यौन र यौनिकता
Posted by
purwanews
Published on
Sunday, May 8, 2011

हामी टेलिभिजनमा सिरियल हेर्न व्यस्त थियौं। कोठामा ९ वषर्या बालिका आफ्नो बालसुलभ चरित्रअनुरूप एक्लै खेलिरहेकी थिइन्। यसै क्रममा उनको दृष्टि कुनातिर रोल गरेर राखेको एउटा पुरानो पोस्टरमा पर्यो। बालिकाले त्यो पोस्टर खोलेर हेरिन्। पोस्टरमा यो संसारमा राम्रो काम गर्ने मानिसले मरेपछि परलोकमा कस्तो सम्मान पाउँछ तथा नराम्रो काम गरेपछि कस्तो सजाय भोग्नुपर्छ भन्ने सचित्र जानकारी दिइएको थियो।
तस्बिरमा उल्लेखित विभिन्न काम तथा मृत्युपछि भोग्नुपर्ने परिणाममध्ये एक कर्म परस्त्रीगमन रहेछ। उक्त काम गर्ने व्यक्तिले परलोकमा भोग्नुपर्ने सजायका विषयमा त्यही तस्बिरको दायाँ कोलममा देखाइएको थियो। सजाइएको तस्बिरमा ठूलाठूला सिङ तथा दाह्रासहितको अजङ्गको यमदूतले एक पुरुषलाई उल्टो पारी ठूलो कराहीमा माछा तारेझैं टाउको चोप्न लागेको थियो।
बालिकाले राम्रोसँग तस्बिर हेरिन्। त्यसमा लेखिएका कुरा पनि पढिन् अनि मनमा उब्जिएका जिज्ञासा मेटाउन आफ्नी आमालाई कोट्याइन्-'आमा, परस्त्रीगमन भनेको के हो ?'
आमाले बालिकाको कुरामा वास्ता राखिनन्। त्यसपछि बालिकाले फेरि आफ्ना कुरा नसुन्ने आमाको नजिक गएर फेरि सोधिन्-'भन्नुहोस् न आमा, परस्त्रीगमन भनेको के हो ? '
यसपटक आमाले टर्रो भाषामा छोरीको प्रश्नको उत्तर दिइन् 'केही होइन चुप लाग'
आमाले थर्काउँदैमा बालिकाको मन किन शान्त हुन्थ्यो र ? यस्तो डरलाग्दो सजाय के काम गर्दा हुँदोरहेछ भनेर जान्ने इच्छा बालिकाको मनमा सल्बलाई रह्यो। उनले फेरि आमासँग उही कुरा सोधिन्। बालिकाको प्रश्नले वाक्क भएकी आमाले उनको गालामा एक झापड दिँदै भनिन्-'तेरो टाउको हो।' पिटाइको चोटले बालिका रुन थालिन्। उक्त घटनाप्रति मेरो प्रतिक्रिया सुनेपछि ती महिलाले भनिन्-'केटाकेटीलाई छाडा बनाउनु हुन्न दिज्यू। छिमेकीमा के घटना घट्यो हजुरलाई थाहै छ नि ....।'
केही समयअघि यही टोलकी १७ वषर्या किशोरी राति सुतेकै अवस्थामा मरिन्। मानिस मर्नुका धेरै कारण हुन्छन्। ती महिलाको विचारमा मर्ने किशोरी उत्ताउली थिइन्। विवाहअघि भएको गर्भधारणका कारण उनी आत्महत्या गर्न विवश भएकी थिइन् । केटाकेटीलाई छाडा बनाउँदा यही परिणाम आउँछ। उनको छाडापनको परिभाषा मैले बुझिन तर उनी भन्दै थिइन्, यौनसँग सम्बन्धित कुरामा केटाकेटीलाई अनभिज्ञ राख्नुपर्छ नत्र उनीहरू बिग्रन्छन्। आमाबुवा एवं कुलको नाक काट्छन्।
