हुकिङ हटाउन गएका विद्युत् कर्मचारी ज्यान जोगाएर भागे
Posted by
purwanews
Published on
Monday, May 9, 2011
विद्युत् चोरी गर्न पोलमै झुण्ड्याइएको हुकिङ हटाउन मोरङको एक ग्रामीण बस्तीमा पुगेका विद्युत् प्राधिकरणका कर्मचारीलाई गाउँलेले लखेटेका छन्। हुकिङ हटाउन प्राधिकरणका कर्मचारीले प्रयोग गरेका को १ घ ३४ नम्बरको ट्रक पनि उनीहरुले तोडफोड गरिदिएका छन्।
विद्युत् चोरी हुने इलाकामा ‘लोडसेडिङ’ को समय थपेर सजाय दिने नीति प्राधिकरणले सार्वजनिक गरेलगत्तै मोरङको बुधनगर गाविसमा हुकिङ हटाउन गएका कर्मचारी ‘विद्युत् चोर’ को आक्रमणमा परेका हुन्। आइतबार साँझ आधा दर्जनको सङ्ख्यामा बुधनगर पुगेका प्राधिकरणका कर्मचारीले पोलको ‘हुकिङ’ हटाउन खोज्दा गाउँले जाइलागेका थिए। गाउँलेले लखेट्न थालेपछि विद्युतका कर्मचारी भागेर ज्यान जोगाएको प्राधिकरणले जनाएको छ।
हुकिङ हटाउन गएका विद्युत् कर्मचारीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बुधनगरका जय मण्डल सरवरिया, सन्तोष ठाकुर, बाबुलाल सरवरिया र शङ्कर सरवरियालाई हिरासतमा लिएको छ। विद्युत् प्राधिकरण विराटनगरका प्रमुख सतीश कर्णले हुकिङ गरेर विद्युत् चोरी गर्ने चारैजना तोडफोडको क्षतिसमेत गरी जनही ८ हजार ३ सय ७५ रुपैयाँ जरिवाना तिराएपछि हिरासत मुक्त भएको बताए।
प्राधिकरणको हुकिङ हटाउने अभियानअन्तर्गत सोमबार विराटनगरबाट शीतकुमार उराउ, बलदेव यादव, अजय राई, लक्ष्मी मण्डल, प्रदीप शाह, विनोद चौधरी, शान्तलाल उराउ, आसनारायण चौधरी, कमलेश्वर पासवान, दरिन्द्र साह, अजय शाह, अवोध नारायण सरदार, रामअवतार शाह, दुखाराम बैदार, श्यामलाल चौधरीलाई पक्राउ गरेको छ। विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले हुकिङ हटाउन मोरङमा अभियानै चलाएको छ।
प्राधिकरणका अनुसार विराटनगरको वडा नम्बर ६, ७, १५, १६, १८, १९ र २२ मा हुकिङ गरेर बढी विद्युत् चोरी हुन्छ। मोरङमा हुकिङ गरेर विद्युत् चोरी हुँदा प्राधिकरणको मासिक आम्दानीको १७ प्रतिशत नोक्सानी भइरहेको छ। महिनाको तीन लाख ५० हजार युनिट विद्युत् हुकिङले नै चुहावट भइररहेको कर्णको भनाई छ। मोरङमा विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या एक लाख ५० हजारभन्दा बढी छ।
विराटनगर, वैशाख २६- Nagariknews
प्रतिक्रिया दिनुहोस् >>
