एसियाका लागि अमेरिकी किल्ला : भारत


यसपटकको तिहार आम नेपालीको लागि समग्रमा खासै उल्लासपूर्ण रहेन होला । तर नेपालको छिमेकी राष्ट्र भारतको लागि भने यसपटकको तिहार विशेष रह्यो । विशेष यस कारण की यो वर्षको तिहारमा विश्वको सबैभन्दा शक्तिशाली मानिएको अमेरिकाका राष्ट्रपती बाराक ओबामाले भारतको भ्रमण गरे । त्यो पनि तीन दिनसम्म ।
अमेरिकी राष्ट्रपतीले यती लामो समय भारतमा बिताउनु भारतको लागि पहिलो घटना थियो । त्यसमाथि आफू राष्ट्रिपती भएपछि उनले गरेको पहिलो लामो विदेश भ्रमण थियो यो । अझ ओबामाले भारतमा आएर जे गरे, त्यो भारतले कहिल्यै बिर्सन सक्दैन ।
विश्वको शक्ति सम्राट मानिएको अमेरिकाका राष्ट्रपतीले तीन दिनको अवधिमा अधिकांश समय भारतका सामान्य जनता तथा कर्मचारीहरुसँग बिताए । ओबामाले बालबालिकाहरु कुरा गरे, नाचे अनि फोटो खिचाए । यो दृश्य जसले देख्यो, अचम्ममा पर्यो । किनकी कुनै पनि देशका राष्ट्राध्यक्ष अर्को देशमा गएर त्यहाँका नागरिकहरुसँग रमाएको, नाचेको घटना विरलै हुने गर्छ ।
ओबामाले भारतमा आफ्ना थुप्रै समर्थकहरु बनाए । आर्थिक, सामरिक शक्तिसम्पन्न राष्ट्रपतीलाई भारतमा दिपावली झै स्वागत गरियो । ओबामाको यो भारत भ्रमणलाई लिएर भारतमा त निकै सनसनी नै फैलियो । ओबामाको यो भ्रमणबाट भारतले के पायो भन्ने विषय मुख्य होइन, बरु अमेरिकाले के लियो भन्ने विषय प्रधान हो । साना केटाकेटीहरुसँग नाच्नु, सामान्य किसानहरुसँग कुरा गर्नु विश्वको सबैभन्दा शक्तिशाली साम्राज्यका मालिक ओबामाको समय बिताउने मेलो त पक्कै होइन । त्यो पनि अमेरिकाका राष्ट्रपतीको लागि ।
ओबामा भारत किन आए र भारतमा के कस्ता विषयमा छलफल गरे भन्ने विषयमा थुप्रै अड्कलबाजी भइरहेका छन् । बिग्रँदो आर्थिक अवस्थाका कारण आफ्नो देशमा निरन्तर विरोधको सामना गर्दै आएका ओबामा भारतीय जनताको वाही वाही बटुल्न र तिहार मनाउन मात्र आएका थिए त ?
ओबामाको भ्रमण अमेरिकामा बढ्दै गएको बेरोृजगारी समस्या समाधानतर्फ केन्द्रित थियो । आर्थिक मन्दी र त्यसले अमेरिकी अर्थ व्यवस्थामा ल्याएको संकटका कारण अमेरिकामा बेरोजगारहरुको संख्या निकै बढेको छ । अमेरिकामा दुई करोडको संख्यामा बेरोजगारहरु रहेको अमेरिकाको श्रम तथ्याङ्क विभागले हालै प्रकाशमा ल्याएको छ । बढ्दो बेरोजगारीकै कारण ओबामाको अमेरिकामा आलोचना समेत सुरु भइसकेको अवस्थामा ओबामाले व्यापारको कुरा गर्नुमा अचम्म नमाने हुन्छ । ओबामाले भारतसँग केही त्यस्ता सम्झौताहरु गरे, जसबाट अमेरिकाका ५० हजार बेरोजगारले रोजगार पाउने वातावरण बनेको छ । अमेरिकाका केही जहाजहरु समेत भारतले किन्न सहमती जनायो । सिधासिधी हेर्दा ओबामाको भारत भ्रमण सामान किनबेचको लागि जस्तो देखिन्छ ।
तर सामरिक र राजनीतिक हिसाबले यो भ्रमण विशेष महत्वपूर्ण छ । किनकी भारतमा जुन तरिकाले ओबामा आए अनि भारतको प्रशंसा गरे, अनि भारतलाई सहयोग गर्ने वचन दिए, त्यसको आधारमा अमेरिका भारतलाई दोस्रो अमेरिका बनाउन चाहन्छ भन्ने संकेत मिलेको छ । ओबामाले भने कि एक्काइसौं शताब्दीमा यदी कुनै महत्वपूर्ण साझेदारी हुन्छ भने त्यो अमेरिका र भारतबीच हुन्छ । भनाईको तात्पर्य विश्वमा सबैभन्दा ठूलो आर्थिक तथा सामरिक शक्तिसम्पन्न राष्ट्र अमेरिका भारतसँग हातेमालो गर्न चाहन्छ । भारतको विशाल बजारमा आफ्ना सामान बेच्न चाहन्छ भने भारतको सम्पत्तीलाई अमेरिकामा लगानी गराउन चाहन्छ । ओबामा भारत आएर केही सामान त बेचि नै सकेका छन् । भारतलाई हतियार र प्रविधि बेचेर अमेरिका धनी हुन चाहन्छ । किनकी ओबामालाई थाहा छ कि संसारमा अब कुनै देशलाई ठूलो परिमाणमा हतियार चाहिन्छ भने त्यो भारतलाई चाहिन्छ ।
भारतले पछिल्लो समयमा आर्थिक रुपमा निकै प्रगती गरेकोछ । एक अर्ब जनसँख्या रहेको भारतमा ३५ प्रतिशत मानिसहरु गरिबीको रेखामुनी छन् । तथापी भारतको आर्थिक वृद्धिदर, भारतीय धनाढ्यहरुको बढ्दो सम्पत्ती, शैन्य क्षेत्रमा भारतको रुचीका कारण अमेरिकाले भारतसँग साझेदारीको प्रयास गरेको हुनसक्छ । किनकी आर्थिक तथा भौतिक विकासको क्षेत्रमा विकासको तीव्र गती समातिसकेको भारतलाई अब सैन्य रुपमा सुसज्जित बनाएर भारतलाई एसियाको महत्वपूर्ण किल्ला बनाउन अमेरिकाले कदम चालिसकेकोछ । यति गरिसकेपछि विश्वकै अर्को शक्ति राष्ट्र चीनलाई उसैको भुमीमा चुनौती दिने रणनीति अमेरिकाको नहोला भन्न सकिन्न ।
चीन अन्य देशको आन्तरिक मामलामा सितिमीती हस्तक्षेप गर्दैन । तर पछिल्लो समयमा चीन विरोधी गतिविधि हुने डरले चीनले आफ्नो सीमा क्षेत्रमा सेना परिचालन गरेको छ, जसलाई भारतले विरोध गर्दै आएको छ । अझ भारतले तिब्बतका धार्मिक नेता दलाई लामालाई भारतले संरक्षण दिएको भन्ने आरोप चीनले लगाउन थालेपछि चीन र भारत बिचको सम्बन्ध चिसिएको छ ।
भारत भ्रमणको बेलामा संसदलाई सम्बोधन गर्दै ओबामाले चीनसँग पनि राम्रो सम्बन्ध बनाएर जानुपर्ने सल्लाह दिएतापनि अब भारत र चीन बिचको सम्बन्ध झन्े चिसिने अनुमान गरिएको छ । चीनको सम्बन्धमा भारत अब कहिल्यै सकारात्मक हुन सक्दैन । झन् अमेरिकासँगको सहकार्यपछि त भारतले चीनसँग निहुँ खोज्न सक्ने सम्भावना छ । अब चीनले भारतको सामना गर्नु भनेको अमेरिकाको सामना गर्नु हो । यता चेपुवामा परेको नेपालले त्यसबाट जोगिने उपायको खोजि गर्नुपर्ने देखिन्छ । किनकी नेपालको सीमा नजिकै भारत र चीनले आफ्ना सामरिक शक्तिको परिक्षण गर्ने गरेका छन् । यो समग्रमा नेपालको लागि पक्कै हितकर छैन ।
ओबामाको भारत भ्रमणका क्रममा भारतको जिज्ञासा ओबामाले पाकिस्तानको बारेमा के भन्छन् भन्नेमा नै बढी थियो । किनकी अमेरिकाले एसियामा पाकिस्तानलाई काखी च्यापेको छ, जुन भारतको कट्टर दुस्मन नै मानिन्छ । विशेषतः अमेरिकाले जहिलेदेखि अलकायदा विरुद्ध संघर्ष थाल्यो, त्यो समयदेखि अमेरिकाले पाकिस्तानको साथ सहयोगलाई महत्वपूर्ण ठानेको छ । अमेरिकाको सहयोग पाएर पाकिस्तान अमेरिकाप्रति बफादार छ । तर पाकिस्तानलाई आतंककारीहरुले आफ्नो आश्रय स्थान बनाइरहेको कुरा अमेरिकालाई पनि थाहा छ । तर अफगानिस्तान र इराकमा आफ्नो ठूलो लगानी गरिसकेको अमेरिकाले पाकिस्तानसँग जोरी खोजेर एसियामा टिक्न सकिँदैन भन्ने कुरालाई स्वीकारेको छ । सोही सेरोफेरोमा भारतसँगको यो नयाँ सम्बन्धको सुरुवातलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिले यसलाई पाकिस्तानलाई प्रहार गर्न अमेरिकाले एसियामा बनाएको किल्ला पनि मानेका छन् । किनकी भारत कुनैपनि हालतमा पाकिस्तानसँग सम्झौता गर्न तयार छैन र पाकिस्तानलाई हराउनको लागि अमेरिकाले आफूलाई सहयोग गरोस् भन्ने चाहन्छ । तथापी ओबामाको शासनकालसम्मका लागि मात्र भएपनि यसो गर्नु अमेरिकाको लागि हितकर छैन ।
कास्मिरको विषयलाई लिएर पकिस्तान र भारतबीच तनाव कायम छ । सोही विवादका कारण नै समय समयमा हिंसात्मक घटनाहरु समेत हुने गरेका छन् भने भारतले केही अगाडी मुम्बइ आक्रमणको समेत सामना गरीसकेकोछ । जसका अभियुक्त पाकिस्तानि भएको भारतको ठहर छ । त्यसैले पनि बितेको चार दिन भारतले ओबामालाई पाकिस्तानविरुद्ध उक्साउने हरसम्भव प्रयास गर्यो । तर ओबामा पाकिस्तानसँग दुस्मनी साँधेर क्षती व्यहोर्नु भन्दा साथी बनाएर अल कायदालाई तह लगाउन उत्तम ठान्छन् । किनकी त्यसो गर्नु भोली भारतको लागि मात्र नभइ भारतमार्फत् अमेरिकाको लागि पनि घातक छ । किनकी अमेरिकाले भारतलाई आफ्नो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार बनाउन खोजिरहेको छ । भारतमा अस्थिरता उत्पन्न भयो भने अमेरिकाको अर्थ व्यवस्थामा पनि असर पुग्नेछ ।
ओबामाले भारत भ्रमणका क्रममा बिताएको समयको पुरापुर मोल पाए । केही जहाजहरु बेचेर गए भने आफ्नो देशका ५० हजार नागरिकको लागि रोजगारी समेत उपहारस्वरुप लगे । साथ साथ भारतमा आफ्ना युवा फ्यानहरु समेत थपे । युवालाई मात्र होइन, संसदमा ‘जय हिन्द’ भनेर सांसदरुलाई समेत गद्गद् बनाए । सटिक वाक्यले मानिसलाई प्रभावित बनाउने क्षमता राख्ने ओबामाको क्षमताका कारण नै उनले अमेरिकामा हाइ हाइ बटुले ।
ओबामाले भारतलाई समेत केही उपहार दिए । उनले भारतलाई दिएको सबैभन्दा ठूलो उपहार भनेको भारतलाई सुरक्षा परिषद्को स्थायी सदस्यता दिन ओबामा राजी भए । त्यसका बाबजुद सैन्य तथा प्राविधिक क्षेत्रमा सहयोगको आश्वासन समेत दिए ।
ओबामाको आगमनबाट नेपालले दृश्य रुपमा केही पाएन । तर चीनको सिमानामा रहेका कारण ओबामाको आँखा नेपालमा पक्कै पनि परेको छ । आतंकवादविरुद्ध संयुक्त रुपमा अघि बढ्ने ओबामाको प्रस्तावले भारत पनि खुसी छ । पछिल्लो समयमा भारतको टाउको दुःखाइ बनिरहेको भारतीय माओवादीको फैलदोँ हिंसा दबाउन अब भारतले ठूलै आड भरोसा समेत पाएको छ । हेरौं, अमेरिकाले भारतमा रोपेको बिउले कस्तो रुप लिन्छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :