कोशी : दैव? भरोसा


हिमाल दहाल/पूर्वन्युज : शुक्रबार दिउँसो सप्तकोशी नदिमा बालुवा छान्ने ड्रेजर मेसिन पल्टिँदा मेसिनमा रहेका तीन जना कामदार कोशीमा खसे । भेलले उनीहरुलाई केही क्षण बगायो । कोशी ब्यारेजमा होहल्ला मच्चियो । तर केही क्षणमै उनीहरुको उद्दार गरियो ।
कोशीमा पानीको सतह बढ्दै जाँदा कोशीको वालुवा निकाल्ने मेसिन कोशीको भेलले पल्टाएको हो । उद्दार गरिएकाहरुमा भारतको केरेला घर भएका मोहनकुमार एमडी, पटना घर भएका रन्दिरकुमार सिंह र राजीवकुमार सहानी छन् ।
शुक्रबार वर्षकै सर्वाधिक पानी एक लाख ५८ हजार क्युसेक प्रतिसेकेण्ड पानी बगेको कोशीमा भएको यो दुर्घटनापछि ब्यारेजमा काम गरिरहेका भारतीय मजदुर सतर्क बनेका छन् । सम्भावित ठूलो अप्रिय घटना त ट¥यो । तर के यो घटनाले कुनै ठूलै विपत्तको संकेत गरेको हो त ? के हुनसक्छन् विपत्त निम्तिने सम्भावित कारणहरु ?
कारण नं. १. प्रकाशपुरमा कोशी नदीमा थुप्रिएको वालुवा : कोशी नदीले सुनसरीको प्रकाशपुरमा पश्चिम तर्फ वालुवा थुपारेको छ । सर्वाधिक वालुवा बोक्ने संसारको दोस्रो नदीका रुपमा रहेको कोशी नदीले आफ्नो पश्चिम किनारमा वालुवा थुपारेको कारण पानी सिधा पुर्वी तटबन्ध तर्फ हान्निएको छ । यो अत्यन्त खतरनाक अवस्था हो । पानीको बेगले पुर्वी तटबन्धलाई कमजोर बनाउँदै गएको छ । कटान र पानीको वहाव रोक्न प्रकोपाइनहरु लगाइएका छन् । तर कोशीको पानीले प्रकोपाइन डुबाइसकेको छ । ती सबै निरर्थक सावित भइसकेका छन् ।
कारण नं. २. टालटुले मर्मत : कोशीको तटबन्ध पाँच दशक पुराना छन् । भरपर्दो मर्मतको अभावमा तटबन्ध कमजोर बन्दै गइरहेको छ । पानीको वहाव पुर्वी तटबन्धमा केन्द्रित भएको देखिरहँदा समेत केही प्रकोपाइन र प्लाष्टिकका बोराको भरमा मर्मत र कटान रोकथाम थालियो । जुन वालुवामा पानी खन्याएसावित भयो । स्थानियवासिन्दाहरु तथा स्थानिय नेपाली ठेकेदारहरु दह्रो बाँधको पक्षमा थिए । तर भारतीय ठेकेदार, इन्जिनियर तथा ओभरसियरहरुले कमिसनको खेलमा काम गरेजस्तो मात्र गरे । तटबन्ध मर्मतको नाममा झारा टार्ने काम गरियो, जुन अब नेपाल र भारत दुबैको लागि भारी पर्ने सम्भावना बढेको छ ।
कारण नं. ३. बिचरा नेपाल सरकार : महेन्द्र राजमार्ग अन्तर्गत रहेको कोशी ब्यारेज बनाउनुको उद्देश्य महेन्द्र राजमार्गलाई पूर्णता दिनु थिएन । कोशी ब्यारेज बिहारको आवश्यकताका आधारमा बनेको बाँध हो । कोशीलाई भारतको विहारमा दुःख दिने नदीका रुपमा चिनिन्छ । त्यसैले विहारवासीलाई कोशीको बाढीबाट जोगाउनको लागि भारत सरकारले कोशी ब्यारेजको प्रस्ताव ल्याएको थियो । सोअघि भारत सरकारले कोशी नदीमै उच्च बाँध बनाउने सपना देखेको थियो । तर लागत बढेका कारण उच्च बाँधको योजनाबाट पछि हटेको भारतले विहारवासीलाई सान्त्वना दिनकै लागि कोशी ब्यारेज बनाएको हो ।
कोशी ब्यारेज बनाउँदाताका नेपाल र भारतका बिचमा जुन सन्धी भएकोछ, त्यो सन्धी अनुसार नेपालले आफ्नै भुभागको नदी सप्तकोशीमा भारतको अनुमती विना सिन्को समेत भाँच्न पाउँदैन । त्यसैले यदी कोशीले तटबन्ध भत्कायो भनेपनि टुलुटुलु हेर्नुबाहेक नेपाल सरकार केही गर्न सक्ने अवस्थामा छैन । यसवर्ष पनि त्यस्तै भएको छ । बरु नेपालले गर्न सक्ने भनेको तटबन्ध भत्किसकेपछिको उद्दार हो । त्यसैको लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।
कारण नं. ४. तटबन्ध निर्माणमा कमसल सामाग्रीको प्रयोग : कोशी तटबन्ध फुट्यो भने नेपालका आधा दर्जन गाविस डुबानमा पर्ने भएपनि भारतका दर्जनौं गाविस प्रत्यक्ष प्रभावित हुने गर्छन् । नेपालमा भन्दा बढी क्षती विहारमा हुन्छ ।
तर पनि पैसाको अघि महादेवको तीन नेत्र भनेझै भारतीय ठेकेदार र इन्जिनियरलाई तटबन्धको मतलब छैन । राम्रो पैसा कुम्ल्याएर कमसल काम गर्ने गरेका छन् । गत वैशाखमा मात्र एउटा स्परमा गरिएको काम कमसल भो भनेर ठेकेदारले इन्जिनियरलाई हकार्यो रे । कतिपय अवस्थामा वालुवा भरेको भनेर खाली बोरा नै कोशीमा बगाउने समेत गरेका छन् रे । स्थानिय नेपाली मजदुरहरुले भारतीय ठेकेदारको पोल खोल्छन् । अनि राम्रो मर्मत गर्न पहल पनि गर्छन् । तर उनीहरुको कुरा भारतीय ठेकेदारहरुले सुन्यानसुनै गर्छन् ।
कारण नं. ५. नेपाली पक्षको चरम वेवास्ता : कोशीको तटबन्ध खतरामा छ भनेर सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको दुई महिना बढि भइसक्यो । तर सरकारी निकायको होस भने कोशी ब्यारेजमा पानीको बहाव बढेको खबरपछि मात्र खुलेको छ । सुरक्षा निकाय तथा नेपाली अधिकारीको चासो यतिखेर मात्र बढेको छ । तर धेरै ढिलो भइसकेको छ । यो समयमा न त कोशी समस्याको बारेमा हल्ला गरेर फाइदा छ, न त रोकथामको झिँजो प्रयास गरेर नै ।

के कोशी अब नियन्त्रण बाहिर छ त ?
प्रविधिले रातारात उकालो टेकीरहेको विश्वसन्दर्भमा कोशीमा पानी बढेपछि अब भगवान भरोसा भनेर बस्नुपर्ने अवस्था नै त छैन । भारत सरकारले चाह्यो भने धेरै थोक गर्न सक्छ । तर भारतमा इच्छाशक्ति देखिँदैन । जसको कारण कोशी साँच्चै खतरामा छ । बाढी आउनु र सामान्य कटान गर्नुलाई नदीको चरित्र मान्न सकिन्छ । तर खतरा रहेको स्थानमा भरपर्दो रोकथाम मर्मत तथा कटान प्रयास गर्ने इच्छाशक्ति नहुँदा भने पक्कैपनि समस्या नै मान्नुपर्छ । अहिले कोशी त्यही इच्छाशक्ति अभावका कारण नियन्त्रण बाहिर गइरहेको छ । कोशीलाई बेलैमा ध्यान नदिने हो भने कोशी सम्झौतापछि भारतको नियन्त्रणमा रहेको नदी भारतको हातमा पनि रहनेछैन ।
स्ट्याण्डबाइ स्थानिय प्रशासन :
सुनसरीको प्रहरीलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिइसकिएको छ । जनपद, शशस्त्र तथा नेपाली सेनालाई नै स्ट्याण्डबाइ रहन निर्देशन दिइएको सुनसरी सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
नेपाली अधिकारीहरुसँग बारम्बार सम्पर्कमा रहँदा अधिकारीहरु कोशीलाई लिएर चिन्तित छन् भन्ने अनुमान गर्न सकिन्छ । कोशी तटबन्धमा भइरहेको कटान र डुबानलाई टुलुटुलु हेर्न बाहेक केही गर्न नसक्ने नेपालका अधिकारीहरुले कोशी तटबन्ध फुटिहालेमा उद्धार गर्ने भन्दै सतर्क रहन सुरक्षा निकायलाई उच्च सतर्कको अवस्थामा राखेका हुन् ।
मात्र आश्वासन :
०६५ साल भदौ २ गते कोशी फुटेपछि विस्थापित भएका सुनसरीका चालिस हजार परिवारले आजसम्म पनि क्षतीपूर्ती पाइसकेका छैनन् । कोशी फुटेलगत्तै राष्ट्रपती, प्रधानमन्त्री लगायत सो क्षेत्रको भ्रमण गरेर आश्वासन दिएतापनि आश्वासनले बाढी पीडितहरुको पेट भरिनेवाला थिएन । क्षतीपूर्ती र राहतको माग गर्दै कोशी पीडितहरु लगत्तै आन्दोलित भए ।
यसपटक पनि कोशी तटबन्धमा खतरा बढ्दै जाँदा गृहसचीव लगायतको सुरक्षा निकायको टोलीले कोशी तटबन्धको निरिक्षण गर्यो । गत बुधबार पुर्वाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालय विराटनगरका निर्देशक मनिकलाल कालुको नेतृत्वमा बुधबार सुनसरीको प्रकाशपुरस्थित कोशीको तीब्र कटान स्थलको निरिक्षण गर्न पुगेको सरकारी प्राविधिक टोलीले कोशीको पुर्वी तटबन्धको अवस्था नाजुक रहेको र सोअनुसार मर्मत नभएको जनाएको थियो ।
त्यही दिन मारंगको विराटनगरमा बसेको सुरक्षा निकायको क्षेत्रीय भेलामा समेत कोशी कटान र कोशीको बाँधमा भइरहेको मर्मतलाई लिएर छलफल गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले कोशीको बाँधको अवस्था कमजोर रहेको र बाढीअनुसार मर्मत नभएको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गरेका थिए । लगत्तै त्यसको भोलीपल्ट बिहीबार गृहसचीव लिलामणि पौडेल लगायत सुरक्षा निकायका प्रमुखहरुले कोशीको कटान भइरहेको क्षेत्र प्रकाशपुरको निरीक्षण गर्दै अवस्था नाजुक नै रहेको जनाएका थिए । उनीहरुले सम्बन्धित निकायमा तटबन्धको भरपर्दो मर्मत गर्न पहल गर्ने आश्वासन दिएका थिए । तर आश्वासन लागु गर्ने निकाय भारत सरकारले नै तटबन्ध मर्मतको वेवास्ता गरेपछि समस्या चुलिएको छ ।
रणनीति उच्च बाँधको :
लगानी बढेका कारण कोशीमा उच्च बाँध बनाउन नपाएर कोशी ब्यारेजको योजनालाई अघि बढाएको भारत सरकारले आफ्ना विहारका जनतालाई बारम्बार आश्वासन दिने गरेको छ, कि कोशी उच्च बाँध बन्छ, त्यसपछि कोशीबाट वर्षेनी हुने बिहारको डुबान समस्या सधैको लागि समाधान हुन्छ ।
उच्च बाँध निर्माणको लागि भारत नेपालको धमिलो राजनीति कुरेर बसेको छ । धमिलो राजनीतिबाट उच्चबाँधको सहमती फुत्काउन चाहन्छ । भारतले उच्च बाँधका लागि नेपाललाई मनाउन हरसम्भवका काम गरिरहेको छ । तर आजका मितिसम्म नेपाल सकारात्मक हुन सकेको छैन । किनकी उच्चबाँध प्राविधिक रुपमा निकै जोखिमपूर्ण हुने नेपाली विज्ञहको ठहर छ ।
जनतालाई दिएको आश्वासन र आफ्नो देशको पानीको आवश्यकता पूर्ती गर्नको लागि भारत सरकार कोशी तटबन्धलाई फेल साबित बनाउन चाहन्छ र कोशी उच्च बाँधको अनिवार्य आवश्यकताबारे नेपाल पक्षलाई पनि विश्वस्त पार्न चाहन्छ । त्यसैले पनि फेरी एकपटक कोशी तटबन्ध फुटेको हेर्न चाहन्छ ।
टालटुले मर्मत पनि रोकियो : अब के होला ? 
‘नेपाली प्राविधिक टोलीले निरिक्षण गरी संवेदनशिल क्षेत्र घोषणा गरेपछि कटान नियन्त्रणलाई भारतीय पक्षले तिब्रता दिन्छ भन्ने लागेको थियो ।’ सुनसरीको प्रकाशपुरका बाबुराम कार्कीले मसँग टेलिफोनवार्तामा भने, ‘तर त्यस्तो भएन, मर्मत रोकियो, तपाइसँगको गफ अन्तीम पनि हुनसक्छ ।’
कार्की सप्तकोशी डुबान कटान सघर्ष समितिका सह सचिव समेत हुन् । निरन्तर परिवर्तन गर्ने कोशीले कार्की सहित सयौंको हजारौं विगाहा खेत बगाएको छ । क्षतीपुर्तीका लागि वर्षौं आन्दोलन गर्दा पनि कसैले सुनुवाई गरेको छैन । ‘अब त क्षतीपूर्तीको त कुरै छाडौं कति खेर बाँध फुटेर मरिने हो थाहा छैन ।’ उनले भने । गृहसचीवको टोलीले निरिक्षण गरेपछि तटबन्ध मर्मत राम्रो होला भनेर आशा गरिरहेका स्थानियवासीहरु त्यतीबेला निराश भए, जतिबेला भारतीय पक्षले गरिरहेको त्यही टालटुले मर्मत पनि रोक्यो ।
भारत पक्षबाट तत्काल भरपर्दो मर्मतको आवश्यकता देखिएपनि भारतबाट त्यो हुने देखिँदैन । नेपाल पक्षले तटबन्ध मर्मत गर्न सन्धीले नै दिँदैन । अबको अवस्थामा के हुन्छ यसै भन्न सकिँदैन । के तपाइ कुनै अनुमान गर्नुहुन्छ ?
तस्वीर : पहिलो, सीता मादेम्बा; अन्तीम, दुर्गा विष्ट
फ्ल्यासब्याक भदौ २ पूर्वन्युजमा प्रतिक्षा गर्नुहोस् ...

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :