जनतान्त्रिक पत्रकारिता
चाडबाड सकियो, पुर्वन्युजले पनि खबर मागेको माग्यै थ्यो । के लेखौं भन्ने सोचेर यसो बजारतिर घुम्न निस्केको, यौटा खबरले अचम्मै बनायो मलाई । कति पत्रकारको खेदो खन्दोरछ भन्नुहोला । तर केही पत्रकारले सुनसरी–मोरङ औद्योगिक करिडोरको यौटा उद्योगलाई धम्की दिए रे ।
उद्योगले बद्मासी गरेको खबर पाएर गएका केही राष्ट्रिय र स्थानिय स्तरका टेलिभिजनका पत्रकार गएर उद्योग सञ्चालकलाई कालोबजारी गरेको भन्दै र्याखर्याखति पारे रे । उद्योगीले फट्याइ गरेको, नगरेको त समयले नै बताउला । तर फर्केपछि सुगम काण्ड दोहोर्याइदिन्छु भन्दै बारम्बार फोनबाट धम्की दिए रे ।
गुप्तचरलाई अचम्म लागो । समाचार भेटेसी यसो हुन्छ र उसो हुन्छ भन्दै व्यवशायीलाई धम्की दिनु पत्रकारको काम हो र ? चुपचाप खबर छाप्नु नि । सिरियल समाचार आउँछ भन्दै धम्की दिनु यो त जनतान्त्रिकले जस्तो पैसा दे, नत्र उडाइदिन्छु भने जस्तो पो भो त गाँठे । आखिरमा केही राजनीतिक, भुमिगत र गुण्डा दल र समुहको धम्कीयुक्त वार्गेनिङले पत्रकारितामा पनि ठाउँ पाएछ भन्ने लाग्यो यो गुप्तचरलाई ।
हुन न यस्तो वार्गेनिङ अनि कलम बेचेर खानेहरुको यो शृंखला पत्रकारीताको सुरुवात देखि नै भाको हो । तर पछिल्ला समयमा त झन् चर्कदो पो रछ भन्ने यो गुप्तचरले लख काट्यो ।
पत्रकारितामा माछा बेच्ने, खेती गर्ने व्यवशायीहरु, किसान र कामदार समेत छन् रे । उनीहरुले बकइदा प्रेसकार्ड र महासंघको सदस्यता पनि पाएका छन् रे सुनसरीमा । गैह्र पत्रकारको कारण व्यवशायीक पत्रकारहरुलाई अफ्ठेरो भाको गुनासो पत्रकार मित्रबाट यो गुप्तचरले सुन्ने गर्छ त्यसमाथि आफूलाई व्यवशायिक भन्ने केही पत्रकारहरुले कलम र इमान बेचेर खान थालेपछि समाचार बेचेर खानेलाई साँच्चै गाह्रो भाको अवस्था हो कि भन्नेमा यो गुप्तचर पनि सहमत छ ।
जे होस्, यो अवस्था सुध्रियोस्, जाँदा जाँदै इटहरी नगरपालिकाको यौटा कुरो छ्यास्स चुहाइहालौं । नगरपालिकाका अधिकृतले टाइट गरेपछि कार्यालयका केही कर्मचारीहरु र इटहरीका केही पत्रकारहरु बुरुक बुरुक उफ्रेछन् । अधिकृतले जथाभावी, जो कोहीलाई विना उपयोगी काममा पेट्रोलको कुपन र विज्ञापन नदिने निर्णय गरी कार्यान्वयन समेत गरेछन् ।
झापाका एकजना व्यक्ती (आफूलाइ पत्रकार भन्ने) आएर पेट्रोलको कुपन माग्दा अधिकृतले दिन्न भनेर फर्काइदिएछन् । अनि इटहरीका केही पत्रकारले गरेको विज्ञापनको अनुनय समेत हुन्न भनेछन् । त्यसयता केही पत्रकार र नगरपालिकाको पेट्रोल कुपनमा ढलिपली गर्न पल्केका केही कर्मचारीहरु पनि ठुस्स परेका छन् रे ।
मनपरी गर्न पाउँदा खुसी, अनि अनुशासनमा बस्नुपर्दा ठुस्कने त यो मानिसको पुरानै बानी हो । तर अनुशासन मिच्नेलाई कानमा समाउनै पर्छ है ।
लौ त लाग्यो यो गुप्तचर । फेरी फेरी पनि आउँछ । तपाइले पनि केही कुरा थाहा पाउनुभो भने यो गुप्तचरको लागि पुर्वन्युजको ठेगानामा इमेल पठाउँदा हुन्छ । इमेलको शीर्षकमा भने गुप्तचरको लागि भनेर लेख्नुभो भने त्यो कसैले नहेरी सिधै मकहाँ आइपुग्छ । जदौ ।
प्रतिक्रिया दिनुहोस् >>