परीक्षा दिन नपाएपछि बुवाको क्वार्टरमा झुण्डिएर आत्महत्या


सहपाठी विद्यार्थी भन्छन्, "घटनाको जिम्मेवारी विद्यार्थीको पैसाबाट तलब खाएर बसेका पदाधिकारीहरुले लिनुपर्छ, यो आत्महत्या होइन, हत्या हो'।"
हाजिरी नपुगेका कारण परीक्षामा सामेल हुन नपाउँदा निरास बनेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दन्त चिकित्साका विद्यार्थीले आत्महत्या गरेका छन् । श्रीकान्त डङ्गोलले बाबुको क्वार्टरमा १० गते मङ्गलबार दिउसो करिब साढे ४ बजेतिर झुण्डिएर आत्महत्या गरेका हुन। उनी प्रतिष्ठानअन्तर्गतको दन्त चिकित्सा महाविद्यालयमा बीडीएस दोस्रो वर्षमा अध्ययनरत् थिए। उनका वुवा उदयलाल डङ्गोल धरान ८, तीनेकुनेस्थित पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा अध्यापन गर्छन् ।
कक्षामा ८० प्रतिशत उपस्थित हुनुपर्ने प्रावधान भए पनि डंगोलको उपस्थिति ६२ प्रतिशतमात्र भएको प्रतिष्ठानले जनाएको छ । उनको आत्महत्यापछि मंगलबार विद्यार्थीहरुले प्रतिष्ठान भित्रको शवगृह निकै अबेरसम्म घेराउ  गरेका थिए ।
बिडिएसमा अध्ययनरत् विद्यार्थी तथा दन्त चिकित्सकहरुले प्रतिष्ठानका पदाधिकारीहरुको गल्ती, कमजोरीले डङ्गोलले आत्महत्या गरेको भन्दै घटनाबारे छानबीन माग गरेका छन्।
‘उसको हाजिरी किन काम भयो, वर्षमा ३ पटक निकाल्नुपर्ने हाजिरी प्रतिवेदन किन एक वर्षमा मात्रै निकालियो भनेर छानबिन हुनुपर्छ'- विद्यार्थी कल्याणकारी समाजका सदस्य मुकेशकुमार शाहले भने। प्रतिष्ठानका डेन्टल सर्जन कुम्भराज जोशीका अनुसार शैक्षिक विभागले तोकिएको समयमा हाजिरी प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा यो पटक परीक्षा हुनअघि मात्रै निकालेको कारण एक विद्यार्थीले अनाहकमा ज्यान गुमाएकोले छानबीन गरी दोषी पदाधिकारीहरुलाई कारबाहीको माग गरेका छन्। ‘यसको जिम्मेवारी विद्यार्थीको पैसाबाट तलब खाएर बसेका पदाधिकारीहरुले लिनुपर्छ, यो आत्महत्या होइन, हत्या हो'-उनले भने।
परीक्षामा सामेल हुन वर्ष दिनमा ८० प्रतिशत हाजिरी पुगेकै हुनुपर्छ। प्रतिष्ठानको शैक्षिक विभागले विद्यार्थीहरुको हाजिरी प्रतिवेदन समय समयमा निकाल्नुपर्ने भएपनि यो वर्ष बीडीएस दोस्रो वर्षको फाइलन परीक्षा सुरु हुनुअघि मात्रै निकालिएको विद्यार्थीहरुले बताएका छन्।
दोस्रो वर्षका ११ जना विद्यार्थीहरुको हाजिरी अपुग भएपनि मंगलबार अन्तिम समयमा अन्यले प्रशासनमा मिलाएपनि मृतक डंगोलले भने डिप्रेशनमा आत्महत्या गरेको विद्यार्थीहरुको भनाई छ। ‘अरुले अन्तिम समयमा मिलाए, उसको मात्र किन मिलेन भनेर छानबिन हुनुपर्छ ' -नाम नछाप्ने सर्तमा एक विद्यार्थीले भने। बिडिएस दोस्रो बर्षको फाइनल परीक्षा मंगलबारबाट शुरु भएको थियो। हाल मृतक डंगोलको शव पोष्टमार्टमको लागि प्रतिष्ठानमा राखिएपनि छानबीन गर्ने प्रतिवद्धता नभएसम्म हुन नदिने विद्यार्थीहरुले बताएका छन्।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.बीपी दासले परीक्षामा सामेल हुन नपाउँदा डंगोलले आत्महत्या गरेको स्वीकार गरेपनि हाजिरी नियमितरुपमा सार्वजनिक नगरेको बिषयमा आफुलाई थाह नभएको बताए। ‘मलाई यति थाह छ कि उसले परीक्षामा सामेल हुन नपाउदा आत्महत्या गरेको छ, परीक्षामा सामेल हुन पाउने नपाउने नियम होला, त्यो शैक्षिक विभागले हेर्छ'- निर्देशक दासले भने। शिक्षाध्यक्ष डा.रुपासिंह भण्डारीले विद्यार्थीहरुको उपस्थितिबारे आपूmलाई केही जानकारी नहुने बताइन् ।
यता शैक्षिक विभागको गल्तीका कारण दन्त चिकित्सामा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरु आन्दोलित बनेपछि बुधबारको परीक्षा अवरुद्ध भएको छ। दोषीलाई कारबाहीको माग गर्दै आन्दोलित विद्यार्थीले डेन्टल कलेजसँगै प्रतिष्ठानको विभिन्न विभागमा तालाबन्दी गरेपछि बीडीएस र एमबीबीएसको फाइनल परीक्षा अवरुद्ध भएको हो। 
प्रतिष्ठानमा दन्त चिकित्सा (बीडीएस पहिलो र दोस्रो वर्ष) को फाइनल परीक्षा बिहान ९ बजे र एमबीबीएस पहिलो र दोस्रो वर्षको परीक्षा दिउसो २ बजे हुने भनिए पनि विद्यार्थी आन्दोलनका कारण हुन सकेन। प्रतिष्ठानमा मंगलबारदेखि फाइनल परीक्षा सुरु भएको थियो।
आन्दोलित विद्यार्थीहरुले डेन्टल कलेजको मूल गेटमै तालाबन्दी गरेपछि सर्वसाधारणको उपचारसमेत प्रभावित भएको छ। शिक्षाध्यक्ष डा. रुपासिंह भण्डारीका साथै डीन, शैक्षिक विभाग र परीक्षा विभागमा समेत तालाबन्दी गरेकाले प्रशासनिक कामकाज पनि ठप्प छ। प्रतिष्ठानका जिम्मेवर पदाधिकारीहरुको गल्तीले एक विद्यार्थीको ज्यान गएकोले छानबिन गरी दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने आन्दोलित विद्यार्थीहरुले जनाएका छन्।

पदाधिकारीहरुको मनोमानी र भ्रष्टाचारका कारण दिनानुदिन खोक्रो बन्दै गएको सुनसरीको धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान फेरी एक पटक समाचारको विषय बनेको छ । साउन ११
"म माथि नै किन अन्याय ? मेरो भविष्यमाथि नै किन खेलबाड ?" श्रीकान्तको प्रश्नको जवाफ छ अस्पताल प्रशासनसँग ? परिक्षामा पास गरेर परिवार र आफन्तले देखेको सपना पुरा गर्न नपाएपछि श्रीकान्तको मनोदशा कस्तो भयो होला ? घटनासँग सम्बन्धित अन्य सामाग्रीहरु चाँडै पूर्वन्युजमा, प्रतिक्षा गर्नुहोस् ...


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :