किन डुब्दैछन् बैंक ?
Posted by
purwanews
Published on
Sunday, June 26, 2011
० अखण्ड भण्डारी
वित्तीय संस्था संकटमा पर्ने शृंखलाअन्तर्गत क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी बन्द भएको छ । पैसा फिर्ता दिन नसक्ने सूचना एकाएक टाँसेर यसका जिम्मेवार अधिकारीहरू राष्ट्र बैंकको शरणमा गएका छन् । यसकै अवस्थामा अझै धेरै बैंक तथा वित्तीय संस्था हुन सक्छन् । पहिला हेरौं, यसका केही समस्या-
- निक्षेप ३ अर्ब ४ करोड, कर्जा ३ अर्ब ३६ करोड
- घिरजग्गा र प्लटिङमा १ अर्ब ७९ करोड कर्जा
- सेयर धितो कर्जा पनि अत्यधिक
- ठूला निक्षेपकर्ता ६० प्रतिशत
- ३ सातामा ५० करोड रुपैयाँ झिकियो
- किस्ता र ब्याज उठ्नै छाड्यो
बन्द भयो, क्यापिटलको कुरा आयो । केही दिन अघिसम्म यसको कसैले चर्चै गरेको थिएन । यस्ता कति वित्तीय संस्था होलान्, जुन भोलि-पर्सि गर्दै यसरी नै हात झिकिदिन्छन् । किनभने हाम्रा अधिकांश बैंक-वित्त कम्पनी क्यापिटलकै हालतमा छन्, डुब्ने कारण पनि तिनै हुन् । हेरौं मिल्दाजुल्दा केही घटना-
१. घरजग्गा कारोबार गर्ने अधिकांश व्यक्तिले बैंक वा फाइनान्समा लगानी गरेका छन् । ठूला वित्तीय संस्थामा पस्न नसकेकाले केही नभए पनि सहकारी खोलेका छन् । त्यस्ता संस्थालाई धन्दा बनाउँदै सर्वसाधारणको ठूलो पुँजी बटुलेका छन् । त्यसलाई आफन्तका नाममा कर्जा दिई घुमाउरो पाराले आफ्नो व्यवसायमा खन्याए । त्यो व्यवसाय डुब्दै गएपछि ज-जसका नाममा ऋण निकालिएको थियो, उनीहरूलाई सम्पर्कविहीन बनाउँदै गए । अनि, पैसा उठ्न छाड्यो, वित्तीय संस्था टाट पल्टँदै गए । यो हालतमा कति चलाइरहने ?
२. कुनै समय घरजग्गाको मूल्य यस्तो बढ्यो कि अघिल्लो दिन एक करोड रुपैयाँमा किनेको जग्गा भोलिपल्ट उज्यालो नहुँदै डेढ करोडमा बिक्यो । जग्गा किन्ने र बेच्ने त कति भए कति ! घरैपिच्छेजस्तो जग्गाकै कुरो चल्थ्यो । कसैले गहना बेचेर माटोमा खन्याए, कोही गाउँ रित्याएर सहर
पसे । कोही व्यापारी बने, कोही दलाल । अघिल्लो दिनसम्म छोराछोरीको हजार रुपैयाँको बिल तिर्न स्कुललाई भाका माग्नेहरू रातारात करोडका धाक लाउने हैसियतमा पुगे । ती सबैलाई साथ दिए बैंक, फाइनान्स र सहकारीले । उनीहरू धितो मूल्यांकन गर्न सम्बन्धित जग्गा भए ठाउँमा पुगे । कतिपय कमिसनवाला इन्जिनियरले व्यापारी र दलालका आँखा झिम्क्याइका भरमा मूल्य जति पनि तोकिदिए । त्यही आधारमा वित्तीय संस्थाले मस्त ऋण दिए । जब जग्गाको मूल्य स्वात्तै घट्यो, ऋणी बैंकबाट भाग्न थाले । ती अधिकांश जग्गा लिलाम बिक्री गर्नु हो भने ऋण दिएको आधा पनि उठ्दैन । सकेसम्म त जग्गा बिक्री नै हुँदैन । अनि बैंक बन्द नगरेर के गर्ने ?
३. ठूला व्यापारीलाई हचुवा र साँठगाँठमा लगाएको जग्गा-कर्जाले जब धोका दियो, बैंक लागे साना र इमानदार ऋणीको घाँटी निमोठ्न । अचानक ह्वात्तै ब्याज बढाइदिए । बेइमान त ब्याज बढाए पनि घटाए पनि भाग्नैतिर लाग्ने हुन् । त्यसले ठूलाखालेलाई केही माखो मारेन । जो तिर्न चाहन्थे, उनीहरू पनि टाट हुँदै गए । दुःख-सुख तिर्न सक्ने र इज्जतको डर हुनेहरू अझै तिरिरहेका छन् । जसको कुनै उपाय लागेन, इमानदार भएर पनि धितो माया मार्नु उचित ठाने, बैंक जान छाडे । बैंकले उनीहरूलाई फसाउन खोज्दा बाध्यताले उल्टै बैंक फसे । अहिले धितो बिक्दैन, बिकिगए पनि ऋण असुल हुँदैन । गर्ने के ?
४. अव्यवस्थित, योजनाविहीन र हेलचेक्य्राइँपूर्ण किसिमले लगाएको कर्जा फिर्ता आउन छाडेपछि बैंक अत्तालिए । नगद अभाव भएपछि अनेक प्रलोभनमा निक्षेप लिन थाले । कसैले खाता खोल्दा उल्टै पैसा हालिदिए । कसैले उपहार घरमै पुर्याउन थाले । निक्षेपको ब्याज पनि अति बढाएको घोषणा गरे । ८ प्रतिशतमा जग्गा व्यापारीलाई कर्जा दिएर फसिरहेकाहरू निक्षेपवालालाई १५-१६ प्रतिशतसम्म दिन तयार भए । बोले, पुर्याउन सकेनन् । यो मन्दीमा त्यत्रो ब्याज कहाँबाट तिरून् ! पैसा चलाउन्जेल मस्ती गरे, तिर्ने दिन आएपछि 'तरलता अभाव' भन्न थाले । बहुत हचुवा र कच्चा भए वित्तीय संस्थाहरू । राष्ट्र बैंक टुलुटुलु हेरेर बस्यो । भटाभट संकटमा पर्न थालेपछि ऊ पनि अत्तालिँदै गएको छ । अहिले तिर्ने आएनन्, लिने झुम्मिए ।
राज्यका नीति-नियम गलत छन् भने तत्काल सुधार्नुपर्छ । चरम अनुशासनहीन बनेका बैंक तथा वित्तीय संस्थाहरूलाई पनि कोर्रा लाउन सक्नुपर्छ । छोटो समयमै आधा दर्जन बैंकिङ संस्था संकटमा पर्नु चानचुने कुरा होइन । अब कुन बैंकको भर पर्ने, के भनेर विश्वास गर्ने ? सरकारलाई यता ध्यानै छैन । ऊ राजनीतिक खिचातानीमै अल्झेको छ । त्यही मौकामा भ्रष्टाचारको राजनीतिक रोग क्रमशः वित्तीय क्षेत्रमा सरेको छ । राष्ट्र बैंक सुरुमा चुप लाग्छ, संकटमा परेको सुइँको पाएपछि सञ्चालक भगाउँछ, अनि ठूलो स्वरले गर्जिन्छ । राष्ट्र बैंकले कि नालायकहरू बेलैमा चिन्न सक्नुपर्यो, होइन भने आफूलाई नालायक भन्नुपर्यो । पैसाको कारोबार गर्ने संस्था संसारमै यति छाडा त कहीँ छैनन् । दाम्लोभन्दा गोरु बलियो भएर यस्तो भएको हो । (kantipur)
प्रतिक्रिया दिनुहोस् >>