आफ्नोपनले बनायो विद्यालय
* एसएलसी परीक्षा नजिकिँदै जाँदा अमरसिंह बुड्थापाको व्यस्तता बढ्दै जान्छ। ६० वर्षीय यी वृद्ध साँझको खाना खानेबित्तिकै हातमा टर्च बोकेर परीक्षाको तयारी गरिरहेका विद्यार्थीको घरघरमा चियो गर्न निस्कन्छन्। कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समितिमा चुनाव जितेर अध्यक्ष भएपछि तीन वर्षदेखि उनको यो 'ड्यूटी' नियमित बनेको छ।
* गत जेठ-असारमा विद्यालयकी प्रधानाध्यापक कान्तिका सेजुवाल विद्यालयको कामले काठमाडौं गइन्। त्यतिबेला उनले विद्यालयबाट काज वा बिदा लिइनन्। त्यो सुविधा हुँदाहुँदै उनले काठमाडौं बस्दा विद्यालयमा सट्टा शिक्षक राखिन्।
विद्यालय व्यवस्थापन समिति र शिक्षकको यस्तै मिहिनेत र लगनले कर्णाली माध्यमिक विद्यालय नमूना बनेको छ। २०६३ देखि एसएलसीमा सहभागी सो विद्यालयले जिल्लाका पुराना १९ वटा माविलाई उछिन्दै उत्कृष्ट नतिजा हासिल गरिरहेको छ। कक्षा ८ को जिल्लास्तरीय परीक्षामा पनि सो विद्यालयको शीर्षस्थान छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुड्थापा भन्छन्, 'यहाँका शिक्षक र अभिभावक भित्री मनबाटै विद्यालय बनाउनुपर्छ भनेर लागेकोले विद्यालयले सफलता हासिल गरेको हो।' एसएलसी नजिकिँदै जाँदा उनी विद्यार्थीको घरमा चियो गर्नमात्र पुग्दैनन्, दिनहुँ स्कुल पनि जान्छन्।
गत वर्ष चैतमा अध्यक्ष बुड्थापाले विद्यार्थीको घरगस्ती गर्ने क्रममा तीर्थ बुड्थापा र उनकी बहिनी तिलनलाई पढ्न छाडेर काममा लागेको भेटाए। उनले दाजुबहिनीलाई नपढ्नाको कारण सोधे। उनीहरूले आर्थिक अभावले ट्युसन र कोचिङ पढ्न नपाएको सुनाए।
त्यसपछि उनले विद्यालयमा निःशुल्क कोचिङ व्यवस्था मिलाए। पछि तीर्थ र तिलनले द्वितीय श्रेणीमा एसएलसी पास गरे। यो उदाहरण राख्दै उनले भने, 'के थाहा मैले नभेटेको भए कतै उनीहरूले एसएलसी दिँदैनथे कि?'
कर्णाली माविले सफलता पाउनुमा शिक्षकको हात छ। विद्यालयका १४ शिक्षक जरुरी कामबाहेक बिदा बस्दैनन्। बस्नै परे सट्टा शिक्षक राखेर बस्छन्। 'शिक्षा ऐनमा शिक्षकलाई विभिन्न बिदा व्यवस्था भए पनि हामी त्यसलाई भरसक उपयोग गर्दैनौं,' प्रधानाध्यापक सेजुवाल भन्छिन्, 'पैसाभन्दा ठूलो विद्यार्थीको भविष्य हो भन्ने भावना यहाँका सबै शिक्षकमा छ।' यही कारणले गत जेठमा विद्यालयको काम लिएर काठमाडौं जाँदा आफूले सट्टामा अर्को शिक्षक राखेर गएको उनले बताइन्।
कर्णाली मावि वर्षमा सरदर दुई सय ३० दिन खुल्छ, जुन तथ्य पूरा गर्न जुम्लामात्र होइन, मुलुकका अन्य विद्यालयलाई पनि गाह्रो छ। 'क्यालेन्डरमा रातो लागेकोबाहेक बन्द/हड्ताल वा स्थानीय बिदाका नाममा विद्यालय बन्द हुँदैन,' सेजुवालले भनिन्, 'संकटकालका बेला पनि हाम्रो विद्यालय कसैले बन्द गर्ने हिम्मत गरेनन्।'
विद्यालयले तीन वर्षमै जिशिकासाथै अन्य सरकारी तथा गैरसरकारी दाताको विश्वास जितेको छ, जसले गर्दा विद्यालयको भौतिक संरचना मजबुत भएको छ। 'पर्खाल निर्माणको प्रस्ताव लिएर जानेबित्तिकै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले २० लाख रुपैयाँ दियो,' अध्यक्ष बुड्थापाले भने, 'यसै वर्ष जिविसले ३ लाख र स्थानीय विकास मन्त्रालयले दुई लाख सहयोग गरे।' त्यतिमात्रै होइन, गत वर्ष भक्तपुरकी सभासद् लीला न्याइच्याइँले पनि आफ्नो सांसद क्षेत्र विकास कोषबाट एक लाख रुपैयाँ जुम्लाको कर्णाली माविमा पठाइन्।
यसका साथै विद्यालयले शिक्षा मन्त्रालयबाट एसएलसीमा उत्कृष्ट हुँदा २०६४ मा एक लाख र २०६५ मा चार लाख रुपैयाँ पाएको छ। दाताहरूको सहयोगबाटै विद्यालयले आठवटा भवन निर्माण गरेको छ। कम्प्युटर, फर्निचर, टेलिफोनलगायत आधुनिक साधनले विद्यालय सम्पन्न छ।
यही कारणले विद्यालय अहिले जुम्लाको मात्र हैन, छिमेकी जिल्ला मुगु, कालिकोट र जाजरकोटको समेत आकर्षण बनेको छ। विद्यालयमा अध्ययनरत ४ सय ६० विद्यार्थीमध्ये करिब ५० प्रतिशत लक्षित समुदायबाहिरका रहेको विद्यालयको तथ्यांक छ। विद्यालयले संख्याभन्दा गुणस्तरलाई प्राथमिकता दिने नीतिअनुरुप कक्षा ६ देखि माथि बाह्य भर्ना बन्द गरेको छ। 'भर्ना हुन आउनेजतिलाई सहज भर्ना लिने हो भने विद्यार्थीको भीड थेग्नै सकिँदैन,' प्रधानाध्यापक सेजुवालले भनिन्, 'तल्लो कक्षामा पनि प्रवेश परीक्षा लिएर भर्ना लिन्छौँ।' nagariknews
प्रतिक्रिया दिनुहोस् >>