका क्रममा यहाँ लिग चलिरहेको थियो । खेेलाडी जम्मा पारेर टिम बनाउनु पहिलो प्राथमिकता थियो । मेरो अनुरोधमा एन्फाले लिग रोक्दै राष्ट्रिय टिमको क्लोज क्याम्प बोलायो । क्लोज क्याममा मैले खेलाडी अनुशासनभन्दा बाहिर गएको पाएँ । स्ट्राइकर सन्तोष साहुखल एक दिनपछि क्याम्पमा आएका थिए । सन्तोषले घरमा काम भएको कारण देखाउँदै क्याम्पमा आउन ढिलो भएको प्रतिक्रिया दिए । तर, अनुशासन तोडेको म सहन सक्दिनँ, चाहे त्यो मैदानभित्र या बाहिर । अनुशासनहीन खेलाडीलाई मैले बाहिर राखेँ । यदि म नेपाली टोलीका लागि आफ्नो परिवार छाडेर बेलायतदेखि यहाँ आउन सक्छु भने सन्तोषले नेपाली टोलीका लागि किन त्यो त्याग गर्न सकेनन् ? उनले पहिलो प्राथमिकता परिवारलाई दिए र टिमलाई दोस्रोमा राखे । तर, मलाई विश्वास थियो, सन्तोषबाहेक मसँग जुमानु राई, अनिल गुरुड, भरत खवास तथा गणेश लावतीजस्ता प्रतिभावान स्ट्राइकर थिए । सन्तोष गएर मलाई केही हानि पुर्‍याउँदैनन् भन्ने विश्वास थियो । 

टिमोरविरुद्ध पहिलो लेगमा वषका कारण हाम्रो प्रदर्शन राम्रो हुन सकेन । तर, घरेलु मैदानमा २-१ ले जित्यो । अब दोस्रो लेगमा प्रतिस्पर्धा गर्नु थियो । टिमोर भने दोस्रो लेगमा नेपाललाई हराउने दाउमा थियो । आफूले कडा मिहिनेतले तयार गरेको नेपाली टिमले अब खेलमा उनीहरूलाई नराम्रोसँग हराउनेछ भनेर पूर्णविश्वास थियो । हजारौँ समर्थकका माझ नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो पनि । र, समग्रमा ७-१ को नतिजा निकाल्दै नेपाल ऐतिहासिक सफलता प्राप्त गर्दै विश्वकपको दोस्रो चरणको छनोटमा स्थान पक्का गर्न सफल भयो । फुटबलका लागि क्रेजी दर्शकको माया पाउँदा नेपाली खेलाडी अविश्वसनीय प्रदर्शन गर्न निकै सिपालु रहेछन् । 
खेलपछिको खुसियाली सदैव मलाई याद आउनेछ । टिमोरविरुद्धको प्रतिस्पर्धा गर्दासम्म मैले कप्तान सागर थापा, सन्दीप राई, शिव श्रेष्ठलाई वल्र्ड क्लार्क खेलाडीका रूपमा पाएँ । अझ नेपाली टिमको रक्षापंक्ति विश्वकै उत्कृष्ट रक्षापंक्ति भनेर घमण्ड गर्न सक्छु । र, यो टिमले विश्वको कुनै पनि टिमलाई हराउन सक्छ भन्ने मेरो विश्वास हो ।

म एन्फासँग दुःखी छु, जोर्डनका लागि हाम्रो तयारी पुगेको छैन
नेपाल विश्वकपको दोस्रो चरण छनोटमा पुगेकोमै एन्फा दंग परेको छ । यसभन्दा अगाडिको सोच एन्फाले बनाएको रहेनछ । दोस्रो चरणमा हामीले जोर्डनसँग प्रतिस्पर्धा गर्नु छ । अर्को दश दिनपछि हामी जोर्डनमा हुन्छौँ । एन्फाले छनोटका लागि केही तयारी गरेको छैन । एन्फाले मेरो कुरा एउटा कानबाट सुन्छ र अर्को कानले उडाउने गरेको छ । यसबाट म दुःखी छु । यसपटक मलाई कसैले सहयोग गरेन । एन्फाले लिगलाई निरन्तरता दिनुको सट्टा खेलाडीलाई धेरै अगाडि नै क्याम्पमा राख्नुपर्ने थियो । मेरो विश्लेषणमा एन्फाले केवल पैसाका लागि फुटबल खेलाइरहेको छ । जतिसक्दो चाँडो लेग सकाएर एन्फा आनन्द लिने विचारमा छ । मेरो अनुभवमा यस्तो चलन कहीँ पनि देखिएन । धेरै फुटबल राष्ट्रले राष्ट्रिय टिमलाई नै पहिलो प्राथमिकतामा राख्छन् । त्यसपछि मात्र लेग । तर, नेपालको परिवेश भने बिलकुलै फरक छ । यहाँ त फोहोरी खेल भइरहेको छ ।
फिफा बरियतामा जोर्डन नेपालभन्दा ६४औँ स्थान माथि छ । माथिल्लो लेभल टोलीविरुद्ध प्रतिस्पर्धा गर्न त्यहीअनुरूपको तयारी हुनुपर्छ । त्यसपछि मात्र सो टोलीलाई कडा टक्कर दिन सकिन्छ । तर, नेपालको तयारी आउँदो आइतबारदेखि मात्र हुन्छ । अझ पूर्वी तथा मध्यएसियामा फुटबल खेल्नु निकै गाह्रो छ । मुरुभूमि मुलुकमा प्रतिस्पर्धा गर्न नेपालजस्तो राष्ट्रलाई धेरै कठिनाइ हुनेछ । जोर्डनको हावापानीसँग घुलमेल हुन मैले एन्फालाई ओमान वा अन्य मध्यपूर्वी एसियाविरुद्ध मैत्रीपूर्ण खेलको प्रस्ताव राखेको थिएँ । एन्फाका अध्यक्ष थापा यतिवेला मेक्सिकोमा हुनुहुन्छ । थापाको अनुपस्थितिमा एन्फा चलाइरहेका पदाधिकारी मेरो कुरै सुन्न तयार भएनन् । थापा आएपछि म यससम्बन्धी कुरा गर्छु । अझ जोर्डनमा फ्लोड लाइटमा खेल्नु छ । धेरै नेपाली खेलाडी फ्लोड लाइटमा खेलेका छैनन् ।
मैले सुनेअनुसार ६ वर्षअघि मात्र नेपाली खेलाडीले फ्लोड लाइटमा अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए । यो पनि मेरो टाउकोदुखाइ भइरहेको छ । 
जोर्डनले भने नेपालविरुद्ध खेल्न तीन अभ्यास खेल खेलिसक्यो । उनीहरूको तयारी दह्रो देखिन्छ । जोर्डनले साउदी अरब, यमन तथा सिरियासँग मैत्रीपूर्ण म्याच खेलेको अवस्था छ । जोर्डन पुगेपछि हामीले दुई वा तीन दिनमात्र अभ्यास गर्न अवसर पाउनेछौँ । र, थाकेका खेलाडीले सतप्रतिशत नतिजा निकाल्न सक्दैनन् । अझ मेरा खेलाडीले लेगमा सबै शक्ति खर्चेका छन् । विश्वकप छनोटका लागि भनेर उनीहरूसँग ऊर्जा नै बाँकी रहेन । जोर्डनको यात्रामा नेपालले बहराइनमा आठ घन्टा ट्रान्जिटमा बस्नुपर्छ । यो पनि मेरो चिन्ताको विषय बनेको छ । 
विश्वकपको दोस्रो चरण छनोट तयारी सोचेअनुरूप हुन नसके पनि मलाई यति विश्वास छ कि नेपाली टिमले जोर्डनलाई कडा चुनौती दिनेछ । चार महिनाअघि र अहिलेको नेपाली टिममा धेरै परिवर्तन आइसकेको छ । अहिले मेरा खेलाडीको आत्मबल दहि्रलो छ । उनीहरू कुनै पनि टिमलाई हराउन सक्ने क्षमता राख्दछन् । नेपाली खेलाडी धेरै राम्रो कन्डिसनमा छन् । अल्छी खेलाडी निकै मिहिनेती भइसकेका छन् । नेपाली खेलाडी प्रतिभावान् छन् । यदि हामीले जोर्डनको भूमिमा मध्यमस्तरको प्रदर्शन गरेको खण्डमा पनि दोस्रो लेगमा उनीहरूलाई हराउनेछौँ । पहिलो लेगमा जस्तो नतिजा भए पनि हामीले काठमाडौंमै हुने दोस्रो लेगमा उनीहरूलाई हराउँछौँ । घरेलु मैदान तथा समर्थकबीच नेपाली खेलाडीले विश्वस्तरीय प्रदर्शन गर्न सक्छन् । यसकै आधारमा जोर्डनलाई दोस्रो लेगमा पराजित गर्ने विश्वास छ । 

बार्सिलोनाकै शैलीमा खेल्नेछ नेपाली टोली
नेपाली टिमलाई स्पेनिस क्लब बार्सिलोनाझैं बनाउने प्रयासमा छु । केही महिनाअघि सम्पन्न बिम्बली रंगशालामा बार्सिलोना र म्यानचेस्टरबीचको च्याम्पियन्स लिगको फाइनल रहेको थिएँ । त्यो खेलमा बार्सिलोनाको मुभ यति सुन्दर थियो कि त्यसको बयान नै गर्न सक्दिनँ । त्यही शैलीमा मैले नेपाली टिमलाई प्रशिक्षण गराएको छु । मैदानभित्र खेलाडीबीचको आपसी तालमेल, वान टु पास तथा प्राविधिक पक्ष बार्सिलोनाको बलियो छ । केही हदसम्म त्यसमा सफल भएको छु । ठ्याक्कै बार्सिलोनाको बल पोजिसनको अवधारणा लिएको छु । नेपालको प्रशिक्षक हुँदासम्म म बार्सिलोनाकै शैलीलाई पछ्याइरहनेछु । मेरो लक्ष्य भनेको नेपाललाई फिफा बरियतामा ११५ देखि १२० औँ स्थानसम्म पुर्‍याउने हो । 
यदि भविष्यमा नेपालले फुटबलमा विकास गर्ने हो भने नेपाल सरकार वा एन्फाले यहाँ चार-पाँचवटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्नुपर्छ । जति धेरै अन्तर्राष्ट्रिय रंगशाला हुन्छन् त्यति नै मैत्रीपूर्ण खेल खेल्न सकिन्छ । म्याच एक्सपोजर पनि फुटबल विकासको एक माध्यम हो । तर, झरीको सिजनमा हिल्लाम्मे हुने रंगशालामा नेपालले फुटबल विकास गर्न सक्दैन । यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको छैन । युरोपमा यस्तोखाले रंगशालामा म्याच नै हुँदैन । जति धेरै अन्तर्राष्ट्रिय म्याच खेलिन्छ त्यही नै फिफा बरियता बढ्ने गर्छ । nayapatrika

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :