पत्रकारको चिया गफलाई समाचार बनाएपछि ...


सामान्यतया अनौपचारिक छलफल र त्यसमा पनि साथीभाई बिचको गफ समाचार बन्दैन । ख्यालठट्टामा भनिएका कुरालाई समाचार बनाइयो भने हुने हुनामी सबै हुन्छ । विषयको गाम्भिर्यता नबुझी लेखिने समाचारले समस्या उत्पन्न गर्न सक्छ । एक जना पत्रकारले गरेको चिया गफको विषयलाई लिएर अर्का पत्रकारले समाचार लेखेपछि बुधबार सिरहा रनक्कै तात्यो । 
सिरहाको एक पत्रिकाका प्रकाशक रोयान्टर मण्डलले एकदिन ठट्टै ठट्टामा आफ्ना सहकर्मी राससका वीरेन्द्र कर्णसँग एउटा अनौठो मागको विषयमा सुनाएका थिए । जिल्लाको नमुना गाविस सुखीपुर–१ बाट प्रकाशन हुने ‘मधेस स्पेसल’ साप्ताहिक पत्रिकाका प्रकाशक मण्डलले दाइजोमा एफएम रेडियो स्टेसन दिने व्यक्तिकी छोरीसँग मात्र विवाह गर्ने बताएका थिए । 
२४ वर्षीय मण्डलले एफएम रेडियो स्टेसन दिने परिवारको केटीलाई मात्र जिवनसाथी बनाउने भनेपछि सोही गफलाई कर्णले समाचार बनाइदिए । राससमा समाचार प्रकाशित भएलगत्तै अन्य स्थानिय दैनिक पत्रिकाले पनि त्यसलाई साभार गरे । धरानबाट प्रकाशित एक दैनिक पत्रिकाले पनि समाचार हुबहु छाप्यो । एउटा पत्रिकाको प्रकाशक, त्यसमा पनि पत्रकार महासंघ सिरहाको कोषाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले दाइजो माग गरेको समाचार पढेर धेरै अचम्मित भए । एउटा पत्रकारले सार्वजनिक रुपमै दाइजो माग्न सक्छ ?
समाचार प्रकाशित भएपछि मण्डललाई फोनको वर्षा भयो । दाइजो लिनु र दिनुलाई सामाजिक असभ्यता मानिने समयमा दाइजो मागेको विषयको समाचार नै प्रकाशित भएपछि बुधबार मण्डलले विज्ञप्ती निकालेरै त्यसको खण्डन गरे । आफूले भन्दै नभनेको कुरा समाचार बनाइएको भन्दै उनले विज्ञप्तीमार्फत् विरोध जनाए । त्यतीमात्र होइन, बुधबार दिउँसो सिरहामा भएको एउटा कार्यक्रममा दुवै सँगै उपस्थित भएपछि त्यहीँ बाझाबाझ पर्न थाल्यो । उपस्थित अन्य पत्रकारहरुले छुटाएर लगे । सोही विषयमा पत्रकार महासंघ सिरहाले समेत छलफल गरिरहेको छ ।
यता समाचार साँचो नै भएको र मण्डलले पटक पटक आफूसँग समाचार किन आएन भनेर सोध्ने गरेको कर्णको स्पष्टोक्ति छ । आर्थिक अवस्था कमजोर भएकाले नियमितरूपमा पत्रिका चलाउन आफूले घरको डेढ तोला सुन, २५ तोला चाँदी धितो राखी २३ हजार रूपैयाँ ऋण लिएर पत्रिका प्रकाशन सुरु गरेको जनाएका मण्डलले एफएम स्टेसन खडा गर्ने इच्छा भएपनि क्षमताले नभ्याएपछि एफएम दाइजो दिने परिवारको केटी विहे गर्ने भनेको कर्णको भनाई छ । ‘लेखिदिनु, दिने मान्छे आइ पो हाल्छन् कि भनेर मसँग बारम्बार अनुरोध गरेपछि मैले लेखिदिएको हुँ ।’ कर्णले भने ।
समाचारको विषयलाई लिएर सहकर्मीबिच नै कटुता उत्पन्न भएको छ । सार्वजनिक रुपमै समाचारमार्फत् पत्रकारले दाइजो माग्न चाहे होलान् त ? पत्याउन गाह्रो छ । अनि सहकर्मीले ठट्टा गरेकै विषय समाचार बनाइयो होला त, त्यो पनि विश्वास गर्न गाह्रो छ । तर दाइजो मागका चिया गफलाई लिएर समाचार बनाउनु उपयुक्त हो त ?पूर्वन्युज 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :