लुटपाटमा प्रहरीनै
Posted by
purwanews
Published on
Sunday, October 10, 2010
काठमाडौं, आश्विन २५ - सुरक्षा दिनु पर्ने प्रहरी लुटपाटमा लागे त्यसप्रतिको जनविश्वास कस्तो होला ? महानगरीय प्रहरी बृत महाराजगन्जमा कार्यररत तीन प्रहरी जवानले जनविश्वास गुमाउने काम गरेका छन्, बुढानिलकण्ठको एउटा घर लुटपाट गरेर । उनीहरुले बुढानिलकण्ठ महाकांलमा बस्दै आएका बिष्णुप्रसाद न्यौपानेको घर लुटेका हुन् । लुटपाटमा प्रहरी जवान कुशल भण्डारी, कोमल बस्नेत र जितेन्द्र हजाराले सहभागी थिए । सर्लाही घर भएका भण्डारी र बस्नेत ७ बर्ष अघि प्रहरीमा भर्ना भएका हुन् भने बारा निवासी हजारा २०६४ सालमा । उनीहरु २०६२ साल देखी महाराजगन्ज बृतमा रहेर सिआरभी गाडी चलाउँदै आएका थिए ।
लुटपाटमा संलग्न प्रहरीहरुलाई पीडितले हुलियाका आधारमा पहिचान गरेका थिए । पीडितले फोनमार्फत् घटनाको जानकारी गराएको थियो । दोषी तीनैजना आइतबारदेखि निलम्बनमा परेका छन् । प्रहरी नियमावलीमा फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि स्वत निलम्बन हुने प्रावधान छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासतमा राखिएको छ । उनीहरु विरुद्ध जबरजस्ती चोरीको मुद्धा दायर गरिने बृतका डिएसपी दीपक थापाले बताए ।
घटनामा संलग्नमध्ये दुई जनालाई पछ्याउदै आएका स्थानीयले बाटैमा समातेका थिए । हजारालाई पीडितले बताएको हुलियाका आधारमा पक्राउ गरिएको थापाले जानकारी दिए । 'मैले कार्यालयमा बोलाएर हुलियाका बारेमा सोधपुछ गर्दै गर्दा लुटपाटमा संलग्न हजारा कार्यालय भित्र छिरेपछि उनीहरुले चिने' थापाले भने 'हजारालाई तुरुन्तै नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना खुल्यो ।'
राती ७ बजे घरमा पुगेका प्रहरी जवानले भित्र पसेर १ लाख रुपैंया मागेको परिवारले जानकारी दियो । 'हामी महाराजगन्ज थानाबाट आएका हौं, एक लाख रुपैंया देउ भने, पैसा छैन भन्दा मलाई पिट्न थाले' न्यौपानेले भने 'घर जानलाई राखेको १२ हजार रुपैंया दिएर पठायौं ।' नुवाकोट घर भएका न्यौपाने परिवार मङगलबार घर जाने तयारीमा थियो ।
घर बाहिर उभिएका प्रहरीले हामी महाराजगन्ज वृत्तबाट सादा पोसाकमा ड्युटीमा खटिएको बताएका थिए । उनीहरुले मागेजति पैसा नभएपछि चाबहिलको कुमारी बचत एवम को-अपरेटिभको नाममा काटेको ५० हजार रुपैंयो चेक लगेका थिए । 'जबरजस्ती हस्ताक्षर गर्न लगाएर लगे' न्यौपाने भने 'आज (आइतबार) ३ बजे पैसा लिन पुग्छौं, खातामा नभए हालिदिनु भन्दै धम्क्याएर हिडेँ ।' उनीहरु माइक्रो चढेर लुट्न गएका थिए ।
लुट्न गएका तीन जना मध्ये एक भित्र पसेको र दुई जना बाहिर बसेको परिवारले जनाएको छ । घरमा न्यौपानेकी आमा, श्रीमती र छोरा छोरी बस्दै आएका छन् ।
आरोपितले आफूहरु त्यसघरमा छापा मार्न गएको दावी गरेका छन् । छापा मार्न जादा कार्यालयका माथिल्लो पदाधिकारीलाई जानकारी गराएर मात्र जाने प्रावधान छ । उनीहरुले यो नियम पूरा गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस् >>
