पत्रकारको गोजीमा सरकारी दशैं : गुप्तचर

दशैंको मुखमा इटहरीका चार जना पत्रकारले इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट दश हजारका दरले चालिस हजार रुपैया दशैं खर्च पाए रे । गुप्तचरको कानमा यो कुरा सुइरोले जस्तै पसो । कार्यालयकै कसैले गुप्तचरलाई सुनायो । नाम भन्न चाहेन । बिचरोलाई किन अफ्ठ्यारोमा पार्ने भनेर जोर पनि गरिएन । गुप्तचर रनभुल्लमा परेको छ, यी पत्रकार त डिएसपी भन्दा ठूला हुँदा रछन् । डिएसपीले नै पैसा खुवाउने भनेपछि तिनको हैसियत नापेर नापि नसक्नु हुदोँ र’छ भन्ने लागो यो गुप्तचरलाई
बाबुराम नेतृत्वको सरकारले यसपाली यौटा गज्जबको काम गरेको छ । सरकारी संस्थाहरुले दशैंको शुभकामना विज्ञापन वापत रकम नदिने भनेर निर्णय गरेको छ र देशभरका विभिन्न सरकारी कार्यालयहरुले पनि त्यो नियमलाई कार्यान्वयन गरेजस्तै देखिएको छ । तर जे देखिन्छ, त्यसको पछि नदेखिएको कुरा हुन्छ ।
मालपोत, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, यातायात कार्यालय लगायतका सरकारी अड्डा त्यस्ता अड्डा हुन्, जहाँ पैसा कहिल्यै सुक्दैन । भवन थोत्रिएर चर्किन्छ । तर त्यहाँका हाकिमसाबहरुको गोजी जहिल्यै भरिभराउ हुन्छ ।
त्यसैले यस्ता नियमहरु कागजमा थन्किन्छन्, कुनै माखो मार्दैनन् । कार्यालयको अभिलेखमै चढाएर दिनु पर्छ भन्ने छ र ? रसीद काटेर लिइएका रकम पो सरकारी अड्डाका फाइलमा उल्लेख हुन्छन्, नजराना तथा कमिसनवापतको पैसा कहिँकतै उल्लेख हुँदैन । गोजी गोजीमा दौडिन्छ । प्रहरी तथा ट्राफिक जवानदेखि इन्स्पेक्टर हुँदै डिएसपी कार्यालयसम्म पुग्छ । त्यहाँ माथि भने बैंक एकाउण्ट मार्फत् दौडिन्छ । यतापट्टि यातायात, नापी, मालपोतमा भने लेखन्दास तथा दलालमार्फत् पैसा दौडिन सुरु गर्छ ।
पत्रकारले पाएको पैसा त्यही पैसा हो, कमिसन र घुस वापतको । आफ्नो कर्तुत लुकाउन सरकारी अड्डाका हाकिमहरुले पत्रकारलाई रिझाउने गर्छन् । दशैंको मुखमा यातायात हाकिमलाई भेट्न विराटनगरसम्मका पत्रकारहरु इटहरीस्थित कोशी अञ्चल यातायात कार्यालय आइपुग्छन् रे । कार्यालयकै कर्मचारीहरु कसैलाई नभन्ने शर्तमा खुलासा गर्छन् । धेरैलाई उनीहरु चिन्दैनन् । चिना जानी गर्नुपर्ने आवश्यकता पनि छैन नि । पैसा लिन आएका हुन्छन्, दिन्छन्, पठाउँछन् । कतिलाई त बोलाएरै खाममा दिन्छन् रे । च्वाइ च्वाइ गर्दै हामीले कुकुर पुजामा कुकुरलाई पुजा गरेर खानेकुरा खुवाएजस्तै । यसरी हेर्दा त्यस्ता पत्रकारहरुको हैसियत कुकुरको भन्दा खराब छ पनि भन्न सकिन्छ ।
तर सबै पत्रकार त्यस्ता हुँदैनन् । त्यसैले केही पत्रकारहरु भनिरा’छु । अब आफै विचार गर्नोस् । नेपालमा कमिसनको चक्कर कहाँसम्म फैलेको छ भनेर । आ ... जसले जेसुकै गरुन्, आफूलाई त सुराकी गरेरै खान पुगिराछ । यसपालीको दशैंमा आफूले पनि तलब थापेर यौटा घोर्ले खसी ल्याइयो । नयाँ लुगा पनि किनियो । केही दिन छुट्टी लिएर पिङ खेल्दै दशैं मनाउने हो । तर जासुसी जारी छ ...


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :