समाचार किन लेखिनस् ?
Posted by
purwanews
Published on
Sunday, June 12, 2011
समाचार लेख्ने पत्रकारको काम । तर कोही पत्रकार समाचार लेखेको निहुँमा कुटिन्छन् त कोही समाचार नलेखेको निहुँमा । विगत केही दिन अघि सुनसरी र मोरङमा यस्तै दुई विपरीत घटनाहरु घटेका छन् ।
समाचार लेखेकै कारण मोरङको विराटनगरका पत्रकार खिलानाथ ढकाल युथफोर्स कार्यकर्ताबाट कुटिएर अस्पतालमा उपचार गराइरहेको समयमा सुनसरीको धरानमा भने समाचार नलेखेको भन्दै एक व्यक्तिले सञ्चार संस्थालाई धम्की दिएका छन् ।
किँरात याख्खा छुम्माका धरान नगर अध्यक्ष भुवन याख्खाले छुम्माको समाचार नछापेको भन्दै नेपाल समाचारपत्र धरान शाखाको कार्यालयमा जेठ २४ गते तोडफोड गरे । तोडफोडका कारण कार्यालयमा सामान्य क्षती भयो ।(भिडियो तल छ ।)
तोडफोड गरेर निस्केका याख्खा विहान ११ बजेतिर ब्लाष्ट टाइम्सको धरानस्थित मुख्य कार्यालयलाई एउटा धम्कीपत्र छाडे । धम्की पत्रमा "न्युज डेस्कलाई धम्की" भनेर धम्कीपत्रको सुरुवात गरिएको थियो भने तलपट्टी "जनगणनासम्बन्धी समाचार किन आएन ? समाचार नआएको विषयमा अफिस तोडफोड गर्ने" भनेर लेखिएको थियो ।(हेर्नुहोस् माथिको पत्र) कार्यालयमा रहेका कर्मचारीलाई आफू दिउँसो तीन बजे आएर कार्यालय तोडफोड गर्ने भन्दै त्यहाँबाट बाहिरिए ।
सञ्चार संस्थालाई धम्की दिएर समाचार प्रकाशित गराउन सकिन्छ भन्ने मानसिकताका याख्खालाई पत्रकार महासंघको उजुरीका आधारमा दिउँसै प्रहरीले पक्राउ समेत ग¥यो ।
याख्खाले २३ गते जनगणनासम्बन्धी नगरस्तरीय कार्यक्रम गरेका थिए ।(भिडियो तल छ ।) जसमा याख्खाका केन्द्रिय अध्यक्ष समेत उपस्थित थिए । उक्त कार्यक्रमको समाचार कान्तिपुरबाट प्रत्यक्ष प्रशारण गराउन कति रकम लाग्छ भनी कान्तिपुर टेलिभिजनका संवाददातासँग सोधेका थिए उनले । प्रत्यक्ष प्रशारण असम्भव प्रायः हुने र रेकर्ड गरेर बजाउन सकिने भएपनि महँगो हुने बताएपछि उनले इटहरीबाट प्रशारण हुने मकालु टेलिभिजनमा आधाा घण्टा रेकर्ड कार्यक्रमको सात हजार रुपैयामा कुरा मिलाएका थिए । तर समाचार नआएको भन्दै सञ्चार संस्थामै हा हु गर्न पुगेका याख्खाले पछि मकालु टेलिभिजनका पत्रकारले समेत समाचार बजाइदिने भन्दै रकम खाएको आरोप लगाउन भ्याए । धन्य हो, समाचार र विज्ञापन पनि छुट्याउन नसक्ने अध्यक्षज्यू ।
स्वतन्त्र प्रेसको खिल्ली उडाउँदै पत्रकारलाई आफ्नो मुठ्ठीमा राख्न सकिन्छ भन्ने मानसिकता आफू डन हुँ भन्नेहरुमा छ । ती राजनीतिक पार्टी हुन् वा जातिय वा व्यवशायीहरु नै किन नहुन् । आफ्नो अनुकुलका समाचार लेखाउन र आफू विरुद्धका समाचार नलेख्न धम्कीदेखि भौतिक आक्रमणमै उत्रिने गरेका छन् । जसको कारण पत्रकारहरु त्रासमा काम गर्न बाध्य छन् ।
उनले गरेको कार्यक्रम र समाचार नछापेको भन्दै कार्यालय तोडफोड पछिको अवस्थाको भिडियो हेर्नुहोस् । एक्स्क्लुसिभ पुर्वन्युजमा । >
२३ गते आफ्नो कार्यक्रममा भुवन याख्खा ।
२४ गते तोडफोड गरिसकेपछिको सञ्चार संस्था।
प्रतिक्रिया दिनुहोस् >>