रहस्यमयी आत्महत्या शृंखलाबाट इटहरीवासी आतंकित


सुनसरीको एउटा गाउँ, जहाँका मानिस पालैपालो आत्महत्या गर्दैछन्, विना कुनै कारण । के बालक, के वृद्ध, रातको समयमा आत्महत्याको घटना घट्छ अनि विहान विहानै नराम्रो खबर सुन्नुपर्छ गाउँलेले । वर्षौंदेखि यस्तो घटनाले निरन्तरता पाइहेको छ सुनसरीको इटहरीस्थित शान्तीनगरमा ।
चार वर्षयताकै गणनाअनुसार सो गाउँमा एक दर्जनले आत्महत्या गरेका छन् भने आधा दर्जन आत्महत्या गर्दागर्दै रोकिएका छन् । एकाध व्यक्तिले  आत्महत्या गर्नु अस्वभाविक होइन । तर बारम्बार विना कुनै कारण आत्महत्या गर्न उत्प्रेरित हुनुमा भुतप्रेतको हात रहेको स्थानिय बताउँछन् ।
दुई हप्ता अघि आत्महत्या प्रयास गरेकी २० वर्षिया विन्दा कुमारी वनले आफू एक्कासी आत्महत्या गर्नतर्फ प्रेरित भएको र आफ्नो भाइले झस्काएपछि मात्र झसंग भएको जनाइन् । ‘वरीपरी निकै रमाइलो वातावरण र झिलिमिली देखेँ ।’ उनले भनिन्, ‘मरेपछि त्यो रमाइलो भएको ठाउँमा जान पाइन्छ जस्तो लाग्यो र सलको लिएर पासो बनाउन घरको भान्सातिर गएँ ।’ उनलाई भाइले सलको पासो बनाउँदै गरेको देखेपछि रोके, विन्दा झसंग भइन् । 
विन्दा त बचिन् तर घटनाको भोलीपल्ट भदौ ४ गते त्यही गाउँकी ६५ वर्षिया वृद्धा बज्रकुमारी राईले पासो लगाएर आत्महत्या गरीन् । एक्कासी आत्महत्या गरेपछि उनको परिवारका साथै गाउँलेपछि अचम्ममा परेका थिए ।
विन्दा र बज्रकुमारी राई त उदाहरण मात्र हुन् गाउँका धेरै मानिस आफूलाई मर्न मन लाग्ने गरेको बताउँछन् । झारफुकमा संलग्न हुँदै आएका स्थानिय गोपाल विश्वकर्माकै श्रीमती पनि झुण्डिएर आत्महत्या गर्न लागेको बेलामा स्थानियले देखेर बचाएका थिए । ‘अहिले मेरो छोरा मर्न मन लाग्छ भन्छ ।’ उनले भने, ‘धामी भएर के गर्नु, आफैलाई डर लाग्छ ।’ विनाकारण बालकदेखि वृद्धसम्म आत्महत्या गर्न अग्रसर हुन थालेपछि भुत प्रेतको आशंकामा स्थानियहरु आतंकित बनेका छन् ।
विगत चार वर्षयता सो स्थानमा विभिन्न एक दर्जन मानिस रहस्यमय तरिकाले मरेका छन् । स्थानिय मुना राईका श्रीमानले समेत मर्नु अघि आफूलाई छटपटी हुने गरेको र कतै जाउँ जस्तो भएको बताउने गरेका थिए । त्यसरी कुरा गरेको एक घण्टा पछि नै उनले पनि झुण्डिएर आत्महत्या गरे । १० महिना अघि पनि सारसौदा रहेका आफ्ना श्रीमान् मनिराज राई रगत छाद्दै मरेको उनकी श्रीमती देशमाया राईले बताइन् । रातको समयमा यसरी आत्महत्या गर्ने क्रम बढेपछि स्थानियहरु एक्लै बस्न समेत डराउन थालेका छन् ।
शान्तीनगर इंगलिस स्कुलका शिक्षक मणिराज गुरुङले समेत रहस्यमय आत्महत्याको घटनाबाट आफू पनि अचम्मित र आतंकित भएको बताउँछन् । उनले भुतप्रेत रहेको आशंका स्थानियले गरेको बताउँदै भुतप्रेत हटाउनकै लागि गाउँलेले मिलेर धामी बोलाइ झारफुक गर्न समेत लगाएका छन् । गाउँलेले धामी झाँक्रीको लागि नै ६० हजार भन्दा बढी रकम खर्च गरेर शनिबार राती झारफुक गराएका छन् । अब भने त्यस्ता घटना नघट्नेमा स्थानियहरु विश्वस्त छन् । 
विज्ञान र प्रविधिको युगमा पनि धामी झाँक्री र भुत प्रेतमा विश्वास गर्न बाध्य बनेका छन् शान्तीनगरवासिहरु । मनोविज्ञानका ज्ञाताहरुले भने मनोवैज्ञानिक रोग भन्ने गरेका छन् । अनुसन्धान नहुँदा घटना रहस्यकै गर्भमा छ । पूर्वन्युज, भदौ १९
भिडियो सहित विस्तृत जानकारी केही दिनपछि प्रस्तुत गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :