आखिरमा पार्टीले पनि गलहत्यायो ...

संसद् लामो समयसम्म अवरोध गरेपछि गत असारको पहिलो साता संविधानसभाबाट गलहत्याएर निकालिएका दलित जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान आफ्नै पार्टीको लागि पनि आँखाको कसिंगर बनेका रहेछन् । पार्टीभित्र लाखौं रकमको हिनामिना गरेको, रातो पासपोर्टको दुरुपयोग गरेको, भुमीगत संगठन तथा राजतन्त्र पक्षधरको पक्षमा काम गरेको, नक्कली भारु कारोबार गरेको, संसदीय क्षेत्र विकास कोषुको दुरुपयोग गरी भ्रष्टचार गरेको,  लगायतका २९ वटा जघन्य अपराध समेतका आरोप लगाउँदै उनकै पार्टीको केन्द्रिय समितिले उनलाई आइत्बार पार्टीबाट निकाल्यो ।
एउटा पार्टीको अध्यक्षलाई केन्द्रिय समितिले यत्तिका धेरै आरोप लगाएको शायद इतिहासमै पहिलो हो । पार्टी नीति विपरीतका आरोप लगाएर कारवाही त गर्ने गरिएको छ तर २९ बुँदामा पार्टीका अध्यक्ष्ले गरेका अपराध, भ्रष्टाचार र पार्टी नीति विपरीतका क्रियाकलापको पर्दाफास गर्दै निष्काशन गरिनु अनौठो मान्न सकिन्छ ।
निर्धारित समयावधिभित्र उचित र सान्दर्भिक स्पष्टीकरण नआएकाले २०६८ साउन २१ गतेदेखि नै लागु हुने गरी निलम्बन गरिएको पार्टीले जनाएको छ।

स्मरणिय छ, सदरुल मियाँ हक, बुद्धरत्न मानन्धर र रुक्मिणी चौधरीसहित विश्वेन्द्र पासवान असार ५ गते सात दिनका लागि संविधानसभामा निलम्बनमा परेका थिए । सभामुखको अनुमतिले रोस्ट्रममा जवाफका लागि जान लागेकी स्थानीय विकासमन्त्री उर्मिला अर्यालको बाटो छेक्न उभिएका ती सभासद् अनुशासनको कारबाहीमा परेका थिए ।
संसद्को शान्ति व्यवस्थामा खलल नपुर्‍याउन र अनुशासनमा बस्न दिएको अन्तिम चेतावनीको बेवास्ता गर्दै उनीहरूले मन्त्रीको बाटो नछोडेपछि सभामुख सुवास नेम्वाङ्गले उनीहरूलाई बैठक कक्षबाट बाहिर जान निर्देशन गरेका थिए । नाराबाजी र अवरोध जारी राखेपछि नेम्वाङ्गले चारै सभासद्लाई बैठक कक्षबाट बाहिर पठाउन मर्यादापालकलाई आदेश दिएका थिए । नेम्वाङ्गले संविधानसभा नियमावली २०६५ को नियम ४६ अनुसार बैठकको शान्ति सुरक्षा र अनुसानका लागि उनीहरूलाई सात दिनका लागि निलम्बन गरेका हुन् । निलम्बित अवधिभर उनीहरूले सदनका कुनै पनि काम कारबाहीमा भाग लिन पाएनन् भने त्यस अवधिको तलब भत्तासमेत लिन पाएनन् ।
उनीमाथि पार्टीलाई बदनाम र धरासायी गराउन लागिपरेको आरोपसमेत पार्टीले नै लगाएको छ। उनलाई आफ्नै पार्टीले लगाएको आरोप यस्ता छन्-
१. दरबारको भत्ता खाएर, दरबारको निर्देशनमा महिनौँसम्म संविधानसभाको बैठक अबरुद्ध गरी, नयाँ संविधान लेख्ने कार्यलाई बाधा पुर्‍याएको।
२. पटकपटक दलित, जनजातिहरूको वर्गशत्रु सामन्ती राजसंस्था र राजावादीहरूसँग साँठगाँठ गरी, पार्टीलाई बदनाम गराई पार्टीका नेता, कार्यकर्ता तथा शोषित–पीडित दलित, जनजाति, आदिवासी, मधेसी, मुसलमान र पिछडिएको वर्गका जनताको भविष्य र अधिकारको संघर्षमाथि खेलवाड गरेको।
