
नौ कक्षा पढ्दापढ्दै 'लभ म्यारिज' गरेकी फुलटेक्राकी निशा रानामगर (फरक नाम) लाई यतिखेर लोग्नेसँग कसरी छुट्टिने भन्ने चिन्ता छ।
सम्बन्ध बिच्छेदका लागि अदालत धाइरहेकी उनले अघिल्लो वर्ष रेशम आलेसँग विवाह गरेकी थिइन्। 'पहिले जे सोचेकी थिएँ, विवाहपछि निकै फरक पाएँ,' उनले भनिन्, 'नबुझी विवाह गर्दा बल्ल होस खुलेको छ।' विवाहकै कारण अध्ययनसमेत रोकिएको उनले बताइन्।
विवाहअघि एकले अर्कोलाई राम्रोसँग नबुझी हतारमा विवाह गरेका जोडीहरू सम्बन्ध बिच्छेदका लागि धमाधम अदालत धाइरहेका छन्। अधिकांश १५ देखि १९ वर्षमा विवाह गरेका जोडी सम्बन्ध बिच्छेद गर्न खोजिरहेको भेटिन्छन्।
कक्षा ११ मा पढ्दा पढ्दै गर्दा गणेश श्रीससँग विवाह गरेकी रमा घर्ती (नाम परिवर्तन) निकै तनावमा छन्। २० वर्ष नपुग्दै तीन महिना 'लभ' गरेर विवाह गरेको उनको जोडी विवाहपछि तीन महिना टिक्न सकेन।
रमाका अनुसार केटाको बानी व्यवहार विवाह पछि निकै परिवर्तन भयो। 'केटाले अत्यधिक रक्सी र नसा सेवन गर्दा दुवै जनाबीच समझदारी हुन सकेन,' रमाले भनिन्, 'केटा सुध्रने आशामा कैयौ प्रयास गरे।'
२०६२ सालमा 'लभ म्यारिज' गरेकी उनले सँगै बस्ने सबै उपाय असफल भएपछि हालै बाँके अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेकी छन्। 'नबुझेर विवाह गर्दा एकातिर पढाइ छुट्यो, अर्कोतिर जीवनमा नमेटिने पीडा भयो,' रमाले दुःखेसो पोखिन्। बोलचाल भएकै भरमा विवाह गर्दा दुई पत्नी भएका केटासँग विवाह गरेकी स्थानीय शीला बाल्मिकीका अनुसार नबुझी विवाह गर्दा केटी र माइती पक्ष सधै तनावमा बस्नुपर्छ।
नेपालगन्जमा सिलाइकटाइको पसल चलाउँदै आएकी शीलाले विवाह गरेपछि केटाको दुई पत्नी रहेको थाहा पाएकी थिइन्। पारिवारिक कलहले हाल उनी माइतीमा छिन्। विवाहपछि पेसा पनि बर्बाद भएको उनले गुनासो गरिन्।

'टिनएज' मा विवाह गर्ने र विवाहपछि पछुताउने जोडीको संख्या बढ्दो छ। एकले अर्कोलाई नबुझी प्रेम विवाह गर्ने अनि बुझ्ने भएपछि सम्बन्ध बिच्छेद गर्ने प्रवृत्तिले महिला र बालबालिका वढी प्रभावित भएको कानुन व्यवसायीको भनाइ छ।
बाँके अदालतका अनुसार साउनयता २ सय २३ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन्। अदालतमा सम्बन्ध बिच्छेदका लागि निवेदन दिनेमा धेरैजसो २० वर्ष ननाघी 'लभ म्यारिज' गर्नेहरू छन्।
अदालतका स्रेष्तेदार डिल्लीरत्न श्रेष्ठका अनुसार सम्बन्ध बिच्छेदका मुद्दामध्ये 'लभ म्यारिज' गरेर सानैमा विवाह गर्ने र व्यक्तिगत स्वतन्त्रता खोज्ने जोडीहरू बढी छन्।
'पति/पत्नीबीच सामान्य विवाद हुँदासमेत अधिकार खोज्ने निहुँमा सम्बन्ध बिच्छेद गर्नेहरू पनि बढेका छन्,' उनले भने, 'एक/दुई वर्षमै छुट्टिने जोडीले सन्तानको भविष्यबारे ख्याल गरेको पाइँदैन।'
असोज ६, nagariknews