एसियामा औद्योगिक गतिविधि घट्यो
Posted by
purwanews
Published on
Friday, October 7, 2011
अन्तर्राष्ट्रिय बजारमा माग घटेपछि ठूला अर्थतन्त्र भएका केही एसियाली देशको औद्योगिक गतिविधि ह्वात्तै घटेको छ । सेप्टेम्बर (भदौ १५- असोज १४) मा चीन, भारत र जापानजस्ता ठूला अर्थतन्त्रको औद्योगिक गतिविधि घटेर सन् २००८ को मन्दीकै अवस्थमा पुग्ने खतरा बढेको छ । औद्योगिक गतिविधिमा देखिएको यस्तो गिरावट अमेरिका र युरोपको खस्कँदो अर्थतन्त्रले थेग्न नसक्ने भय पनि पैदा गरेको छ ।
युरोप र बेलायतमा देखिएको आर्थिक समस्याले विश्व अर्थतन्त्र नै धुमिल देखाएको छ । त्यसैगरी सन् २००८ को नोभेम्बरयता भारतको उत्पादन सबैभन्दा बढी घटेको एचएसबिसी बैंकले निकाल्ने पर्चेसिङ म्यानुफ्याक्चर इन्डेक्स (पिएमआई) ले देखाएको छ । सोमबार सार्वजनिक उक्त तथ्यांकले ताइवानको औद्योगिक गतिविधि ३२ महिनायता सबैभन्दा तल रहेको देखाएको छ । एचएसबिसी बैंकको पिएमआईले उत्पादनमूलक क्षेत्रको अवस्था देखाउँछ ।
चीनको औद्योगिक गतिविधिमा समेत हल्का गिरावट आएको पिएमआई तथ्यांकले देखाएको छ । लामो बिदा पूर्वको समय भएकाले सेप्टेम्बरमा चीनको औद्योगिक गतिविधि तीव्र रहँदै आएको थियो । तर यो महिना चीनको औद्योगिक गतिविधि विगतका वर्षको औसतभन्दा कम छ ।
सेप्टेम्बरमा भारतको पिएमआई घटेर ५० दशमलव ४ मा झरेको थियो । जबकि अघिल्लो महिना यो पिएमआई ५२ दशमलव ६ थियो । अघिल्ला ५ महिनामा भारतको औद्योगिक उत्पादन उच्च मात्रामा बढेको थियो । छैठौं महिनामा देखिएको गिरावटले भविष्य अझ निराशाजनक देखाउँछ ।
चार महिनाको सफलतापछि ताइवानको पिएमआई ५० को रेखामुनि झरेको छ । हाल ताइवानको पिएमआई ४४ दशमलव ५ छ । नयाँ अन्तर्राष्ट्रिय र घरेलु अर्डर घट्दो छ । ताइवानको प्रविधि उद्योग विश्वव्यापी आपूर्ति प्रणालीको अभिन्न हिस्सा भएकाले यहाँका औद्योगिक उत्पादनमा हुने तलमाथिको ठूलो अर्थ हुन्छ । 'खासगरी युरोपको नयाँ अर्डरमा गिरावट आएको छ,' एचएसबिसीले विज्ञप्तिमार्फत भनेको छ ।
सोमबार एसियाको स्टक बजारमा पनि गिरावट देखियो । त्यसबाट मूल रूपमा हङकङ नराम्ररी प्रभावित भयो । विश्लेषकहरूका अनुसार नगद प्रवाह बढाई उक्त समस्याबाट छुटकारा पाउनकै लागि मात्र विदेशी कोष व्यवस्थापकले कारोबार गरे ।
अमेरिकी अर्थतन्त्रमा गिरावट आएपछि अन्तर्राष्ट्रिय बजारमा माग घटेकाले एसियाको औद्योगिक गतिविधि घटेको हो । तथ्यांकले चीन र अन्य एसियाली अर्थतन्त्रमा आएको गिरावट धान्न नसकिने गरी जटिल देखाएको छैन । तर अमेरिका वा युरोपले अर्को आर्थिक मन्दी बेहोर्नुपरे यो समीकरणमा परिवर्तन हुने निश्चित छ । 'विश्वव्यापी अर्थतन्त्रमा हुने मन्दीले चीनलाई ठूलो असर पुग्छ,' बाक्र्लेज क्यापिटलका एक अर्थशास्त्रीले लेखेको 'क्लाइन्ट नोट' मा उल्लेख छ । त्यसमा यो प्रारम्भिक भविष्यवाणि मात्र भएको पनि प्रस्ट पारिएकाले स्थिति कति असहज हुन्छ भन्नेबारे अड्कल मात्र काट्न सकिन्छ । नोमुरामा आबद्ध अर्थशास्त्री झिवेई झाङले चीनको औसत पिएमआई ५५ दशमलव ७ बाट ५० दशमलव ९ मा झरे पनि राम्रो रहेको प्रतिक्रिया दिएका छन् । सन् २००८ मा चीनको पिएमआई झरेर सोही बिन्दुमा पुग्दा लेम्यान ब्रदर्स धराशायी भएको उनले खुलाएका छैनन् ।
सोमबार साँझसम्म सार्वजनिक गरिने युरोपको पिएमआई सर्वेक्षणले युरोपको औद्योगिक गतिविधि खुम्चिएको र अमेरिकाको ५० को रेखाभन्दा केही माथि मात्र रहेको देखाउने अपेक्षा गरिएको छ । गत शुक्रबार सार्वजनिक गरिएको यस्तै सर्वेक्षणले जापानको औद्योगिक गतिविधि ५ महिनायता सबैभन्दा तल रहेको देखाएको थियो । त्यसले भूकम्पपछि आकासिएको अर्थतन्त्र पुरानै अवस्थामा पुगेको देखाएको थियो । तेस्रो त्रैमासिकमा जापानको औद्योगिक आत्मबल बलियो बन्दै गएको देखिए पनि युरोपका ऋण संकटले उद्योगी/व्यवसायी शंकालु रहेको बैंक अफ जापानको सोमबार सार्वजनिक सर्वेक्षणले देखाएको छ ।
एसियामा आशाको किरण कतै बाँकी छ भने त्यो घट्दो औद्योगिक गतिविधिले महँगी नियन्त्रण गर्नु हो । चीन र भारतलगायत मुलुकमा महँगी लक्ष्य मुनि
छ । यी दुई देशमा त्यसले सकारात्मक प्रभाव पारेको छ भने पिपुल्स बैंक अफ चाइना र रिजर्भ बैंक अफ इन्डियाको ब्याज बढाउन परेको चाप केही घटाएको छ ।
आश्विन २०, ekantipur
प्रतिक्रिया दिनुहोस् >>