घर दैलोमै सरकार
सोलुखुम्बूको डाँडापारिका बासिन्दाले एकै ठाउँबाट गाउँबस्तीमै नागरिकता, अपाङ्गता परिचयपत्रलगायत् जग्गासम्बन्धी र अन्य सेवा पाउने भएका छन्। यस्तो एकीकृत घुम्ती सेवा शिविर सञ्चालनका लागि ४१ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा गएको टोलीले आइतबारदेखि जिल्लाको भकान्जे गाविसबाट घुम्ती सेवा सञ्चालन गर्ने जानकारी दिइएको छ। टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला निर्वाचन कार्यालयका कर्मचारी संलग्न छन्। यस्तै महिला तथा बालबालिका कार्यालय, जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय र केही पत्रकारसमेत टोलीमा सहभागी छन्।
एकीकृत घुम्ती सेवा शिविरबाट नागरिकले आफ्नै घरदैलोमा नागरिकताको प्रमाणपत्र, जग्गा श्रेष्ता कायम, र जग्गा प्रशासनसम्बन्धी कामहरु, अपाङ्गता परिचयपत्र, स्वास्थ्य सेवा, नापीसम्बन्धी सेवा पाउनेछन्। यस्तै पशु स्वास्थ्यसम्बन्धी काम, स्थानीय विकाससम्बन्धी सेवासमेत पाउनेछन्।
प्रत्येक गाविसका लागि ३/३ दिनको समय छुट्याएकोमा शिविरको अन्तिम/अन्तिम दिनमा सम्बन्धित गाविसमा सार्वजनिक सुनवाईसमेत गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए। सार्वजनिक सुनुवाईमा सार्वजनिक सेवा प्रवाह र विकास कार्य, स्थानीय स्तरमा भएका गरेका विकास निर्माणसम्बन्धी कार्यसमेतको सार्वजनिक सुनुवाई हुने जनाइएको छ।
'जनताको घरदैलोमै पुगेर सेवा प्रदान गर्दा आर्थिक समस्या झेल्नु नपर्ने, खर्च जोगिने र आम जनता र सरकारी संयन्त्रबीचको सम्बन्धसमेत प्रगाढ हुन्छ'- प्रमुख जिल्ला अधिकारीले नागरिकसँग भने। यस पटक दोलखाको सिमानामा रहेका गोली, चौलाखर्क र भकान्जे गाविसमा घुम्ती शिविरमार्फत सेवा प्रवाह गरिने भएको हो ।
nagariknews, मङ्सिर १०
प्रतिक्रिया दिनुहोस् >>