ज्याकी च्यान लुम्बिनी भ्रमण वर्षका सदभावना दूत
कुंग फु मास्टर तथा अभिनेता ज्याकि च्यान नेपालले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष २०१२ का लागि सद्भावना दूत बन्ने भएका छन् ।
भ्रमण वर्ष २०१२ लाई प्रभावकारी रूपमा मनाउन विभिन्न अन्तर्राष्ट्रिय ख्याती कमाएका व्यक्तित्वहरूलाई मानार्थ लुम्बिनीदूतका रूपमा घोषणा गरिएको छ। आनी छोइङ डोल्मा, ज्याकी च्यान, जु दङयू, टोनी लङ्क, कुनहिङ सुधारत र श्रीलङ्काका सभामुखलाई सदभावना दूत बनाइएको १०८ सदस्यीय मूल आयोजक समितिका संयोजक संस्कृति मन्त्री गोपाल किरातीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
भारतीय कलाकारद्वय साहरूख खान र रेखासित पनि सदभावना दूतका लागि सहमति माग गरिएको उनले बताए।
भ्रमणवर्षका कार्यक्रमलाई सफल बनाउन १३ सदस्यीय राष्ट्रिय सचिवालय समिति पनि गठन गरिएको छ।
सचिवालयको सहसंयोजकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष साङबो शेर्पा र सदस्यहरूमा सांसद लक्की शेर्पा, सचिव दिनेशहरि कोइराला र उद्योगपति सुरज बैद्य रहेका छन्।
सो सचिवालयको आज सम्पन्न बैठकले सचिवालयअन्तर्गत अन्तर्राष्ट्रिय समन्वय, आर्थिक तथा कार्यक्रम व्यवस्थापन, प्रचार तथा प्रकाशन, सुरक्षा व्यवस्थापन विभाग गठन गर्ने निर्णय भएको छ। मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णय गरेको थियो।
चिनियाँ सुपरस्टार ज्याकी चेनलाई मानार्थ दूत बनाउनेबारे सम्झौतै भइसकेको दाबी गरिएको छ । माघमा उनी नेपाल आउने समेत सञ्चारमाध्यममा सार्वजनिक भएका छन् । सरकारी निकाय बेइजिङस्थित नेपाली दूतावास र हङकङस्थित महावाणिज्य दूतावासले भने यसबारे पूर्ण अनभिज्ञता प्रकट गरेका छन् । यद्यपि चीनका लागि नेपाली राजदूत टंक कार्कीले ज्याकीलाई नेपाल भ्रमण गराउन यसअघि धेरैपटक प्रयास गरिएको खुलाए । 'विश्वभर करोडौं प्रशंसक रहेका उनीजस्ता महानायकलाई नेपाल पुर्याउन सके चीन लगायत विश्वभर पर्यटन प्रवर्द्धनमा राम्रै सघाउ पुग्ने थियो,' राजदूत कार्कीले भने, 'धेरैपटक विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरियो तर उहाँको व्यस्तताले सफल भएन ।' करोडौं बौद्ध धर्मावलम्बीहरू रहेको चीनमा लुम्बिनीबारे जनस्तरमै प्रवर्द्धन गर्न ज्याकीजस्ता चर्चित पात्र उपयुक्त माध्यम हुन सक्ने उनको धारणा थियो । लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्र थापा मगरले भने ज्याकीले लुम्बिनी प्रवर्द्धनका लागि मानार्थ दूत बन्न स्विकारेको दाबी गरेका छन् । 'उहाँले हाम्रो प्रस्ताव स्वीकार गरी आफ्नो विवरण समेत पठाइसक्नुभएको छ,' सचिव थापा मगरले भने, 'मानार्थ दूतकै घोषणा गरिएकाले नेपाल पनि आइदिनुस् भन्ने हाम्रो आग्रह हो ।' यद्यपि ज्याकीको भ्रमणबारे भने कुनै टुंगो लागिनसकेको उनले बताए । विभिन्न अन्तर्वार्तामा ज्याकीले आफूलाई बुद्धिस्ट बताउने गरेकाले भने बुद्धको जन्मथलो लुम्बिनीको भ्रमण उनको प्राथमिकता पर्न सक्ने अड्कल काटिएको छ ।
को हुन् ज्याकि च्यान :
हङकङको निम्न वर्गीय परिवारमा जन्मेका चानले आफ्नो फिल्मी करिअर हङकङबाटै सुरु गरेका हुन् । अभिनय र खाना पकाउने कुकिङमा उनको विशेष दक्षता छ । परिवारको आर्थिक अवस्थाका कारण्ण उनी सात वर्षको उमेरदेखि नै खाना पकाउने काममा संलग्न हुँदै आएका थिए । उनले अष्ट्रेलियामा आएर रेष्टुरेन्टमा खाना पकाएका थिए । पछि स्टण्डमास्टर हुँदै उनी अभिनेता बने । युनिसेफका लागि समेत उनले सद्भावना दुत बनेर बालबालिकाको क्षेत्रमा काम गरेका छन् ।
अधिकांश चलचित्रमा वास्तविक स्टन्ट गर्ने ज्याकीको गिनिज वल्र्ड रेकर्डस्मा 'मोस्ट स्टन्टस् बाई अ लिभिङ एक्टर -अत्यधिक स्टन्टस् गर्ने एक जीवित अभिनेता' को उपाधि दर्ज छ । खतरनाक स्टन्टकै कारण चलचित्र छायांकनका क्रममा कतिपय कम्पनीले उनको बिमा गर्न अस्वीकार गरेको समाचार सार्वजनिक समेत भएका थिए । चिनियाँ मार्सल आर्ट सुपरस्टार यिनका प्रशंसक नेपाल लगायत संसारभर छन् ।
१९५४ अपि्रल ७ मा हङकङस्थित भिक्टोरिया पिकमा जन्मेका हुन् ज्याकी । गरिब परिवारमा जन्मेका उनी अस्पतालको खर्च तिर्न समेत आमाबाबुले इष्टमित्रको सहयोग लिनुपरेको उनकै आधिकारिक वेबसाइट 'ज्याकी चेन डट कम' मा उल्लेख छ । कुनै जमानामा अर्का विख्यात चिनियाँ नायक ब्रुस लीको मार्सल आर्ट कलाले संसार पिटेको थियो । अधिकांश चिनियाँ ज्याकीलाई ब्रुस लीकै नयाँ अवतार मान्छन् । पश्चिमा नागरिकमा चिनियाँप्रति सकारात्मक धारणा फैलाउन लीले पुर्याएको योगदानलाई यिनले निरन्तरता दिन सकेकामा पनि चिनियाँहरूको ज्याकीप्रति विशेष स्नेह र सद्भाव छ ।
सन् १९८० मा निर्मित 'दि बिग ब्रल' मार्फत यिनी हलिउड प्रवेश गरेका हुन् । 'रम्बल इन द ब्रन', 'पोलिस स्टोरी' लगायतका चलचित्रले यिनलाई अमेरिकी बजारमा चिनायो । १९९८ मा निर्मित एक्सन कमेडी चलचित्र 'रस आवर' को सफलतापछि भने ज्याकी विश्व बजारमा एकाएक सुपरस्टार कहलिएका हुन् । चिनियाँ क्रान्तिमा आधारित उनको एक सयौं चलचित्र '१९११' हालै सार्वजनिक भएको छ । 'सांघाई नाइट्स', 'मिस्टर नाइस् गाई', 'हु एम आई', 'सिटी हन्टर', 'फरविडान किङडम' लगायत यिनका सफल चलचित्र हुन् । आजको प्रसिद्धि उनले एकाएक पाएका भने होइनन् । विख्यात एक्सन सुपरस्टार ज्याकी कुनै समय एडल्ट (निलो) चलचित्रमा नायक पनि बने । सुरुवाती दिनमा आफूलाई टिकाइराख्न उनले यस्तो चलचित्रको सहारा लिएका थिए । सन् १९७५ मा रिलिज भएको 'अल इन द फेमिली' चलचित्रमा उनको नग्न यौनदृश्य हेर्न सकिन्छ ।
नायक चेनको पहिलो सफल चलचित्र सन् १९७८ मा निर्मित 'स्नेकस् इन दि इगल स्याडो' थियो । अर्को सफल चलचित्र 'ड्रङकन मास्टर' ले उनलाई चिनियाँ बजारमा स्थापित गराएको हो । त्यसलगत्तै भने उनी हलिउड प्रवेश गरे । सन् १९७३ मा ब्रुस लीको देहान्तपछि हङकङेली निर्माता/निर्देशक विली चानले ज्याकीलाई मुख्य नायक बनाइ 'न्यु फिस्ट अफ युरी' बनाए । यो चलचित्र राम्रो चल्न नसके पनि लीका उत्तराधिकारीका रूपमा ज्याकीको नाम एकाएक चुलिएको हो ।
५६ वर्षीय ज्याकीको चिनारी यतिबेला एक्सन सुपरस्टारसँगै निर्माता, निर्देशक, एक्सन कोरियोग्राफर, स्टन्ट निर्देशक र गायकका रूपमा पनि थपिएको छ । पर्दामा खतरनाक स्टन्ट गर्ने उनले १९८४ यता चिनियाँ, जापानी, ताइवानी र अंग्रेजी भाषामा गरी २० एल्बम सार्वजनिक गरिसकेका छन् । विश्वप्रसिद्ध फोब्र्स म्यागेजिनले यिनलाई सन् २०१० मा एसिया क्षेत्रका उत्कृष्ट ४८ परोपकारी व्यक्तिका श्रेणीमा राखेको थियो । लुम्बिनी प्रवर्द्धनमा सघाएर के उनले नेपाल र नेपालीको समेत परोपकार गर्लान् त ? त्यो समयले नै बताउला ।
ज्याकि च्यानको बारेमा सम्पूर्ण कुरा जानकारी पाउन यहाँ क्लिक गर्नुहास् ।
प्रतिक्रिया दिनुहोस् >>