फ्ल्यासब्याक भदौ २
२०६५ साल साउनको अन्तिम साता नै स्थानियको मुटुमा ढ्यांग्रो ठोक्न थालिसकेको थियो । किनकी सप्तकोशीमा पानीको बहाब रोक्न बनाइएका स्परहरु धमाधम कटानमा पर्दैथिए । सुनसरीको इटहरीबाट प्रकाशित एक पत्रिकाले साउन ३१ गते सो कुरा जानकारी दियो । लगत्तै पत्रकार वीरेन्द्र केएमले साउन ३२ गतेको समाचारपत्रमा समाचार यसरी लेखे,
भारतले आफ्नो अधिनमा राखेर प्रयोग गर्दै आएको कोसी ब्यारेजका ढोकाहरु नखोलिदा नदीको पानीले सुनसरीमा रहेका चारवटा स्परको कटान सुरु गरेको छ ।
कोसीमा बाढी आएको तर पानी निकासीका लागि भारतले ब्यारेजका पूरै ढोका नखोल्दा पानीको सतह बढेपछि सुनसरीको पश्चिमकुशाहा र हरिपुरमा पर्ने चारवटा स्परमा कटान हुन थालेको हो ।
नेपालसँग लिजमा लिएर भारत सरकारले प्रयोग गर्दै आएको सुनसरीको पश्चिम कुशाहा र हरिपुरमा निर्मित १२९०, १२१०, ११७० र १०६० नम्बरका स्परहरुमा बहावको दवाव बढी भई कटान सुरु भएको छ । कटान नौ दिनअघिदेखि सुरु भएको हो । स्पर कटान हुँदा कोसीको बाँध फुटी सुनसरीका हरिपुर, श्रीपुर, भण्टाबारी, पश्चिम कुशाहा, जुदगञ्ज लगायत दर्जनौ गाउँमा पानी पस्ने खतरा बढेको छ ।
कटान रोक्न भारत सरकारबाट कुनै पहल भएन । न त नेपाल सरकारले नै तदारुकता देखायो । विहारको बाढी रोक्नका लागि कोशी ब्यारेजको ढोका थुनेको भारत पानीलाई निकासा दिन तयार थिएन । किनकी विहारमा ठूलो क्षती ल्याउने त्रासमा थियो भारत ।अन्ततः कोशी गाउँ पस्यो । सुनसरीको पश्चिम कुशाहा–४ स्थित आरक्ष कार्यालय नजिकै सप्तकोसी नदीको पूर्वी तटबन्ध भत्कियो र सुनसरीका चार गाविस पूर्णरुपमा डुबानमा परे । पश्चिम कुशाहा हुँदै श्रीपुर, हरिपुर र लौकही गाविसमा प्रवेश गरेको कोशी नदीबाट सोही दिन मात्र १० हजारभन्दा बढी स्थानीयबासी विस्थापित भए । सुनसरीबाट पत्रकारहरु वीरेन्द्र केएम र कृष्ण जुनेलीले इटहरीबाट प्रकाशित एक दैनिकको लागि भदौ दुई गते लेखे,
बाढीले पश्चिम कुशाहा, हरिपुर र श्रीपुर र लौकही गाविसका तीन हजार बढी घर डुबाइसकेको छ । बाढी पसेपछि पूर्वपश्चिम राजमार्गको यातायात पूर्णरुपमा ठप्प भएको छ । नदीले सयौ बिगाहा खेतीयोग्य जमिन र सयौ पशुपंक्षीसमेत बगाएको छ ।
![]() |
भदौ २ ले भत्काएको राजमार्ग |
स्थिति नियन्त्रण बाहिर गएपछि बल्ल भारत प्रशासनको मर्मत सम्भार कार्य सुरु ग¥यो । तर धेरै ढिलो भइसकेको थियो । बाँध फुट्नु अघि कानमा कपास कोचेर बसेको नेपाल र भारत सरकारले बाढी पछि जति सक्रियता देखाएपनि त्यसले कुनै सकारात्मक उपलब्धि ल्याउनेवाला थिएन ।
भदौ तीन गतेदेखि उद्दारकार्य सुरु गरियो । नेपाली सेना, सुरक्षा निकाय लगायत सामाजिक संघसंस्थाहरु उद्दार तथा राहत वितरणमा जुटे । सुनसरीभरीका मठमन्दिर र विद्यालय कोशी पीडितहरुले भरिए ।
![]() | |
|
ग्राभेल गरिएको सडकमा खाल्डाखुल्डी परेकाछन् भने सडक छेउको भुभाग भासिरहेको छ । जसबाट सोेबाटोबाट गुड्ने सवारी साधन उच्च जोखिमको अवस्थामा छन् । दिनहुँ सो खण्डहुँदै आवतजावत गर्ने सवारीका साधनहरुले सास्ती भोग्नुपर्छ ।
सडक विभाग विराटनगरका प्रमुख राजकुमार मण्डल आफूहरुले बारम्बार ताकेता गर्दा पनि विभागले सडक बनाउन रकम नदिएको बताउँछन् । गतवर्षको भदौमा आफूहरुले २ करोड ९० लाखको बजेट अनुमान गरी विभागलाई रकमको लागि पत्र पठाएपनि सुनुवाइ नभएको बताए । ०६८ जेठको पहिलो साता सांसदको टोलीले क्षतीग्रस्त सडक अनुगमन गरेको थियो । टोलीले संसद्मा कुरा उठाउने आश्वासन दिएको छ । भारत सरकारले निर्माण गरिदिएको हुनाले मर्मतको आशा पनि उसैसँग गरिरहेको छ नेपाल सरकार ।
पीडित उद्योगी : ०६५ को भदौमा आएको बाढीका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका खाद्यान्न उद्योगहरुमध्ये पचास प्रतिशत भन्दा बढीले तात्कालिन रुपमा उद्योग नै बन्द गरे । लोडसेडिङ र बन्दका कारण आक्रान्त उद्योगीहरु राजमार्ग नै बन्द भएपछि कच्चा पदार्थ आयात गर्न र तयारी सामान निर्यात गर्न नपाएका व्यवशायीहरुले उद्योग बन्द गर्नुको विकल्पै रहेन । सोही समयमा बन्द गरिएका तीन दर्जन बढी उद्योगका व्यवशायीहरुले भारतमा उद्योग सारे ।
![]() |
कोशी प्रभावित क्षेत्र र जनसंख्या |
हरिविजोग कृषि : बाढीले पुर्वको हजारौं विगाहा खेतीयोग्य जमिन नाश पा¥यो । वालुवाले पु¥यो भने लगाइएको लाखौं टन खाद्यान्न समेत बगायो । खाद्यान्नको उर्वर भूमी मानिने पुर्वी तराइमा लगाइएको बाली बगाएपछि पुर्वमा मात्र नभइ देशको राजधानी काठमाडौंमा समेत तरकारी अभाव भयो र मुल्यवृद्धिले आकाश छोयो ।
बाढीले पुरेका जमिनमा आजसम्म पनि खेती हुन सकेको छैन । बाढीले कम प्रभाव पारेको २० प्रतिशत भुभागमा मुस्किलले मकै, फर्सी, आलु लगायतका खेती लगाइएको छ । प्रभावित क्षेत्रमा त्यहाँको माटो सुहाउँदो खेती गर्ने भनिएपनि गरिएका प्रयासहरु निरर्थक सावित भइसकेका छन् । सिँचाइ सहितको खेतीका लागि स्थानिय परिवारहरुका लागि बनाइएको पाइपसहितको पुर्वाधार वालुवाभित्र पुरिइसकेको छ । काम गर्ने जनशक्ति विदेश पलायन हुनुले पनि बाढी प्रभावित क्षेत्रमा कृषिले पहिला जस्तो गती नपाउने निश्चित छ ।
अवरुद्ध सेवाहरु : सप्तकोसी नदीको बाढीले राजमार्गसँगै विच्छ्याएको अप्टिकल फाइबर बगायो । जसको कारण पूर्वको टेलिफोन सेवामा लामो समयसम्म समस्या देखियो । बाढीकै कारण भदौको दोस्रो साता एक सय ३२ केभी विद्युत् प्रसारण हुने कटैया प्रशारण लाइनको एउटा पोल लडायो । विद्युत टावर बगाएका कारण लोडसेडिङ झन् बढ्यो । करिब चार महिनासम्म पुर्वी नेपाल अन्धकार प्रायः भयो । विद्युत् अभावले उद्योग र देशको राजस्वमा प्रभाव पार्यो ।
बाढीका कारण विद्युत्का पोलहरु आज पनि जिर्ण अवस्थामै छन् । बेलाबेलामा मर्मत गरिरहनुपर्ने हुँदा पुर्वमा विद्युत् आपूर्ती तीन वर्षपछि पनि नियमित र सहज बन्न सकेको छैन । बाढीले कमजोर बनाएका कारण कुनैपनि बेलामा पोल भत्केर विद्युत् अवरुद्ध हुने सम्भावना आज पनि यथावत् छ ।
ठगीखाने भाँडो : बाढी पीडितहरु विभिन्न संस्था तथा समुहको लागि ठगीखाने भाँडो बने । तीन वर्षको अवधिमा कोशी पीडितहरुको लागि सरकारी निकायका साथै गैह्रसरकारी निकायले ठूलो धनराशी कोशी क्षेत्रमा खन्याएका छन् । तर तिनको सकारात्मक प्रभाव देख्न पाइन्न । कोशी फुटे लगत्तै राहत भनेर संकलन गर्नेहरुबाट संकलित रकम लक्षित समुदायसम्म पुगेन । एकद्वार प्रणाली अपनाउन नसक्दा कोशी पीडितहरुको क्षेत्रमा कुन निकायले कस्तो काम ग¥यो र कति खर्च ग¥यो भन्ने यकिन तथ्यांक आउन गाह्रो छ । तात्कालिन राहत एकद्वार प्रणालीबाट गर्न नसकेको प्रशासनले दीर्घकालिन कार्यक्रमहरुमा समेत एकद्वार नीति लागु गर्न सकेन । सरकारले छुट्याएको सहयोग रकम समेत पारदर्शी नभएको गुनासो बाढी पीडितहरुले आजसम्म पनि गरिरहेका छन् ।
![]() |
भदौ २ ले भत्काएको राजमार्ग |
प्रारम्भमा पञ्चनारायण मण्डलको अध्यक्षतामा बनेको समितिका पदाधिकारीहरु आफ्नो स्वार्थमा लागेको भन्दै देबनारायण बहरखेरको अध्यक्षतामा नयाँ कमिटि बन्यो । पछि विभिन्न समयमा फुट्दै जुद्धिन मियाँ र सत्रुघन शाहले समेत आफ्नै समिति बनाएका छन् । अधिकारको लागि भन्दै संगठित भएका पीडितहरु फुट्न थालेपछि अहिले बाढी पीडितहरुको सक्रियता समेत प्रेस विज्ञप्ती जारी गर्नमै सिमित भएको छ भने तीन वर्ष बितिसक्दा पनि पुरा राहत नपाउनेहरुको आवाज पनि झिनो भइसकेको छ ।
भारतीयको प्रवेश : आफ्नो देशका बाढी पीडितहरुलाई सरकारी तथा गैह्रसरकारी निकायहरुले सहयोग ओइ¥याउन थालेपछि भारतको विहार राज्यका बाढी पीडितहरु ठूलो संख्यामा नेपाल आए ।
भारतबाट कति भारतीय नेपाल भित्रिए भन्ने यकिन तथ्यांक छैन । नेपाली नै हौं भन्दै उनीहरुले नेपाल सरकारको सुविधा उपयोग गर्न थाले । भारतीयको अत्याधिक प्रवेशले नेपालका कोशी पीडितको सुची लामो बनाइदियो । जसलाई नियन्त्रण गर्न समेत प्रशासनलाई हम्मे हम्मे प¥यो । भित्रिएका भारतीयहरुले पनि पछि नेपाली नागरिकता पाए । सुनसरी जिल्लामा नक्कली नागरिकताका विवाद बारम्बार प्रकाशमा आउने कारण नै कोशी फुटेपछि नेपाल भित्रिएका भारतीयहरु हुन् । जसले स्थानिय दलका नेतालाई प्रभावमा पारेर नागरिकता लिन सफल भए । सुनसरी प्रशासनबाट धेरै भारतीयहरुले नेपाली नागरिकता पाएका छन् ।
प्रभावित कोशीटप्पु : बाढीको कारण चरा र अर्नाको राजधानी मानिने कोशीटप्पु बन्यजन्तु आरक्षका कतिपय पोखरी तथा जल क्षेत्र डुबानमा परे । ओभाएपछि ती ठाउँ वालुवाले पुरिए । कोशीले भत्काएको पुर्वी तटबन्धको मर्मतका लागि बनाइएको पाइलट च्यानलको निर्माण कार्यले गर्दा टप्पुमा बस्ने चरा तथा पशुहरुलाई नकारात्मक असर ग¥यो । जीवजन्तुको वासस्थानमा सवारीका साधन र मेसिन चल्न थालेपछि जीवजन्तुहरु भारततर्फ पलायन भए भने मौसमी रुपमा बसाइ सरेर आउनुपर्ने चराहरु तीनवर्ष बितिसक्दा पनि टप्पुमा पहिलाको अनुपातमा नआएको चराविद्हरु बताउँछन् ।

विश्वेश्वरप्रसाद कोइरालादेखि गिरीजाप्रसाद कोइरालासम्मले बारम्बार जीत हासिल गरेको ठाउँभएपनि संविधानसभा चुनावमा यादवले एकछत्र बनाउँदै चुनाव जितेका थिए । पीडित सबै उनकै मतदाता थिए ।
बाढीको कारण बिस्थापित बनेकाहरु आजसम्म पनि घाउको खाटा बोकेर बसेका छन् । एकताका गाउँको जमिन्दारी सम्हालेर बसेकाहरु पनि बाढीपछि सुकुम्बासी बने । जोतेको खेत, नाचेको आँगन वालुवाले पुरेपछि विस्थापित भएकाहरुको लागि सरकारले दातृ निकायको सहयोगमा आवासको व्यवस्था त गरिदिएको छ, तर ती आवास भरपर्दा छैनन् ।
सुनसरीको हरीपुरमा युएन डीपीको आर्थिक तथा युएन ह्याबिट्याटको प्राविधिक सहयोगमा लुमन्ती नामक संस्थाले दुई सय परिवारको लागि बनाइदिएको भवन गत चैतमा आएको हुरी बतासले क्षतीग्रस्त बनायो । वलौटे जमिनमा स्थापित गरिएका कोशी पीडितहरुको लागि बनाइएको घर समेत कमसल किसिमको भएपछि समस्यामा छन् ।
सयौं कृषकहरु भारततर्फ रोजगारीका लागि पुगेका छन् । जसका कारण पीडितका गाउँमा महिलाहरु मात्र भेटिन्छन् । घरमा पुरुष नहुँदा महिलाहरुले असुरक्षा अनुभव गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् >>