सञ्चारकर्मीमाथि आक्रमण- "नभागेको भए मारिने रहेछु"
Posted by
purwanews
Published on
Tuesday, June 7, 2011
मोरङका सञ्चारकर्मी सडकमा
सञ्चारकर्मीमाथि सांघातिक आक्रमण गर्ने विरुद्ध किटानी जाहेरी दर्ता गरेपनि प्रहरी प्रशासनले उनीहरुलाई पक्राउ नगरेको भन्दै मोरङका सञ्चारकर्मी मंगलवार सडकमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाको नेतृत्वमा मंगलवार सञ्चारकर्मीहरुले नगरमा प्रर्दशन गरी जिल्ला प्रशासन कार्यलय मोरङमा आधा घण्टा धर्ना दिए ।
आफु विरुद्ध समाचार लेखेको भन्दै एमाले निकट युवा संघ र युथफोर्स कार्यकर्ताले नागरिक दैनिकका यहाँस्थित संवाददाता खिलानाथ ढकाललाई आइतवार राति मरणासन्न कुटपिट गरेका थिए । युवा संघका उपाध्यक्ष तथा युथफोर्सका संयोजक पर्शुराम वस्नेतको निर्देशनमा संघका नगर संयोजक रोहित कोइराला र मनोज राईले आक्रमण गरेको घाइते पत्रकार ढकालले दावी गरेपछि महासंघले उनीहरु तीनैजना विरुद्ध सोमवार जिल्ला प्रहरीमा किटानी जाहेरी दर्ता गराएको थियो ।
प्रहरीले कोइरालालाई आइतवार राती नै पक्राउ गरेपनि वस्नेत र राईलाई मंगलवारसम्म पक्राउ गरेको छैन । भागेर ज्यान जोगाएका ढकालको कञ्चनवारीस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आर्थिक प्रभाव र राजनीतिक दवावका कारण वस्नेतलाई प्रहरी पक्राउ नगरेको र प्रहरीकै संरक्षणमा उनी नगरमै लुकेर वसेको दावी गर्दै सञ्चारकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । सोमवार प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले महासंघको ज्ञापनपत्र बुझ्दै ढकाललाई आक्रामण गर्ने वस्नेत, कोइराला र राईलाई तत्काल पक्राउ गरी ज्यानमार्ने उद्योगमा कारवाही गर्ने आश्वासन दिएका थिए ।
जिल्ला प्रशासन कार्यलयमा धर्ना पछि आयोजीत कोण सभामा नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपानेले पैसाको प्रलोभन र राजनीतिक दवावका कारण प्रहरीले वस्नेतलाई आफैसँग राखेर वकेटोकेमा उनी विरुद्ध सञ्चारकर्मीहरुले गरेका गतिविधि सुनाएर वसेका दावी गरे । वस्नेत अबिलम्व पक्राउ गरेर कारवाही गर्न माग गर्दै उनले पक्राउ नगरिए मुलुकभरी आन्दोलन गर्ने चेतावनी दिए ।
वस्नेतलाई पक्राउ गरि कारवाही नगर्न दवाव बढेपछि सोमवार नै मन्त्रालयले वोलाएको वाहना वनाएर प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी काठमाडौं गएको न्यौपानेले दावी गरे । प्रर्दशन र धर्नामा नागरिक दैनिकका प्रकाशक विनोद ज्ञावली, सम्पादक नारायण वाग्ले र रिपब्लिकाका सम्पादक अमित ढकाल पनि सहभागी थिए । महासंघले बुधवारदेखि सशक्त आन्दोलन गर्ने जनाएको छ ।
आफु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भए लगत्तै वस्नेत सम्पर्क विहीन भएको मोरङ प्रहरी प्रमुख एसपी ठाकुरराम वर्तौलाले वताए । उनको घर र उनी रहनसक्ने स्थानमा प्रहरीले छापा मार्दा फेला नपरेको उनले बताए । एसपीवर्तौलाले भने, 'वस्नेत मात्र नभई उनको समुह नै फरार छ । उनीहरुको खोजीमा मोरङ, झापा र काठमाण्डौमा प्रहरी परिचालन गरिएको छ ।'
विराटनगर, जेष्ठ २४==========================================================
"नभागेको भए मारिने रहेछु" - खिलानाथ ढकाल
एमालेको युवादस्ता युथफोर्स विराटनगर अध्यक्ष रोहित कोइरालाले आइतबार राति पटकपटक फोन गरेर ‘सानो काम छ' भन्दै मलाई ट्राफिक चोकमा भेट्न डाके। उनले फोन गर्दा रातको १० बजेको थियो। म सुत्ने तयारी गर्दै थिएँ। मैले धेरै रात परिसकेकाले ट्राफिक चोकमा आउन नसक्ने बताएँ। तैपनि उनले फोन गरेर बढो अनुरोधपूर्वक डाकिरहे। कोइरालासँग मेरो राम्रो चिनजान भएकाले ढिलै भए पनि बोलाएको ठाउँमा पुगेँ।
म घर (सनसारी, माइस्थान) बाट मोटरसाइकलमा गएको थिएँ। ट्राफिक प्रहरी कार्यालयअगाडि मोटरसाइकल राखेँ। ट्राफिक चोक पुग्दा युथफोर्सकै मनोज राईलाई देखेँ। रोहित पनि त्यहीँको एउटा घरको सटरबाट बाहिर निस्किए। उनले ‘एकछिन यहीँ नजिकै जाऊँ न, काम छ' भन्दै मोटरसाइकलमा दुईजनाको बीचमा राखेर लगे। युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेतका पूर्व सवारीचालक मनोजले मोटरसाइकल हाँकिरहेका थिए। कोइराला पछाडि बसे। उनीहरूले बसपार्क हुँदै जिल्ला शिक्षा कार्यालय पश्चिमपट्टिको सगरमाथा पार्टी प्यालेसतिर लगे।
मोटरसाइकल सगरमाथा पार्टी प्यालेसबाट पश्चिम मोडियो। नजिकै रोहितको घर पर्दो रहेछ। रोहित त्यहीँ मोटरसाइकलबाट ओर्लिए। अनि भने, ‘जाँदै गर्नू, यहीँ नजिकै हो, म आइहाल्छु।'
केही पर बगैंचा थियो। मनोजले बगैंचाअगाडिको पक्की बाटोमा मोटरसाइकल रोके, अनि मलाई अंगालो हालेर अँध्यारो कुनातिर लगे। त्यसपछि भने मेरो आङ सिरिंग भयो। मैले खल्तीबाट मोबाइल झिकेर पुलिसलाई फोन गर्न खोजेँ। उनले ‘के गरेको भन्दै' मेरा दुइटै मोबाइल खोसे। मलाई झन् डर लागेर आयो। म फुत्किएर भागेँ। चार/पाँचजना केटाहरू लखेट्दै आइरहेका थिए। म अलिक टाढा शिक्षा कार्यालय छेउनजिकै पुगेको थिएँ, एक्कासि भुइँमा पछारिएँ। पछ्याउँदै आइरहेका चार/पाँचजनाको समूहले मलाई समातेर मनोजकै जिम्मा लगाइदियो। उनीहरूले मलाई तानेर बसपार्क नजिकै लगे। त्यहाँभन्दा अलिकति टाढा ठूलै समूहले घेरा हालेको मैले देखेँ। हल्लाखल्ला सुनेर स्थानीयले घरको ‰यालबाट ‘के भयो भनेर' सोधे। उनीहरूले ‘तिमारू सब चुप लागेर बत्ती निभायो' भनेर थर्काएपछि त्यो ठाउँ पुरै अन्धकार भयो।
त्यसपछि मनोजसहित ५/६ जनाको समूहले मलाई चारैतिरबाट बेस्कन कुटे। कसैले बाँसले हिर्काए। कसैले इँटा हाने। कसैले लात्ती र मुक्का बजारे। जो-जोले जे-जे भेटे, त्यसैले आक्रमण गरे। केही बेरसम्म लगातार कुटाइ खाएपछि म लगभग होस गुमाउने अवस्थामा पुगिसकेको थिएँ। अनुहार र टाउको जोगाउन धेरै प्रयास गरेँ। मलाई कुट्नेहरू सबैले रक्सी खाएका थिए। उनीहरू ‘पर्शुराम दाइविरुद्ध समाचार लेखेर तँ अभिषेक गिरीको मतियार बन्न खोजेको' भन्दै थिए। बीच-बीचमा रोहितले मनोजलाई फोन गरेको पुरै जानकारी छ। कुराकानीबाट रोहितले ‘त्यहीँ सिध्याएर आइज' भनेझैं मलाई लाग्छ। केही बेरपछि त्यो समूहले ‘अब यसलाई पर्शुराम दाइकैमा लैजाऊँ, अनि व्यवस्था गरौंला' भनेर आपसमा कुरा गरे। त्यहीबेला म उनीहरूको पञ्जाबाट फुत्किएर भाग्न सफल भएँ। भाग्दैभाग्दै ट्राफिक चोकनिर आइपुग्दा गस्ती गर्दै हिँडेको प्रहरी टोलीलाई भेटेँ। भाग्न नसकेको भए र बाटोमा पुलिसको गस्ती टोली नभेटेको भए म बाँच्ने थिइनँ।
यो घटनाअघि पर्शुराम बस्नेतले आफूविरुद्ध समाचार लेखेको भन्दै मलाई पटकपटक फोन गरेर धम्क्याएका थिए। हत्याको अभियोगमा बन्दी जीवन बिताइरहेको विराटनगरका अभिषेक गिरीलाई बुधबार जिल्ला अदालत मोरङमा पेसीका लागि उपस्थित गराउँदा बस्नेतकै समूहले अदालतमै गएर आक्रमण गरेको समाचार मैले लेखेको थिएँ। आइतबार दिउँसो समाचार संकलनकै क्रममा एमाले जिल्ला कार्यालय पुग्दा पनि बस्नेतले ‘समाचार लेख्दा धेरै सोचविचार गरेर लेख्न' धम्की दिएका थिए। त्यही रात ममाथि आक्रमण भयो। आक्रमण गर्नेहरूले ‘तैंले हाम्रो पर्शुदाइलाई चिनेको छैनस्' भन्दै मलाई तथानाम गाली गरेका थिए।
(विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेका ढकालसँग नागरिक संवाददाता अमर खड्काले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस् >>