हाम्रो समाजका यौनप्रतिको धारणा कस्तो छ भन्ने कुरा उल्लिखित सानो घटनामा बताइएको छ। समाजमा मानिस यौन तथा यौनसँग सम्बन्धित शब्द उच्चारण गर्न असजिलो मान्छन्। हाम्रो मूल्य-मान्यताअनुसार यौनलाई अश्लील एवं गोप्य मानिन्छ । कतिपय मानिस रिसले यौनजन्य शब्द प्रयोग गर्छन्। यसबाट के स्पष्ट हुन्छ भने यौन तथा यौनिकतालाई हाम्रो समाजले निम्न स्तरमा राखेको छ ।
यौन तथा यौनिकता व्यक्तिको जन्मदेखि सुरु भएर मृत्युसम्मका विभिन्न क्रियाकलापसँग सम्बन्धित हुन्छ । हाम्रो समाजले भने यसलाई केवल यौन सम्पर्कमा मात्र सीमित राखेको छ । यौन सम्पर्क व्यक्तिको व्यवहार हो । यसले एउटा निश्चित क्रियाकलापलाई मात्र संकेत गर्छ तर वास्तविक यौन तथा यौनिकता यतिमा मात्र सीमित छैन । यसले ठूलो क्षेत्र ओगटेको छ । मानव यौनिकताले जीवजन्तु, कीरा फट्याङ्ग्राको जस्तो यौन क्रियाकलापलाई मात्र नभई मनोवैज्ञानिक प्रतिक्रियाहरूलाई पनि समेटेको छ । केटा वा केटीको जैविक, शारीरिक तथा भावनात्मक परिवर्तन के कस्ता हुन्छन्, महिनावारी के हो ? यौनसम्पर्कको परिणाम के हुनसक्छ ? यौनदुराचार के हो ? यसबाट बच्ने उपाय के हो ? यौन सम्बन्धका फाइदा बेफाइदा । यस सम्बन्धमा अपनाउनुपर्ने सावधानी के हुन् ? व्यक्तिले आकर्षक व्यक्तित्व कसरी बनाउने ? परिवार तथा साथीसँग सुसम्बन्ध कामय राख्न के-कस्ता गुण चाहिन्छन् आदि सम्पूर्ण कुरा समेटेको हुन्छ ।
यौन शिक्षाले यौनाङ्गको बनावट तथा क्रियाहरूका सम्बन्धमा मात्र नभएर किशोरावस्थामा देखापर्ने परिवर्तनहरू -शारीरिक परिवर्तन, संवेगात्मक वा भावनात्मक परिवर्तनहरू, यौन इच्छा वा उत्सुकताको वृद्धि मानव प्रतिष्ठा अन्तरव्यक्ति सम्बन्ध परिवारमा भूमिका परिवर्तन, परिवार तथा समाजमा महिलाको स्तर महिला तथा पुरुषबीच जिम्मेवारीपूर्ण सम्बन्ध, यौन सम्बन्धमा एक-अर्काबीच समझदारी आदि सम्पूर्ण कुराको पनि जानकारी दिन्छ।
यौन तथा यौनिकतासम्बन्धी ज्ञान भए व्यक्तिले आफ्ना भावना तथा यौन आवश्यकताहरू सही स्थानमा सही तरिकाबाट व्यक्त गर्न सक्छन्। यौन शिक्षा पाएका व्यक्ति यौन सम्पर्कलाई आफ्नो अधीनमा राख्न सक्छन्। यस्ता व्यक्तिले कहिल्यै अर्काको इच्छा विपरीत यौन सम्पर्क राख्दैनन्।
यौन तथा यौनिकताको ज्ञान किन ?
किशोरावस्थामा प्रवेश गर्नु भनेको शारीरिक रूपले परिपक्व हुने क्रम सुरु हुने मात्र नभएर किशोर-किशोरीहरूको मनमा यौनसम्बन्धी भावना, बानी-बेहोरा, लवाइ-खवाइ र दृष्टिकोणमा आउने परिवर्तन पनि हो । यौवनावस्थामा पुगेपछि किशोर-किशोरीहरू आफ्नो यौनिकताप्रति जागरुक हुन थाल्छन् । यो अवस्थामा मानिसले अरूका बारेमा यौनिक कल्पना गर्छ । उनीरूमा यौन सम्पर्क गर्ने चाहना पनि जाग्न थाल्छ तर यौनसम्पर्क आफैमा एक जटिल कार्य हो । विचार नपुर्याई गरिने यौन सम्पर्कले खतरनाक परिणाम दिन्छ । त्यसैले किशोरावस्थामा पुगेका हरेक केटाकेटीले यौन तथा यौनिकतासम्बन्धी सामान्य
ज्ञान पाउनुपर्छ।
किशोरावस्थाका केटाकेटीमा साधारणतया शारीरिक तथा मानसिक विकास परिपक्व भैसकेको हुँदैन । यो समयमा उनीहरूका मनमा अनेकौं जिज्ञासा आउँछन् । आफ्नो जिज्ञासा र समस्यालाई प्रस्ट रूपमा अभिभावकसमक्ष राख्ने परम्परा तथा वातावरण हाम्र्रो समाजमा नभएका कारण किशोर-किशोरीले आफ्ना लागि के गर्दा राम्रो हुन्छ र के गर्नु बेठीक हो भन्ने कुरा ठम्याउन सक्दैनन् । हाम्रो सामाजिक मूल्य-मान्यताअनुसार केटाकेटीले यौनसम्बन्धी जिज्ञासा आमाबुवा वा आफूभन्दा ठूलो कसैसँग सोध्न सक्दैनन् । अबोध बालबालिकाले समेत कुनै जिज्ञासा राखे सजायको भागिदार हुने यो समाजमा उमेरको हार्मोनले मनमा ल्याएको खुल्दुली कहाँ, कसरी मेट्ने ? मनमा उठेका जिज्ञासाले सही उत्तर जान्न खोज्छ । त्यसको समाधान नपाउँदा केटाकेटीहरू मनको खुल्दुली मेटाउन अञ्जानमै बजारमा बिक्री हुने अश्लील यौनसम्बन्धी पुस्तकहरू पढ्छन् अथवा अश्लील काम कुरा गर्न सिपालु यौन पिपासुका फेला पर्छन् । त्यस्ता व्यक्तिलेे उनीहरूलाई यौन सम्बन्धमा आउन सक्ने खतराबाट बच्न सघाउ पुर्याउँदैन । बरु त्यो मानिसले आफूले नै अनभिज्ञलाई सजिलै यौन शोषण गर्छ वा केटाकेटीलाई अश्लील यौन व्यवहारमा अघि बढाउँछ । जसले गर्दा किशोर-किशोरीको जिन्दगी नै बर्बाद हुन्छ ।
यौन शिक्षा केका लागि ?
यौन शिक्षा भनेको किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा संवेगात्मक र भावनात्मक परिवतर्नका सम्बन्धमा किशोरावस्थाका केटाकेटीलाई जानकारी दिएर उनीहरूलाई यौन सम्बन्धमा आउन सक्ने खतराबाट बचाउनु हो । समय र उमेरअनुसार किशोरावस्थाका केटाकेटीको मनमा यौनसम्बन्धी खुल्दुली देखापर्छ । यो खुल्दुलीको उपयुक्त उत्तर नपाउनु किशोर-किशोरीका लागि खतरा हो । यो यथार्थ हुँदाहुँदै पनि किशोर-किशोरीको मनमा लागेका यौनसम्बन्धी जिज्ञासा वा समस्यासम्बन्धी जानकारी लिने सही माध्यम हामीकहाँ छैन।
भनिन्छ-समाज त्यति बेला नै लाभान्वित हुन्छ जब किशोरावस्थाका केटाकेटी आफ्ना बुवाआमा तथा अभिभावकसँग यौनिकताका विषयमा छलफल गर्न सक्षम हुन्छन् ।
विश्वमा भएका अनु-सन्धानहरूले के देखाएका छन् भने यौन शिक्षाले मानिसको यौन गतिविधि बढाउनमा सहयोग पुर्याएको छैन । बरु यसले किशोर-किशोरीलाई यौन सम्बन्धमा आइपर्ने जोखिमबाट मुक्त राखेको छ। यसले किशोरावस्थाका केटाकेटीलाई यौन स्वास्थ्यको समस्याबाट बचाउन सघाउ पुर्याउएको छ।
यौन शिक्षाको अर्थ कामसूत्रका विषयमा केटाकेटीलाई रटाउनु होइन । किशोरावस्थामा आउने हरेक परिवर्तनका विषयमा उनीहरूले जानकारी पाउनुपर्छ । यसका लागि परिवार, स्कुलका शिक्षक-शिक्षिका, अभिभावक एवं संघसंस्थाले आफ्नो दायित्व पूरा गर्नँपर्छ । यो समयको माग भएकाले यसलाई स्वीकार गर्नैपर्छ । (Naari)
प्रतिक्रिया दिनुहोस् >>