३. २०६५ असार १४ गते राति, बालुवाटारमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा बसेको २२ दलको सर्वदलीय बैठकमा पारित 'गणतन्त्र घोषणा' गर्ने दस्तावेजमा दरबारको निर्देशनमा हस्ताक्षर नगरेको।
४. पार्टीको निर्णयबिना भारतमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामासँग भेटघाटका साथै गोप्य सम्झौता गरी नेपालमा गोप्यरूपमा चीनविरोधी गतिविधिहरू गर्ने गरेको।
५. संविधानसभाको निर्वाचनको बेला निर्वाचन खर्च भनी केही उम्मेदवारहरूलाई नक्कली भारु. वितरण गरेको।
६. संविधानसभाको बैठकमा कुर्ची फ्याँक्ने, आफ्नै कपडा च्यात्ने र मान्छे नै उठाएर फाल्ने धम्की दिई त्रसित बातावरण बनाएर, हो–हल्ला गर्नुका साथै उदण्ड र सन्काहा व्यवहार देखाएर निलम्बन हुने काम गरी पार्टीको बदनाम गराएको। साथै पार्टी र पार्टीका पदाधिकारीहरूलाई थाहै नदिई धेरैभन्दा धेरै राष्ट्रहरूको भ्रमण गरेको।
७. संविधानसभाको निर्वाचनको बेला निर्वाचन खर्च भनी विभिन्न उद्योगपति र दाताहरूसँग लाखौँ चन्दा रकम उठाई उम्मेदवारहरूलाई चुनावी खर्च नदिएर चुनाव हार्ने अवस्था सृजना गरेको।
८. दक्षिण अफ्रिकाबाट पार्टीका नाममा आएको करोडौँ सहयोग रकम पार्टी र साथीलाई थाहै नदिई निजी सम्पत्ति बनाएको र स्वीजरल्याण्ड र बेल्जियमबाट पार्टीलाई सहयोगस्वरूप दिइएको लाखौँ रकम स्वीजरल्याण्डमै खाता खोली राखेको। साथै भ्रमण गरेका मित्र राष्ट्रहरूबाट आउने सहयोग र भत्ता रकम पनि पार्टीलाई पारदर्शी रूपले नदेखाएको।
९. पार्टीले निजलाई सभासदको जिम्मेवारी दिई पठाएपछि, स्वकीय सचिवको रूपमा केन्द्रीय सदस्य राजकुमार मण्डललाई तोकी पठाएकोमा, निजले मासिकरूपमा पाउने रू. ११,८००/– शुरुदेखि नै साढे तीन बर्षसम्म संविधानसभा सचिवालयबाट आफैले बुझिलिई व्यक्तिगत रूपमा खर्च गरेको।
१०. पार्टीलाई आएको सहयोग रकमलाई निजी सम्पत्ति बनाई भक्तपुरमा आफन्तको नाममा घर–जग्गा किनेको, साथै सिराहा जिल्ला, मिर्चैया–५ मा रहेको पुरानो घरअगाडि रहेको २ कठ्ठा घडेरी बीस लाख रूपैयाँमा किनेको।
११. सभासद भएपछि आफ्ना छोरा–छोरीहरूलाई काठमाडौंका महँगा स्कूल र कलेजहरूमा पढाएको।
१२. राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्था र सरकारबाट आयोजना हुने विभिन्न सभा, सम्मेलन र गोष्ठी तथा कार्यक्रमहरूमा भ्याएसम्म आफै प्रतिनिधित्व गरी जाने, नभ्याए साथीहरूको वैचारिक स्तर र हैसियत बढ्छ भनेर पार्टीमा थाहै नदिएर कसैलाई पनि नपठाउने गरेको।
१३. २२ दलीय संयन्त्रमा सदैव पार्टीको निर्णय भन्दै पार्टी र पार्टीका पदाधिकारीहरूलाई थाहै नदिई आफ्नो स्वविवेकले मनलागी निर्णय र अभिव्यक्ति दिने गरेको।
१४. राष्ट्रिय महत्वका विषयहरू उपर पार्टी र पार्टीका साथीहरूलाई मतलब नराखी व्यक्तिगत अभिव्यक्ति दिई पार्टीलाई बदनाम गराउने काम गरेको।
१५. आफ्नी उमेर पुगेकी छोरीले आफूभन्दा सानो जातको केटासँग प्रेम–विवाह गर्दा केटा–केटीलाई छुटाउने हर्कत गर्दै, आफ्नै ज्वाइँलाई अपहरण केशमा फसाई, बषौँ जेलमा सडाउने षड्यन्त्र गर्नुका साथै सम्पूर्ण परिवारलाई मार्ने धम्की दिएको।
१६. कानुनको उल्लंघन र मानवअधिकारको हनन गर्दै, आफ्नै ज्वाइँको परिवारका सदस्यहरूलाई अपहरण केशमा थुनाई दुखः दिने काम गरेको।
१७. सभासदको नाममा छुट्याइने 'संसदीय क्षेत्र विकास कोष'को दुरुपयोग गरी भ्रष्टचार गरेको।
१८. नेपाल बैंक लिमिटेड लगायतका विभिन्न बाणिज्य बैंकहरूमा लाखौँ रकम राखेको।
१९. संविधानसभा निर्वाचनमा पार्टीका नेता तथा शुभ–चिन्तकहरूबाट लाखौँ रकम सापटी स्वरूप लिई फिर्ता नगरेर झुक्याएको, तर सो रकम चुनावमा खर्च नगरेको।
२०. पार्टी र पार्टीका पदाधिकारीहरूलाई थाहै नदिई नेता तथा कार्यकर्ताहरूको मनपरी मनोनयन एवं निलम्बन गर्नुका साथै जिम्मेवारी थप्ने, घटाउने र हटाउने काम गरेको। पार्टीका बुद्धिजिबी साथीहरूलाई जिम्मेवारी नदिई अल्मलाउने काम गरेको।
२१. काठमाडौंमा २०६७ मंसिर २१ गते भएको विशाल अधिकारसभा सम्पन्न गर्नका लागि भनेर विभिन्न उद्योगपति र संघ–संस्थाहरूबाट लाखौँ रकम उठाएको, तर पार्टी र पार्टीका पदाधिकारीलाई थाहा नदिएर एक्लै पचाएको।
२२. पार्टीका सचिव जगजीवन राम र केन्द्रीय सदस्य राजकुमार मण्डललाई उमेर पुगेकी छोरी प्रेम–विवाह गरी गएपछि अपहरण गर्न सहयोग गरेको भन्ने आरोपमा फँसाउन खोजेको।
२३. पार्टीको मुखपत्र 'बहुजन आवाज' प्रकाशन गर्ने भनी विभिन्न दातृ निकायहरूबाट अनुदान स्वरूप आएको रकम तथा विज्ञापनबापत उठेको लाखौँ रकम निजी सम्पत्ति बनाई चलन गरेको र सम्पादक, संवाददाता तथा कर्मचारीहरूलाई तलब नदिएको।
२४. सभासदको हैसियतले पाउने रातो पासपोर्टको दुरुपयोग गरी बल्याक लिस्टमा नाम परेका पार्टीका केन्द्रीय सदस्य तेजबहादुर नेपालीलाई २५ लाख रूपैयाँ लिएर २०६६ मंसिरमा स्वीजरल्याण्ड हुँदै बेल्जियम पुर्‍याएको।
२५. २०६७ चैत्र अन्ततिर विराटनगरमा क्षेत्री समाजले आयोजना गरेको आमसभामा आफू दलित नभएर राजपुतको सन्तान भएको हुँदा, आफूलाई गर्वका साथ क्षेत्रीको दर्जा दिएको, साथै सबैलाई क्षेत्री भन्न आग्रह गरेको।
२६. २०६८ जेठमा पूर्व प्रधानसेनापति रुक्माङगत कटुवालले राजावादीहरू एकजुट गराई, राजसंस्था पुनःर्स्थापना गराउने अभियानअन्तर्गत पश्चिममा आयोजना गरेको कार्यक्रममा सहभागी भई राजतन्त्र ब्यूँताउन लागिपरेको।
२७. अन्य दलका ६०० जना सभासदहरूको जनतासामु राजनैतिक साख गिराउन दरबारले दिएको रकम दरबारकै निर्देशन अनुसार संविधानसभा सचिवालयमा भत्ता फिर्ताको नाममा बुझाएको।
२८. भूमिगत आपराधिक गिरोहका हत्यारामार्फत् पार्टीका बरिष्ठ कार्यकर्ता र नेतालाई मार्ने धम्की दिन लगाएको।
२९. पार्टीको उद्देश्य तथा विधान विपरित राजनैतिक सैद्धान्तिक पक्षलाई विचलनमा पार्दै एकल नेतृत्वलाई अवलम्बन गर्दै तानाशाही निरंकुशता प्रदर्शन गरेको।
जगजीवन राम
(केन्द्रीय सचिव)
दलित जनजाति पार्टी
(Aswin 8, purwanews, with the help of nagariknews)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :