'कहिले केटीलाई काखमा लिनुपर्छ कहिले सँगै सुत्नुपर्छ'


आफु जहिले पनि कमेडी रोल गर्न मन पराउने कलाकारलाई सिरियस रोल दिएमा अभिनय गर्न धेरै गाह्रो हुने अनुभव सुनाउछन् आरोहण गुरुकुल विराटनगरका कलाकार रामभजन कामत उर्फ आरबीके । भन्छन् ‘मलाई डाइरेक्टरले सिरियस रोल दियो भने प्रोडुसर डुब्छ ।’
विराटनगर १ पोखरीया त्रिवेणी मार्ग स्थायी घर भएका आमा सागरदेवी र बुबा सहदेवका जेठो सन्तान आरबीके स्नातक तहसम्मको औपचारीक शिक्षा लिएका छन् भने नाटकमा दुई वर्षे कोर्ष गरेका छन् । ख्यालख्यालमै वि.सं. २०५८ देखि नाटकमा प्रवेश गरेका उनले हालसम्म एक हजारजति स्थानमा सडक नाटक, तीन सय स्टेज नाटक गरेका छन् । त्यस्तै पूर्वाञ्चलको पहिलो मैथिल फिल्म ‘प्रेम सफल’ को पटकथा लेखन र अभिनेताको रोल निभाएका छन् । हाल उनी आरोहण गुरुकुल विराटनगरमा आबद्ध छन् । प्रस्तुत छ, उनै प्रतिभाशाली नाट्य कलाकारसंग पुर्वन्युजका लागि विराटनगरका पत्रकार मोहन भट्टराईले गर्नुभएको कुराकानीको मुख्य अंश :

अभिनय क्षेत्रमा कहिलेदेखि कसरी प्रवेश गर्नुभयो ? 
म प्लस टु पढ्दाको कुरा हो, २०५८ सालमा सिटी कलेजमा वेलकम प्रोग्राम थियो । हावै हावामा हामीले ‘मन्त्रिीज्यूको अन्तरवार्ता’ भन्ने नाटक तयार पारयौं । त्यतिबेला नाटक सम्बन्धि त्यति ज्ञान पनि थिएन । दुई चार जना बसेर लेखेका थियौं । त्यो हाम्रो पहिलो नाटक सबैले मन पराए । त्यही ग्रुपले २÷३ वर्षसम्म संगै मिलेर नाटक गर्दै गयौं । त्यसपछि भनें मेरो नाटकप्रति लगाब बढ्दै गयो ।
यो क्षेत्रमा लाग्न कसको प्रेरणा पाउनु भयो ? 
मलाई पहिले कहिल्यै लागेको थिएन कि म यसरी कलाकारीता क्षेत्रमा लाग्छु भनेर । म चाहीं कुनै एउटा अफिस कर्मचारी भएर १० देखि ५ बजेसम्म काम गरी घर परिवारलाई पनि काम सघाउँछुु भन्ने थियो । मैले जीवनमा नसोचेको काम अहिले गर्दैछु । स्कुलमा पनि कहिल्यै नाटक गरिएन । कलेजमा चाहीं सरहरुले उत्प्रेरणा दिनुभयो ।
तपाईको जीवनको लक्ष एउटा, पेशा अर्कै कसरी अगाडि बढ्न सकिन्छ ? 
हो, मेरो पहिलेको लक्ष अर्कै भए पनि अहिले कलाकारिता पेशालाई अंगालेको छु । साधारण कर्मचारी र कलाकारीतामा धेरै अन्तर छ । सुरुमा रहरै रहरमा नाटक गर्दा सबैको वाह वाही पाउँदै जाँदा म अहिले यसैमा अभ्यस्त भइसकेछु । अहिले यसैलाई जीवन निर्वाहको विकल्प बनाएको छु र अब त बाध्य भएर पनि बनाउनु परयो ।
कलाकारिता क्षेत्रमा लागेर बाँच्न सकिन्छ ? 
गाह्रो छ, नेपालमा एकदमै गाह्रो छ । आफ्नो मान्छेको सोर्स भयो भनें अवसर साउन पनि सकिन्छ ।
फेरी पनि किन यही पेशा रोज्नु भयो ? 
सुरुमा रमाइलोका लागि नाट्य क्षेत्रमा लागियो । अहिले यसलाई चटक्कै माया मार्न नसकेर मात्र हो ।
पूर्वाञ्चलमा नाटकको अवस्था कस्तो छ ? 
पूर्वाञ्चलमा स्ट्रगल पिरियड हो । सबै जना कलाकारहरु मिलेर लाग्ने हो र स्थानियस्तरमा टेलिभिजन, रंगमञ्च स्थापना भएमा भविष्य राम्रै हुन सक्छ ।
कलाकारलाई समाजमा नराम्रो दृष्टीले हेर्छन् नी ? 
हो, यसले गर्दा कहिले काही त नैराष्यता पनि आउँछ । यसको धेरैजनासंग उठबस हुन्छ, यो नराम्रो चरित्रको भन्ने गरिन्छ । कहिले काहीं रियल कथालाई प्रस्तुत गर्दा पनि यसले त नाटक गरीरा’छ भनिदिने । फेरी कहिले काहीं राम्रो गरयो भनेर स्वाबासी दिंदा भनें रमाइलो लाग्छ ।
परिवारबाट कत्तिको सपोर्ट भएको छ ? 
यो पेशा छोड्न अत्यधिक दवाव छ । जब व्यवहार चल्दैन भनें यसमा लागेर लाइफ बन्दैन भनें किन यसैमा लागि रहने भनेर दवाब आइरहन्छ । घर परिवारबाट मात्र हैन, समाजीक दवाव छ । गाउँ छिमेकमा पनि यो आरबीके पढेलेखेको केटो नाटकमा लागेर बिग्रीयो भन्छन् । मान्छेको सोंच एकै चोटी परिवर्तन गराउन सकिदैन । एक दिन न एक दिन त अवस्य परिवर्तन होला भन्ने आश छ ।
कलाकारिताका चुनौति के के छन् ? 
पहिलो कुरो त परिवार नै हो । त्यसपछि दोस्रो बाहिर काम गर्दा आर्थिक । तपाई जतिसुकै राम्रो एक्टर भएपनि तपाईसंग आर्थिक समस्या छ भनें अगाडि बढ्न गाह्रो हुन्छ ।
कलाकारले राज्यबाट के आशा गरेको हुन्छ ? 
राज्यले कलाकारको सिनियरताका आधारमा अवसरहरु प्रदान गर्नुपर्छ । त्यस्तै स्थानीय कलाकारलाई पनि अनुभवको आधारमा विना सोर्सफोर्स अवसरहरु दिने व्यवस्था गर्नुपर्छ ।
एउटा असल कलाकारमा कस्ता गुणहरु हुनुपर्छ ? 
जम्मा तीनवटा कुराहरु हुनुपर्छ । आत्मविश्वास, अनुशासन र क्षमता हुनुपर्छ ।
नाटककै विषयलाई लिएर श्रीमतीसंग कत्तिको झगडा हुन्छ ? 
म एउटा कलाकार हुँ, मेरो धेरै जनासंग उठबस हुन्छ । कहिले केटीलाई काखमा लिनुपर्छ कहिले सँगै सुत्नुपर्छ । अभिनयमा । यसको अर्थ मैले नराम्रो काम गर्न छुट छ मैले जे पनि गर्दै हिड्नु होइन । यो रियल लाइफमा पनि गर्छ भन्ने होइन । नाटकीय हिसाबले हो भन्ने मेरो श्रीमतीले बुझ्नु पर्छ र बुझ्छिन् पनि ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :