विद्यार्थी तान्ने नारा - अनुशासन र गुणस्तरीयता

इटहरीमा रहेका करिब एक दर्जन कलेज र उच्चमाविहरु विद्यार्थी भित्र्याउन छुट्टा छुट्टै आर्कषक नारा लिएर प्रचार प्रसार गरिरहेका छन् । इटहरीमा रहेका अधिकांश कलेज र उच्चमाविले अनुशासन र गुणस्तरीय शिक्षालाई मुख्य हतियार बनाएको बताएका छन् । विश्व आदर्श कलेजका प्राचार्य लेखनाथ घिमिरेले गुणस्तरीय शिक्षाका लागि कसैसँग सम्झौता नगर्ने बताए । प्लस टुमा विज्ञान र व्यवस्थापन तथा स्नातकमा बि बि एस र एमविएस सम्मको पढाइ हुने विश्वआदर्शले विद्यार्थीका लागि बिभिन्न सुविधाहरु पनि उपलब्ध गराएको घिमिरेले बताए । उनले प्रवेश परिक्षामा धेरै अंक ल्याउने १० जनालाई विभन्न प्याकेज र पछाडी पारिएका, दलित र द्वन्द पीडितहरुलाई विशेष छात्रावृत्ति राखिएको जानकारी दिए । उनले यसवर्ष आउने विद्यार्थीलाई अझ बढी सुबिधा दिलाउने बताए ।
‘कोशीको विशिष्टता अनुशासनको शिष्टता ।’ नारा रहेको कोशी सेन्टजेम्स कलेजले भने पढाइ संस्कृतिलाई जोड दिएको बताउँछन् प्रिन्सिपल मुकुन्द घिमिरे । पढाइ संस्कृति मन पराउने विद्यार्थीहरु कलेजमा आउने गरेको उहाँको भनाइ छ । विद्यार्थीले पढ्ने हो त्यै भएर राम्रो पढ्न चाहने विद्याथीहरु कलेजमा आउँछन् । घिमिरेले भने, ‘हामीले पनि गुणस्तरिय शिक्षा र अनुशासनलाई महत्व दिएका छौं ।’ शिक्षा र ब्यवस्थापन संकाय रहेको कलेजमा गतबर्ष २ सय ७० जना विद्यार्थी भर्ना भएका थिए यस बर्ष पनि त्यतिनै विद्यार्थी भित्र्याउने लक्ष्य राखिएको प्रिन्सिपल घिमिरेले बताए ।
यसैगरी व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको पढाइ हुने कस्तुरी कलेजमा भने कक्षा ११ मा यसबर्ष विद्यार्थीको संख्या पुरा भैसकेको छ । ‘अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा दिने भएकाले हामीलाई विद्यार्थी भेला गर्न समस्या छैन् ।’ प्रिन्सिपल प्रेमप्रसाद न्यौपानेले भने,  ‘चारवटा सेक्सन रहेको कक्षा ११ मा चाहिने जति विद्यार्थी आइसकेका छन् ।’ उनले बिहानी सत्रका सबै सेक्सन भरिएकाले अब आउने विद्यार्थीलाई दिउँसोको सत्रमा मात्र भर्ना लिइने बताए । प्रत्येक वर्ष दुई सय विद्यार्थीको भर्ना लिदै आएको कलेजले यस वर्ष भने क्षमता बढाउन लागेको न्यौपानेको भनाई छ ।
इन्जिनियरिङ पढाइ हुने इटहरीको एकमात्र कलेज सुष्मा इन्जिनियरिङ कलेजले पनि अनुशासन र गुणस्तरीयतालाई नै विद्यार्थी आर्कषणको नारा बनाएको बताउँछन् प्राचार्य बोधराज नेपाल । विद्यार्थी आकर्षणका लागि विभिन्न प्रकारका छात्रवृत्ति पनि उपलब्ध गराएको उनको भनाई छ । इन्जिनियरिङंसगै विज्ञान र व्यवस्थापन संकाय पनि पढाइ हुने कलेजमा यस वर्ष चारसय जना विद्यार्थीलाई भर्ना गराउने लक्ष्य क्याम्पसको छ ।
यस्तै चामुण्डा उच्चमाविले भने विद्यार्थी आर्कषणका लागि सस्ता नारा नबनाएको जनाएको छ । आफ्ना विगतका परिक्षा परिणाम हेरेर आफै विद्यार्थी आउने गरेको प्रिन्सिपल नवराज ढकालले बताए । उनले आफ्नो कलेजमा अत्याधुनिक विज्ञान प्रयोगशाला भएकाले पनि विद्यार्थीहरुको विशेष आकर्षण रहेको उनको भनाइ छ । एउटा सेक्सनमा ३० जनामात्र राखेर पढाउने भएकाले गुणस्तरीय शिक्षा दिन सकेको उनको भनाइ थियो ।
यस्तै पिसजोन उच्चमाविले भने विद्यार्थी आर्कषणका लागि मल्टिमिडिया प्याकेज सिकाउने गरेको छ । दुई बर्ष अघिदेखि उच्च मावि सञ्चालन गरेको पिसजोनले शिक्षा र व्यवस्थापन संकायको शिक्षा दिदै आएको छ । गुणस्तरीयतालाई जोड दिएकाले विद्यार्थी आकर्षित गर्न छुट्टै नारा नबनाएको उच्चमाविका सह प्राचार्य पिताम्बरसिंह राइले बताए । यस्तै जनता क्याम्पस इटहरी, पाथीभरा उच्चमावि लगायतले पनि विद्यार्थी भर्नाका लागि विभिन्न तौर तरिका र नारालाई अघि सारेका छन् । विद्यार्थी आर्कषणका लागि सबैका आ आफ्नै नारा र शैली भए पनि सबैको भनाइमा अनुशासन र गुणस्तरीय शिक्षामा भने सबैको एक मत देखिन्छ ।
शेखर ढकाल
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :